रक्सी खान आउने भारतीयका कारण सीमा क्षेत्रमा असुरक्षा
वीरगन्जः भारतको बिहारमा मदिरापान, बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि बिहारको सीमासँग जोडिएका पर्साको ग्रामीण भेगमा मदिरा पिउन आउने भारतीयका कारण असुरक्षा बढेको छ ।
नेपालको सीमा क्षेत्रमा रहेका मदिरा पसलमा रक्सी पिउन आउने भारतीयले होहल्ला र झगडा गर्ने, सडकमा हिँड्ने युवती र महिलालाई जिस्क्याउनेजस्ता अवाञ्छित गतिविधि गर्ने गरेका छन् ।
बिहारसँग सीमा जोडिएका पर्साको गाउँ र बजारमा दर्जनौंको संख्यामा अवैध रूपमा रक्सीभट्टीहरू सञ्चालनमा रहेका कारण महिलाहरूलाई बाटो हिँड्न तथा साँझ पर्नेबितिक्कै घरबाट बाहिर निस्किनसमेत समस्या भइरहेको स्थानीयले बताएका छन् ।
‘बोर्डर पार गरेर बिहारका मान्छे रक्सी खान हाम्रो गाउँमा आउँछन् । रक्सी खाएर रातिसम्म होहल्ला गर्छन्’, भिस्वा गाविसकी निलम देवीले भनिन्, ‘अचेल साँझ पर्ने बित्तिक्कै सडकमा हिँड्न त के घरबाट बाहिर निस्कन पनि डर लाग्छ ।’
बिहारमा त्यहाँको सरकारले मदिरा पिउन र बिक्रीवतरण गर्न प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली गाउँ र बजारमा मदिरा पसल, रक्सी भट्टी र झुप्रे होटेलहरूको संख्या पनि बढेको छ । सीमावर्ती क्षेत्रबाट भारततर्फ घरेलु र सिलबन्दी दुवै किसिमका मदिराको तस्करी पनि बढेको छ ।
बिहारसँग सीमा जोडिएका पर्साका भिस्वा, जानकीटोला, महादेवपट्टी, सुवर्णपुर, शंकरसरैयालगायत गाविसमा दर्जनौंको संख्यामा अवैध घरेलु रक्सी भट्टी सञ्चालनमा रहेको र त्यहाँबाट उत्पादित घरेलु मदिरा भारतका विभिन्न स्थानमा तस्करी हुँदै आएको लंगडीका लालबाबु बानियाँले बताए ।
‘बिहारमा प्रतिबन्ध लागेपछि यहाँ रक्सीको कारोबार बढेको छ’, उनले भने, ‘बिहारबाट रक्सी पिउनेहरू धेरै आउने गरेका छन्, तस्करी पनि भइरहेको छ ।’
रक्सी खान आउने भारतीयहरूका कारण राति अबेरसम्म मदिरा पसल र भट्टी खुल्दा होहल्लाका कारण बालबालिकाको पढाइलेखाइमा नराम्रो असर पारेको बानियाँले बताए ।
रक्सी खान आउने भारतीयका कारण गाउँको वातावरण बिग्रिएको भन्दै स्थानीयले सीमावर्ती क्षेत्रका मदिरा पसल र भट्टी बन्द गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।मुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिको भदौ ५ गते बसेको बैठकले भारतसँग सीमा जोडिएको दसगजा क्षेत्रभन्दा पाँच सय मिटरवरपर मदिरा बिक्रीवितरण, सेवन र ओसारपसार गर्न नदिने निर्णय गरेको छ ।
नेपालतर्फको दसगजादेखि पाँच सय मिटर क्षेत्रमा अहिले सञ्चालनमा रहेका मदिरा पसल एक साताभित्र नहटाइए कारबाही गर्ने निर्णय पनि सुरक्षा समितिको बैठकले गरेको छ । जिल्ला सुरक्षा समिति पर्साले सीमावर्ती क्षेत्रमा मदिराको बिक्रीवितरण र ओसारपसारमा कडाइ गर्ने निर्णय गरेको समितिका सदस्य पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।