प्रचण्डज्यू ! गल्ती सुधार्ने कि ?
गल्ती नगर्ने मानिस को होला ? जीवन एउटा प्रक्रिया हो, यस प्रक्रियामा घटेका राम्रा–नराम्रा, सुख–दुःख, घाम–छायाँ, असफल–सफल कार्य, सबैको जोड नै मानव जीवन हो । मानवलाई सर्व श्रेष्ठ प्राणी बनाउन अनेकौं अन्य कारणहरू छन्, गुणहरू छन्, कुनै एउटैले मानव सृष्टिको शीर्ष प्राणीमा स्थापित भएको होइन । यस्तै यस प्राणीको गुण हो आफ्नो गल्ती स्वीकार गर्नु र त्यसलाई सच्याएर प्रगतिको बाटोमा अगाडि बढ्दै जानु । मानिसबाहेकका अन्य कुनै जीवधारीमा यो गुण प्रकृतिले प्रदान गरेको छैन ।
आजको आधुनिक विज्ञान ‘ट्रायल एन्ड इरर’ र ‘इरर ट्रायल अगेन’कै भर्याङ चढ्दै जुपिटरको कक्षमा जुनो स्थापित गर्न पुगेको हो । आ भन्दा २४ सय वर्षपहिला ग्रिकमा जन्मेका दार्शनिक अरिस्टोटलले समय, पृथ्वी, सोलार सिस्टमका बारेमा जे जे भनेका थिए ती आधुनिक वैज्ञानिकहरूले सबै गलत साबित गरिसके । तर पनि अरिस्टोटललाई अझै ‘फादर अफ वेस्टर्न थाट’ मानिन्छ । मूल कुरा गल्ती र सहीको होइन; सोच्ने, मनन गर्ने, अन्वेषण गर्ने थालनीको हो, सही र गलत त जीवनरूपी प्रक्रियाले आफै पहिल्याउँदै जान्छ । सोच्ने, चिन्तन गर्ने र त्यसअनुसार कार्य गर्नेबाट गल्ती हुनु स्वाभाविक हो, मानिस त्यै नै मानिसको कोटिमा राख्ने लायक हुन्छ जसले आफ्नो गल्ती स्वीकार गर्छ । पद, मान, मर्यादा, सम्मानको पर्वाह नगरी जसले आफूबाट भएका गल्ती, स्वीकार गर्छ त्यो वन्दनीय हो, अनुकरणीय हो ।
यस आलेखको केन्द्र समकालीन राजनीतिका दिग्गज वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । माओवादी हिंसादेखि (क्षमा गर्नुहोला म त्यसलाई जनयुद्ध लेख्न सक्दिनँ, तपाईंहरूको मानेमा मलाई आपत्ति छैन) दिल्ली सम्झौता, संसद् पुनर्गठन, जंगलबाट सहर प्रवेश, पहिलो निर्वाचन, सरकार सञ्चालन, प्रमुख प्रतिपक्षको भूमिका, अनेकौं सरकार परिवर्तनको खेल, पहिलो संविधानसभाको विफलता, रेग्मीको नयाँ अवतार, दोस्रो संविधानसभा निर्वाचनमा खस्केको ग्राफ, मतगणना छाड्नु, निर्वाचन अस्वीकार गर्नु, त्यसपछि सुशील कोइरालाको नेतृत्वमा संविधान घोषणाको सफलता, लगत्तै ओलीको राज्याभिषेक आदि ।
कुनै पनि परिदृश्यमा उहाँको बलियो उपस्थिति र प्रभाव रहेको थियो । बेलाबेलामा उहाँले आफूबाट भएका गल्ती स्वीकार गरेको तथ्य पत्रपत्रिकामा प्रकाशित भएका छन् । मलाई नेपाली राजनीति र राजनीतिज्ञबारे यथेष्ट ज्ञान त छैन तर जानेअनुसार बारम्बार आफ्नो गल्ती स्वीकार जतिपटक उहाँले गर्नुभयो अरू कसैले छैन । के यसको तात्पर्य अरूले गल्ती गरेनन्, किमार्थ पनि होइन । गल्ती सबैबाट भएका छन्, बारम्बार भएका छन् तर कसैले जनतालाई साक्षी मानेर आफ्नो गल्ती स्वीकार गरेको पाइँदैन ।
हाम्रा नेताले गल्ती नगरेको भए के देश यस अवस्थामा हुन्थ्यो ? वाम पृष्ठभूमिका धेरै मित्र भएकाले माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँले आफ्नो ‘किचेन क्याबिनेट’मा उद्गार गरेको अनुभूति यस्तो थियो, ‘होइन हामीले ठूलो गल्ती गरेछौं, गिरिजाबाबुको पहिलो प्रधानमन्त्रीकालमा कर्मचारी संघमा हामीले जुन राजनीति गर्यौं, त्यो संघतन्त्रले त काम नै गर्न दिँदो रहेनछ ।’ यो उहाँले सार्वजनिक रूपमै स्वीकार गरेको भए सायद त्यसलाई सच्याउने कुनै प्रविधिको विकास हुने थियो ।
देशले संघीयता र समानुपातिकका नाममा ६०१ जनाको भार थेग्न सक्दैन । राजनीतिक दल र नेताका लागि यो अवसर होला तर एकपटक आफू सामान्य किसान, व्यापारी, जागिरे भएर सोच्नुस्; के यो सानो देशका लागि सुहाउँदो हो ?
