जगद्गुरुले गरे पशुपतिमा महाभिषेक

 जगद्गुरुले गरे पशुपतिमा महाभिषेक

काठमाडौँः नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले राष्ट्रकल्याण र शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा शनिबार बिहान महाभिषेक गरेका छन् ।

महाकालीको कञ्चनपुरस्थित भम्केनीधाममा नेपालका ७५ वटै जिल्लालाई समेटेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउने क्रममा महाकालीदेखि मेचीसम्मको पैदल यात्राको क्रममा काठमाडौं आएका जगद्गुरुले पशुपतिनाथमा विशेषपूजा अन्तर्गतको महाभिषेक गरेका हुन् ।

पशुपतिनाथ मन्दिरको गर्भगृहमा महाभिषेक गर्नुअघि जगद्गुरु बालसन्तले नियमानुसार चण्डेश्वर, बासुकीनाथ, सिद्देश्वर, नारायण, लालगणेश, सूर्यनारायण, श्रीयन्त्र, बागमती, कल्केश्वर, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, कोटी लिंगेश्वर, उन्मत्त भैरव, सप्तमात्रिका, नवग्रहको दर्शन र पूजाआजा गरेका थिए । नवग्रहपछि मन्दिरको दक्षिणी ढोकाबाट प्रवेश गरेपछि कार्यवाहक मूलभट्ट रामकारान्त भट्टले महाभिषेक गराएका थिए ।

करिब १५ मिनेटको महाभिषेकपछि जगद्गुरुले चारै ढोकाबाट दर्शन गरी सत्यनारायणको पूजा, प्रार्थना, भक्तजनलाई चन्दन, टिका र प्रसाद वितरण गरेपछि अन्त्यमा क्षमा पूजा गरेका थिए ।

महाभिषेकपछि जगद्गुरुले राष्ट्र कल्याण र शान्तिका लागि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेको बताए । उनले अन्नपूर्णसँग भने, ‘विभिन्न कारणले देशमा अशान्ति छाएको छ, आपसमा सद्भाव हराउँदै गएको छ । त्यसैले महाकालीदेखि मेचीसम्मको पैदल यात्राको क्रममा पशुपतिनाथमा समग्र देशमा शान्ति छावोस् र मानवको कल्याण होस् भनेर महाभिषेक गरेको हुँ ।’

जगद्गुरुको समूहको व्यवस्थापनमा रहेका ज्योतिषी वासुदेवकृष्ण शास्त्रीले पञ्चामृत सहितको महाभिषेकका क्रममा भगवान् शंकरको ५१ जना ब्राह्मणद्धारा रुद्राभिषेक पनि गरेको जानकारी दिए । मध्याह्न बत्तीसपुतलीस्थित बैंकेश्वर मन्दिरमा प्रवचन दिएका जगद्गुरुले साँझ पशुपतिनाथपूर्व बागमती नदीकिनारामा हुने आरती गरेका थिए ।

जगद्गुरु काठमाडौं उपत्यका भ्रमण समितिका संयोजक भरत घिमिरेका अनुसार, ३८ औं जिल्ला काठमाडौं प्रवेश गरेपछि जगद्गुरु बालाजु, महादेवटार, सामाखुसी, बुढानीलकण्ठ, शंखपार्क, सिमलटार, आरुबारी, गोकर्ण, उत्तरबाहिनी भएर गौशाला आइपुगेका हुन् । यसपछि जगद्गुरुले तीनकुने, कोटेश्वरस्थित महादेवथान, बालकुमारी, सातदोबाटो, महालक्ष्मीथान, भैसेपाटी, दक्षिणकाली, चोभार, कीर्तिपुर, बल्खु, कलंकी, मातातीर्थ, थानकोट, भीमढुंगा, सीतापाइला हुँदै काठमाडौंका भित्री सहर प्रवेश गर्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.