असुरक्षित बाटोमा बस खस्यो

असुरक्षित बाटोमा बस खस्यो

चितवनः रौतहटको गौरबाट बिहीबार साँझ पोखरा जान छुटेको यात्रुवाहक बस शुक्रबार सबेरै चितवन चण्डीभन्ज्याङ गाविस ५ कालीखोलानजिकै सडकबाट बायाँतिर त्रिशूली नदीमा खस्दा बसका चालकसहित २२ जनाको मृत्यु भएको छ । घटनामा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच र मृतकमध्ये पाँच भारतीय नागरिक छन् । एक मृतकको सनाखत हुनसकेको छैन ।

चितवन प्रहरीका अनुसार ग १ ख ३७०९ नम्बरको रात्रीबस शुक्रबार बिहान पौने तीन बजेतिर सडकबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो । साँघुरो सडकबाट नदीमा खसेको बस पानीमा उत्तानो परेको छ । बसलाई साँझसम्म नदीबाट बाहिर निकाल्न सकिएको छैन । दुर्घटनास्थल मुग्लिनदेखि तीन किलोमिटर दक्षिण छ ।
चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर घटनास्थलको प्रकृति हेर्दा चालकको लापरबाहीले दुर्घटना भएको हुनसक्ने बताउँछन् । ‘बाटोमा अर्को सवारीसँग नठोक्किएको अवस्थामै बस त्रिशूली नदीमा खसेको छ’, दिनभर घटनास्थलमा रहेका प्रहरी उपरीक्षक कुँवरले भने, ‘झट्ट हेर्दा चालकको लापरबाहीले दुर्घटना भएको देखिन्छ । हामीले गहन अनुसन्धान सुरु गरेका छौं ।’

बसमा ३९ यात्रु र चालकसहित तीनजना बसका कर्मचारी रहेको जानकारी पाएको उनले बताए । ‘१६ जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठायौं । २२ जनाको शव फेलापरेको छ’, प्रहरी उपरीक्षक कुँवरले भने, ‘बाँकी चारजना पानीमा बगेका हुन सक्छन् ।’

दुर्घटनाका मृतकमध्ये आधाभन्दा धेरै रौतहटका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा रौतहटका जोखु साह (गाउँ र वर्ष नखुलेको), मुडवलवाका चितरञ्जन साह (३६), मुडवलवाकै राजेशप्रसाद यादव (३३), महतपुरका प्रमोद राम (२४), लौकाहाका राकेश यादव (३०), कटहरियाका बृजकिशोर कुशवाहा (३४), बसतपुरका गणेशकुमार साह (२४), इनर्वाका जोगेन्द्र गिरी (६५), गरुडाका शेषसहजित आलम (२६), राजपुरका कामेश्वरप्रसाद साह (२५), लौकाहाका सच्चिन्द्रप्रसाद यादव (३६), पथराका गणेशकुमार साह कानु (३४), गौरकी सन्ध्या श्रीवास्तव (३५) र बञ्जराहकी तुलसाकुमारी सिंह (वर्ष नखुलेको) छन् ।

बसका चालक लेखनाथ नगरपालिका कास्कीका ३५ वर्षीय लोकराज पौडेल र पोखराका ४१ वर्षीय चित्रबहादुर बोहराको पनि मृत्यु भएको छ । अन्य मृतकमा भारतीय नागरिक पूर्वी चम्पारनका थेकन ठाकुर (३६), बिहारका शंकर ठाकुर (३६), मोतीहारीका रामसागर भगत (४०), सोही ठाउँका सन्दीप भगत (११) र नथुनी चौधरी (३५) छन् ।

दुर्घटनाका घाइते इनरवारी रौतहटका २८ वर्षीय शिक्षक रितेशकुमार ठाकुरले एक सय नम्बरमा फोन गरी प्रहरीलाई घटनाबारे जानकारी गराएपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र र चितवन प्रहरी कार्यालयबाट घटनास्थल पुगेका सुरक्षाकर्मीले सबै घाइतेको उद्धार गरेका थिए । घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) र चारजनाको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सीएमएस) मा उपचार भइरहेको छ ।

चालकको पनि मुत्यु, ज्यान गुमाउने आधाभन्दा धेरै रौतहटका, बिहार चम्पारनका पनि पाँच परे । 

