जग्गेबाट खोसिँदै कलिला जोडी

जग्गेबाट खोसिँदै कलिला जोडी

सुर्खेतः पूर्वी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवारको दबाबमा गाउँकै युवकसँग भागिन् । उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थानीय किशोरीहरूले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो ।

मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दै गर्दा गाउँकै किशोरसँग भागिन् । परिवारले खोजीका लागि हारगुहार नै गरे । केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । उनको बिहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले संगीतालाई जग्गेबाटै खोसेर फिर्ता ल्याए । उनलाई जग्गेबाट खोस्ने क्रममा किशोरी र दुलाह पक्षबीच चर्काचर्की भयो । अन्ततः किशोरीहरूले कलिलैमा विवाह गर्न नहुने भन्दै सम्झाएपछि गाउँलेले पनि साथ दिए । विवाह रोकियो ।

जिल्लामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि त्यसलाई रोक्न किशोरीहरूले अभियान नै सुरु गरेका छन् । उमेर नपुग्दै विवाह गर्दा समस्या भोग्नु परेको भन्दै किशोरीहरू सामूहिक रूपमा बालविवाह रोक्ने अभियानमा जुटेका हुन् । उनीहरूले उमेर नपुग्दै विवाह गर्ने जोडीलाई हिजोआज विवाहको जग्गेबाटै खोस्न थालेका हुन् ।

किशोरीहरूले जग्गेबाटै खोस्न थालेपछि गाउँमा बालविवाहविरुद्धको अभियान सशक्त बनेको छ । यस्तै जग्गेबाटै खोसिने त्रासका कारण बालविवाह गर्नेको संख्यामा कमी आएको अभियन्ताहरूको दाबी छ । जिल्लामा सबैभन्दा बढी बालविवाह हुने गरेको मैनतडामा किर्डाक नेपालले संवाद केन्द्रमा आवद्ध गराएपछि किशोरीहरू बालविवाह रोक्न कम्मर कसेर लागेका छन् ।

मैनतडा-३ मा रहेको मालिका संवाद केन्द्रमा आवद्ध किशोरीहरू अहिले बालविवाह रोक्न घरदैलो अभियानमा जुटेका छन् । स्थानीय किशोरी भावना विकले भनिन्, ‘गाउँमा उत्पादन हुँदैन, अधिकांशले भारतमा मजदुरी गरेर घरखर्च चलाएका छन् । यहाँ सानैमा बिहे गर्ने र भारत जाने चलन छ, हामीले त्यसलाई रोक्न अभियान थालेका छौं ।’ यस्तै १५ वर्षको उमेरमा नै बिहे गरेकी तिलसरा विक अहिले अरूलाई कलिलै उमेरमा विवाह नगर्न सल्लाह दिँदै हिँड्छिन् । ‘म अहिले २१ वर्षकी भएँ, दुई सन्तानकी आमा बनेकी छु’, तिलसराले थपिन्, ‘बेलामा पढिएन, जागिर मिल्ने कुरै भएन । घरखर्च नचलेपछि श्रीमान् विदेशिएका छन्, सानैमा बिहे गर्नु राम्रो होइन रहेछ ।’

आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो दुःख अरूले नपाउन भनेर आफू यो अभियानमा जुटेको उनको भनाइ छ । उनकै नेतृत्वमा हिजोआज गाउँका किशोरीहरू उमेर नपुग्दै विवाह गर्नेलाई जग्गेबाटै खोस्ने अभियानमा जुटेका छन् ।

केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । संगीताको बिहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका किशोरीले संगीतालाई जग्गेबाटै खोसेर फिर्ता ल्याए । उनलाई जग्गेबाट खोस्ने क्रममा किशोरी र दुलाह पक्षबीच चर्काचर्की भयो । अन्ततः विवाह रोकियो ।

जिल्लाको भेरीगंगा नगरपालिकाअन्तर्गत छिन्चुमा पनि किशोरीहरूले उमेर नपुग्दै विवाह गर्नेलाई जग्गेबाटै खोस्ने र उमेर पुगेर आत्मनिर्भर भएपछि मात्र विवाह गर्न सल्लाह दिन थालेका छन् । स्थानीय किशोरीहरूले आशा सञ्जाल गठन गरेर बालविवाह रोक्ने अभियान सञ्चालन गरेका हुन् । बालविवाह गर्दा शिक्षाबाट वञ्चित हुने, किशोरी आमाहरूको स्वास्थ्यमा असर पुग्ने र सम्बन्ध पनि दिगो नहुने भन्दै किशोरीहरूले गाउँमा सचेतना अभियान थालेका छन् ।

छिन्चुमा उनीहरूले स्थानीय किशोरी प्रिती सुनारको हुनै लागेको विवाह रोके । परिवारले जबरजस्ती गर्न लागेको उक्त विवाह किशोरीहरूले अन्तिम समयमा रोक्न सफल भएका थिए । अभिभावकलाई सम्झाई बुझाई गरेर आफूहरूले उमेर नपुग्दै हुन लागेको प्रितीको बिहे रोकेको स्थानीय किशोरी दीपा विकले बताइन् । कलिलैमा बिहे गर्दा आफ्नो सम्बन्धविच्छेद भएको पीडा सुनाउँदै १७ वर्षीया दीपाले भनिन्, ‘बालविवाह रोक्नै पर्छ, हामीले कसम खाएका छौं । गाउँमा उमेर नपुग्दै हुन लागेका दर्जनौं बिहे रोकेका छौं, आउँदा दिनमा पनि रोक्छौं ।’

जिल्लामा किशोरीहरूको क्षमता विकास र शिक्षाको क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपालले किशोरीहरूलाई संगठित गर्दै आएको छ । गाउँमा संवाद केन्द्र र आशा सञ्जालमा किशोरीहरू संगठित हुँदै बालविवाहविरुद्ध अभियान नै थालेको बताउँदै किर्डाक नेपालका जिल्ला संयोजक अनुप नेपालीले भने, ‘किशोरीहरूले धेरैलाई जग्गेबाटै खोसेर स्कुलमा भर्ना गरेका छन्, विवाह गरेर बीचमै पढाइ छोडेकालाई पनि पुनः स्कुल फिर्ता गराएका छन् ।’ जिल्लामा बालविवाह न्यूनीकरण चुनौतीको रूपमा रहेको भन्दै उनले किशोरीहरूको प्रयासले सफलता प्राप्त गरिरहेको बताए । उनका अनुसार किशोरीहरूले गाउँमा घरदैलो अभियानमार्फत बालविवाहविरुद्ध सचेतना जगाउने गरेका छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.