गायक खेमराज गुरुङको अन्त्यष्टि,
काठमाडौँः बिहीबार राजधानीको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएका गायक खेमराज गुरुङको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
संगीत क्षेत्रमा मात्र नभई राजनीतिमा पनि उत्तिकै सक्रिय गुरुङलाई श्रद्धाञ्जलि अर्पण गर्न कलाकारमात्र नभई नेताहरूको पनि घुइँचो लागेको थियो । एमाले नेता झलनाथ खनाल, सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरूले श्रद्धाञ्जलि अर्पण गरे ।
सञ्चारमन्त्री कार्कीले गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे । लोकप्रिय गायकलाई श्रद्धाञ्जलि अर्पण गर्न सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
आमा, दिदी, बहिनी विदेशमा भएका कारण उनको अन्तिम संस्कारमा ढिलाइ भएको हो । जन्डिस बिग्रिएर थलिएका गुरुङलाई थप उपचारका लागि भारत लैजाने तयारी गर्दागर्दै उनको निधन भएको थियो । संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले ‘वारि जमुना पारि जमुना ...’ लगायत थुप्रै चर्चित गीत गाएका छन् ।