प्रचण्डले खुला राजनीतिमा आएदेखि दोस्रोपटक प्रधानमन्त्री हुँदासम्म अनेकौंपटक सार्वजनिक स्थलमै गल्ती स्वीकार गरेको देख्दा उहाँले अझ ठूलो छाती बनाएर अगाडि बढ्न खोज्नुभएको हो भन्ने आशा गर्नु मेरो गल्ती हो भने पनि म यो गलत स्वप्न हेर्न पछाडि हट्दिनँ ।
वर्तमान समयमा राजनीतिक दल र दलका नेताले स्वीकार गरे पनि नगरे पनि यो सत्य हो; संविधानसभा, समानुपातिक प्रणाली, गणतन्त्र, संघीय राज्य (धर्म निरपेक्षता कसैको पनि एजेन्डा थिएन, यो केही जनाको बदमासीले छिरेको थियो) माओवादीका एजेन्डा थिए । अन्य दलहरूले यसलाई स्वीकार गरेर वर्तमान संविधानमा यसको व्याख्या भएको हो । भनिन्छ, समय अगाडि बढ्छ तर समकालीन नेपाली राजनीतिमा खासगरी प्रचण्डका लागि यो अगाडि बढेको हो कि पछाडि गएर उहाँबाट भएका सबै गल्ती सच्याउने अवसर पो बनेको छ कि उहाँका लागि । उहाँले जुनजुन शक्तिलाई वर्ग शत्रु भन्दै तिनका विरुद्ध परशुराम शैलीमा नेस्तनाबुद गर्ने गरी शस्त्र उठाउनुभएको थियो, समयले ती सबै शक्तिसँग उहाँको मित्रता पो कायम गराइदियो ।
एउटा प्रमुख शत्रुकै सहयोगले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । हेक्का रहोस्, प्रचण्ड सातआठ वर्षमा तपाईंले धेरैलाई प्रधानमन्त्री बनाइदिन ‘किङ मेकर’को भूमिका खेल्नुभयो । चाहे झलनाथलाई हेरौं, चाहे बाबुराम वा रेग्मी अथवा ओली । उनको सदिच्छा नभएको भए यी सबैको ‘त्यो ग्यालरीमा’ फोटो रहन पाउने थिएन । संसदीय व्यवस्थाका कुशल खेलाडी शेरबहादुर दाहालका लागि उद्धारक बनी आउनुभयो र तपाइंलाई पुनः एकपटक गल्ती दोहोर्याउने वा देशलाई निकास दिने अवसर प्रदान गरिदिनुभयो ।
हो, पुष्पकमलको साखको ग्राफ निसन्देह निकै खस्केको छ तर पनि उहाँसँग प्रकृतिप्रदत्त त्यो चामत्कारिक ऊर्जा छ, बुद्धि छ, साहस छ, रिस्क लिने प्रवृत्ति छ, देश र जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्ने ‘एटिच्युड’ छ कि छैन थाहा भएन । सारा नेपालीले बुझिसकेका छन् प्रचण्ड यो देशले संघीयता र समानुपातिकका नाममा ६०१ जनाको भार थेग्न सक्दैन । राजनीतिक दल र नेताका लागि यो अवसर होला तर एकपटक आफू सामान्य किसान, व्यापारी, जागिरे भएर सोच्नुस्, के यो सानो देशका लागि सुहाउँदो हो ?
