सँगसँगै नाचे राज्य र माओवादीपीडित
घोराही: चौध वर्षअघि माओवादीले उनका श्रीमान् मारिदिएका थिए । त्यसपछि उनले कहिल्यै पनि चाडपर्व मनाइनन् । ' श्रीमान् गुमाएपछि चाडपर्वको महत्त्व लाग्न छोडिसकेको थियो', उनले भनिन्, 'तर कति दिन त्यही पीडा सम्झेर बस्नु र ? म मात्र होइन, धेरै पीडित छन्, आज हामी सबै एकै ठाउँमा छौं ? '
उनी मात्रै होइन, उनीजस्ता सशस्त्र द्वन्द्वका समयमा राज्य र माओवादी दुवै पक्षबाट पीडित भएकाहरू एकै ठाउँमा भेला भएर छमछमी नाचे । तीजको दर सँगै खाए, गीत घन्काए अनि कुम जोडेर छम्किए । शान्ति र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको हरप्लेस दाङले घोराहीमा द्वन्द्वपीडित भएकाहरूलाई एकै ठाउँमा जुटाएर दर खुवाउने कार्यक्रम राखेको थियो ।
त्यसमा राज्य र माओवादी दुवै पक्षबाट पीडित भएकाहरू सँगै बसे, दुःखसुख बाँडे अनि दर खाँदै दिनभरि नाचे । 'अब कति दिन सम्झिनु र? द्वन्द्वको घाउ त छ नि तर हामीले गुमाएका आफन्त फेरि पाउने होइन । जो जसबाट पीडित भए पनि अब बदला होइन, सद्भावले बाँच्नुपर्छ, मिल्नुपर्छ', कार्यक्रममा उपस्थित भएका द्वन्द्वपीडितलाई सम्झाउँदै उनले भनिन् ।
त्यही भीडमा तीजको भाकामा छमछमी नाच्दै थिइन्, भौली चौधरी । घोराही ३ की भौली । माओवादी भएको आरोपमा उनका श्रीमान्लाई खेतको धान स्याहार्दा स्याहार्दै सेनाले त्यहीं गोली हानेर मारेको थियो । उनी पनि भेला भएकाहरूसँग सँगै नाचिन् । दर खाइन् । 'त्यो बेला कसले कसलाई मारेको थियो, भनेर आज पनि दुश्मनी किन गर्ने र ? ' चौधरीले भनिन्, 'अब हामी सबै मिलेर बस्ने हो, बाँच्नेहरूलाई कति दिन पीडा भोगाउने ? '
द्वन्द्वका बेला कसका आफन्तलाई माओवादीको आरोपमा मारियो, कसलाई सरकारका मान्छेको आरोपमा मारियो ? त्यो कुरा कसैले केही गरेनन् । उनीहरू एक अर्काको हात समातेर नाचिरहेका थिए । र सबैले भनिरहेका थिए, 'अब हामी सबै मिलेर बस्ने हो, कोही झगडा नगरौं, पुराना कुरा बिर्सिनुपर्छ ।'
द्वन्द्वका बेला दुवै पक्षबाट पीडित भएहरूलाई एकठाउँमा घुलमिल गराएर, समाजमा शान्ति र मेलमिलाप स्थापनाका लागि सँगै दर खाने कार्यक्रम राखिएको हरप्लेसका जिल्ला संयोजक विनोद केसीले बताए । 'अब पनि एकअर्कालाई दुश्मन देखेर हुँदैन, जे भयो भयो, अब सबै पीडितले पीडा भुलेर अघि बढ्नुपर्छ, मिलेर बस्नुपर्छ भन्ने उद्देश्यले यो अन्तरसांस्कृतिक मेलमिलाप कार्यक्रम राखिएको हो', केसीले भने ।