घाइतेमध्ये रौतहटको चन्द्रपुरका सञ्जय साह (४०), वसन्तपुरका अविनाशकुमार चौधरी (२५), गौरका सुशान्त श्रीवास्तव (१२) र चन्द्रपुरका श्याम न्यौपाने (सहचालक, वर्ष नखुलेका) को सीएमएसमा उपचार भइरहेको छ । सीएमसीमा उपचार भइरहेका घाइतेमा धादिङका राजन पाण्डे (२० वर्षीय सहचालक), पोखरा उपमहानगरपालिकाकी दीपिका थापा (२०), रौतहटको इनरवारीका रितेशकुमार ठाकुर (२८), चन्द्रपुरकी नौ वर्षीया मिली साह र उनका भाइ दुई वर्षीय प्रिन्स साह, भेडीयाहीका शेष राज (३०) र बडहरवाका प्रमोद दास (२४) छन् ।

दुर्घटनामा भारतको बिहारमा पर्ने शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय, भारतकै सीतामढी घर भएका २८ वर्षीय राजेश गुप्ता, उनकी श्रीमती सुगन्धी (२८), उनकै पाँच वर्षीया छोरी श्वेता र तीन वर्षीय छोरा आकाशको पनि सीएमसीमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ ।

परीक्षा दिने उत्साह पानीमा डुब्यो

बाईसजनाको ज्यान लिएर १६ जनालाई घाइते बनाउने दुर्घटनाको पहिलो सूचना प्रहरीलाई दिने रौतहट इनरबारीका २८ वर्षीय शिक्षक रितेशकुमार ठाकुर शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि घाइते भए । खाइलाग्दो ज्यानका ठाकुरको टाउकोमा मात्र नभई मनमा पनि चोट प¥यो । शनिबार पोखरामा हुन लागेको शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन चन्द्रपुरबाट बस चढेका ठाकुरको उत्साह १५ घन्टा नबित्दै त्रिशूलीको पानीमा डुब्यो ।

‘म र अरू दुईजना साथी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन बिहीबार साँझ साढे सात बजे पोखरा जाने बस चढेका थियौं । हेटौंडा कटेपछि सवा दस बजेतिर मनहरीमा खाना खान बस रोकियो । यात्रु र बसका स्टाफले खाना खाएपछि गुडेको बसले नारायणगढ पार गर्दा मध्यरात भइसकेको थियो । बसभित्रका सबैजसो यात्रु मस्त निद्रामा थिए’, भरतपुरस्थित सीएमसी शिक्षण अस्पतालमा उपचार गराइरहेका ठाकुरले घटना सम्झँदै सुनाए, ‘बसको ए साइडको सात, आठ र नौ नम्बरको सिटमा निदाइरहेका हामी तीनैजना एक्कासि बसले सडक छाडेपछि ब्युँझियौं ।

दुर्घटना हुँदा म निदाइरहेको थिएँ । गाडी सडकबाट तल झर्दै रहेछ । बसको गड्याङगुडुङ आवाज र यात्रुको हारगुहारले बसभित्र कोलाहल मच्चियो । एकैछिनमा बस खोलाभित्र थियो ।’

चन्द्रपुरको पाथीभरा निम्न माध्यमिक विद्यालयमा पढाउने ठाकुरसँगै यात्रामा थिए उनका शिक्षक साथी समीर आलम र विश्वनाथ साह । उनीहरू दुवैको नाम उपचाररत घाइते र सनाखत भएका मृतकको सूचीमा छैन भन्ने ठाकुरलाई अहिलेसम्म थाहा छैन । बस खोलामा खसेपछि ठाकुरले आफूसँग रहेको मोबाइल निकालेर एक सय नम्बरमा फोन गरेको करिब दुई घन्टामा उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा आइपुगे ।

तिनै सुरक्षाकर्मीले ठाकुरलाई पानीबाट बाहिर निकालेर एम्बुलेन्स चढाई अस्पताल पठाए । ‘तीन बजेतिर खोलामा खस्यौं । म गाडीभित्रै थिएँ’, उद्धारको क्षण सम्झँदै उनले भने, ‘पाँच बजेतिर प्रहरी आएर मलाई गाडीबाट बाहिर निकालेर उद्धार गरे ।’ खोलाबाट बाहिर निस्कँदा बगरभरि यात्रुका शव यत्रतत्र छरिएको अवस्थामा देखेको उनले सुनाए ।

