स्वास्थ्य चौकीमा उपचार नपाएर दुई दूधेबालिकाको मृत्यु
हुम्ला: हुम्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोडिकोट–८ का राजबहादुर कार्कीको आठ महिनाको छोरी सुशीला र सोहि ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन्। ती दुबै जनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो।
सो गाविसका स्थानीय बासिन्दा अदानसिंह कार्कीले स्वास्थ्य चौकीमा कुनै पनि औषधि नभएको बताए। उनले भने,‘स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन।’ वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उनको भनाइ छ।
उक्त स्वास्थ्य चौकीका अहेब जोर फडेराले स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गरे।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको बताए।