मनन गर्नुस्, यी तपाइंका एजेन्डा थिए वा अन्य दलले तत्कालीन परिस्थितिमा बाध्य भई स्वीकार गर्नु परेको थियो । उनीहरू यसबाट पछाडि हट्ने ठाउँ छैन । उनीहरूले फर्केको अर्थ पनि छैन । आठदस वर्षको राजनीतिक अनुभवले यो देशले धान्न सक्दैन भने तपाईंलाई पनि लाग्छ भने गल्ती स्वीकार गरी संघीयता र जम्बो सदस्य संख्या निरस्त गर्ने बहस प्रारम्भ गर्नुस् । सबै राजनीतिक दल तपार्इंलाई ‘फलो’ गर्दै आउनेछन् ।
सानोतिनो गल्ती स्वीकार गरेर हुन्न । ती गल्ती पनि स्वीकार गर्ने साहस देखाउनुस् जुन देशहितमा छन्, जनताका पक्षमा छन् । स्मरण आउँछ, तपार्इं लुम्बिनी पुग्दा बुद्ध र सम्राट् अशोकको कुरा गर्नुहुन्छ । अशोक बन्ने चेष्टा होइन अंगुलिमाल बन्नुहोस् । बुद्ध साहित्यमा, बुद्धको नजिक, बुद्धचेत बुझेको, बुद्धवर्णित शान्ति, करुणा, मैत्रेयलाई उपलब्ध भएको अंगुलीमाल हो, अशोक प्रचारक हुन् । तसर्थ अंगुलीमालझैं सर्वसाधारण बनेर शान्तिलाई स्वयं उपलब्ध भएर अगाडि बढ्नुस् ।
एकजना भूतपूर्व अमेरिकी राष्ट्रपतिलाई जब उनका प्रशंसकहरूले पुनः उम्मेदवार बन्ने अनुरोध गरे उनले, ‘नाउ देयर इज नो चान्सेस अफ प्रमोसन’ भन्दै अस्वीकार गरे । तपाईंले यी सात शब्द आत्मसात् गरे तपाईंको बाटो कसैले रोक्नसक्छ । जीवनभरि एउटै पदमा झुन्डिराख्नु र त्यसैका लागि मरिहत्ते गरिरहनु गिरिजाबाबुलाई सुहाउँथ्यो, शेरबहादुरलाई सुहाउँछ, तपाईंजस्तो समयकै चाल परिवर्तन गर्नसक्ने व्यक्तिलाई सुहाउँदैन । दलदलीय राजनीतिबाट माथि उठ्नुस् अब, देश र जनताका लागि बाँकी रहेको जीवन खर्च गर्नुस् ।
आफ्नो नेतृत्वमा देशलाई दलदलबाट निकालेर बाटोसम्म त ल्याइदिनुस् । नेपालमा भ्रष्टाचार र कालो धनको चर्चा भइरहन्छ । कतिपय नेतरु भ्रष्टाचारको अभियोगमा अदालतबाट सजाय पाएर पनि पुनः राजनीतिमा स्थापित भइसके ! अब यस्तो कानुन ल्याउने पहल गर्नुस् जसले देशविदेशमा रहेको जस्तोसुकै धन पनि देशमा खुला रूपले आओस, देशमै लगानी होस् ।
चाहे तपाईंको होस्, तपाइंका पार्टीका अन्य नेताहरूको होस्, बाबुरामको होस्, ज्ञानेन्द्रको होस्, अजय सुमार्गीको होस्, उपेन्द्र महतोको होस्, विनोद चौधरीको होस् वा अन्य जुनसुकै व्यक्तिको होस्; त्यो आउने वातावरण बनाउनुस् ।
०४६ को परिवर्तनपछि नेपालमा जुनसुकै प्रधानमन्त्री आए पनि (चाहे किसुनजी, मनमोहनजी नै भए पनि) देशमा ‘गुड गवर्नेन्स’ हेर्न पाइएन । मैले यसपटक तपाईंसँग यो आशा राख्नु मेरो गल्ती हो भने पनि म यो गल्ती बारम्बार गर्न उद्यत छु । ‘गुड गवर्नेन्स’को परिभाषा भनौं तपाईंलाई ! देशको सर्वोच्च निकायले बनाएको संविधानमा निहित भइसकेको संघात्मक प्रणाली र पार्लियामेन्टको सदस्य संख्याबाट देशको प्रधानमन्त्री एवं पार्टीको प्रमुखलाई पछाडि हट्न उद्यत गराउनु कानुनको नजरमा अपराध हो भने ममाथि कारबाही हुनुपर्छ । कानुनतः मबाट संविधानको अपमान भएको हो भने म कानुनबमोजिम सजाय भोग्न तयार छु ।
जुन संविधानको विरोध गर्दै नागरिक मारिए, राज्यले तिनलाई विप्लवकारी भन्दै शान्तिसुरक्षा कायम गर्ने नाममा ती नेपाली नागरिक मारिएका हुन् । तपाईं तिनलाई सहिद घोषणा गर्नपट्टि लाग्नुभयो । यसको सामान्य अर्थ लाग्छ- तिनको माग उचित थियो, देशहितमा थियो, देशहितमा प्राणको बाजी थाप्नेलाई सहिद भनिन्छ होइन र प्रधानमन्त्री ? तपाईंको सरकारले तिनलाई सहिदको दर्जा प्रदान गरिसकेपछि आमनेपाली जुन माग राखेर सहिद हुन पुगे, ती माग पूरा गरिदिनुस् । यो भएन भने त राज्यसत्ता बाँडीचुँडी खाने आरोप तपाईं र आन्दोलनरत मधेसी दलहरूलाई लाग्दैन र ?
तपाईंले ती गल्ती स्वीकार गर्नुभो, जसले तपाई र तपाईंको दललाई हानिनोक्सानी पुर्यायो । के आफ्ना ती गल्ती पनि स्वीकार गर्ने आँट गर्नुहुन्छ ? जसले समग्र देशलाई नै हानि पुर्यायो । यसको थालनी कहिलेबाट गर्नुहुन्छ ? पुष्पमा पनि श्रेष्ठ पुष्पकमलज्यू !