हराए नातिनी र बुहारी

शुक्रबार बिहान सात बजे रौतहटको चन्द्रपुर चौकीबाट प्रहरी घरमै आएर सोधपुछ गर्न थालेपछि चन्द्रपुर निवासी ५८ वर्षीय रामनाथ साहले त्रिशूली बस दुर्घटनामा छोरा र उनको परिवार परेको थाहा पाए । घटनाबारे थाहा पाएपछि कान्छो छोरा अशोकलाई साथमा लिएर उनी भरतपुर आइपुगे । मध्याह्नतिर सीएमसीको आकस्मिक कक्षअगाडि भेटिएका साहले जेठो छोरा सञ्जय, दुईबर्से नाति प्रिन्स र कान्छी नातिनी मिलीलाई घाइते अवस्थामा फेला पारे पनि बुहारी पुनम र ठूली नातिनी कञ्चनको अत्तोपत्तो नभएको बताए ।

‘सञ्जय ठूलो छोरा हो’, भरतपुर आउनुको कारण बताउँदै उनले भने, ‘स्याङ्जामा मसलाको कारोबार गर्छ । उनीहरू सपरिवार स्याङ्जाको वालिङमा बस्छन् । हिजो (बिहीबार) साँझ साढे सात बजेतिर आफैंले गाडीमा चढाएको थिएँ । अहिले नातिनी र बुहारी भेट्टाउन सकेको छैन ।’ साहका छोरा सञ्जय सपरिवार भदौ एक गते चन्द्रपुरस्थित घर पुगेका थिए । घरतिरै कृष्ण जन्माष्टमी मनाएर वालिङ फर्कंदा सञ्जयको परिवार दुर्घटनामा प¥यो । वालिङको भुम्ले विद्यालयमा कक्षा पाँचमा पढ्ने मिली (सञ्जयकी कान्छी छोरी) ले आफू र भाइ प्रिन्स बाबुसँगै बसेको र आफूहरूभन्दा अगाडिको सिटमा आमा र दिदी बसेको बताइन् । पुनम र कञ्चनको नाम घाइते र मृतकको सूचीमा छैन ।

परिवारै सकुशल

भारतको सीतामढी निवासी २८ वर्षीय राजेश गुप्ता, उनकी श्रीमती सुगन्धी, पाँच वर्षकी छोरी श्वेता र अढाइ वर्षको छोरा आकाश सीएमसीको आकस्मिक कक्षमा उपचाररत छन् । पोखराको दुलेगौंडामा किराना पसल चलाएर बसेका गुप्ताको परिवार त्रिशूली बस दुर्घटनामा परेर पनि सकुशल छ । गुप्ताको देब्रे खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनकी श्रीमती सुगन्धीको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते छोरी श्वेता र छोरा आकाशको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । ‘म निदाइरहेको थिएँ । बस सडकबाट खसेपछि बल्ल थाहा पाएँ’, घटना सम्झँदै गुप्ता भन्छन्, ‘गाडीको डन्डी बेस्सरी समातेर बाँचें ।’

भारतको सीतामढी निवासी ३६ वर्षीय फेकु राय आफ्नो साला रामप्रवेश यादवसँग पहिलोपटक पोखरा घुम्न जाँदै थिए । बिहीबार दिउँसो गौरबाट पोखरा जाने बसमा चढेका उनले मुग्लिन पनि काट्न पाएनन् । मोतीहारीमा साइकलमा राखेर कपडाको व्यापार गर्दै आएका सालाभेनाको उद्देश्य पोखरामा पनि त्यही व्यवसायको सम्भावना खोज्ने र पोखरा घुम्ने थियो ।

‘पछिल्लो सिटको अघिल्लो लहरमा सालो र म बसेका थियौं’, नेपाली भाषा बोल्न र बुझ्न नसक्ने रायले हिन्दीमा सोधिएको प्रश्नको जबाफमा भने, ‘गाडी तीव्र गतिमा थिएन । ड्राइभरको लापरबाहीले घटना भयो । मेरो साला म¥यो ।’ उनको साला रामप्रवेशको नाम पनि घाइते र मृतकको सूचीमा छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.