जागेका जनता र दाहाल–देउवा गुट
जागेका जनताको सामथ्र्य र सर्वोच्चताको बारेमा रूसी शब्दशिल्पी जान रिडको यो भनाइ घतलाग्दो छ, 'जब जनता सुतिरहेका हुन्छन्, घरनजिकै गइरहेको पहिरोको बारेमा पनि थाहा पाउँदैनन् । जब जुर्मुराउँछन्, संसार हल्लाइदिन्छन् ।' गत वर्ष कैलालीको टीकापुरजस्तो आधुनिक नगरले बाहिरिया आएर बस्तीलाई रुवान्डा बनाउने दुष्चेष्टा थाहा नपाउनु तर हालै सप्तरीको सानो बस्ती तिलाठीका वीर जनसमुदायले फुटाऊ र शासन गरको बेलायतको उपनिवेशकालीन सूत्र रटिरहेको भारतेली शासक वर्गलाई लाठीको बलमा चेत बाबा काशी गरिदिनु यसको ज्वलन्त उदाहरण हो ।
जनता जागेकोमा जनविरोधी राजनीतिका उपासकहरूको बेचैनी बढ्छ । विगतमा दरबार र दिल्लीको नुनको साझो गर्ने जतिले गणतन्त्रमा एउटै शक्ति केन्द्र रिझाए पुगिहाल्ने सोझो अनुमान लगाएका थिए । सत्तासीन दाहाल देउवा गुटको जन्म नेपाली राजनीतिको रिमोट जनताको हातबाट खोसेर मोदी प्रशासनलाई थमाइदिन भएको हो ।
किनकि हस्तक्षेप र हैकमवादलाई कठपुतलीको माध्यमबाटै जनताको जागरण र एकता नष्ट भ्रष्ट पार्नु छ । बेलायती र भारतेली शासक वर्गको नेपाल नीतिको चुरो नै लोकप्रिय सरकार र शासकलाई यथाशीघ्र विस्थापित गर्नु र कठपुतलीलाई थाम्नु हो । देव शमशेरदेखि बीपी, मनमोहन, कृष्णप्रसाद र केपी ओलीसम्मलाई टिक्न बस्न नदिने प्रपञ्च शृंखला यसका प्रमाण हुन् ।
सत्तामा रहेर जनतालाई उठ्नै नदिने प्रपञ्चलाई सघाउने व्यक्ति र व्यवस्था मात्र नेपालमा बढी टिकेका छन् । किनकि मगज र मसल दुवै अद्वितीय रहेका नेपाली जाति उठेको खण्डमा सस्ता सेवक÷नोकर नपाइने चिन्ता छ । एसियाको कमजोर कडी भारतेली शासक वर्ग हो र टाउको दुःखाइको विषय नेपालीको एकता र स्वस्थ मस्तिष्क हो भन्नेमा पश्चिमाहरू प्रस्ट छन् ।
पश्चिमाहरूले विगतका शताब्दीमा पनि भारत भएरै एसियामा पसेर दोहन गरेका थिए । आज पनि मोदीको काँधमा बन्दुक राखेर चीन र पुटिनतिर निशाना साधिँदै छ । समग्र एसियाको शान, स्वाभिमान, समृद्धि र हितबारे हिजो भीमसेन थापाले आवाज दिएका थिए भने आज केपी ओली नेतृत्वको एमालेले वीर पुर्खाको विरासत रक्षा गर्ने हिम्मत गरेको छ । अशिक्षा, अविकास मात्र नभई कमजोर, अधिकारविहीन र अलगथलग पारिएका जनताका कारण त्यतिबेला सिंगो एसियासँगै नेपालको हार र भीमसेन थापाको पतन टार्न सम्भव भएन ।
आजको जागरुक युगमा पश्चिमाहरूको चलाखी र तिनका साना–ठूला एसियाली चम्चाहरूलाई जनताले साथ दिने छैनन् । यसर्थ जनताको हार र एमालेको पतनको लागि दाहाल–देउवा गुटले आफ्ना विदेशी प्रभुसामु गरेका भाका–कबोल खण्डित हुने निश्चित छ ।
एमालेसँग द्वेष पालेर कांग्रेस आफ्नो स्थापना कालदेखिको लक्ष्यबाट च्युत हुँदैछ । क्रान्तिकारी पिताजी कृष्णप्रसाद कोइरालाको सहादतबाट उत्पन्न शोकलाई शक्तिमा बदल्ने क्रममा उदाएका बीपी र उनका दीर्घकालीन सखा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि तथा भाइहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्कुलिङबाट खारिएको नेपाली कांग्रेसजस्तो परिपक्व दल आज खुलेआम अरूको इशारामा चल्नु विनाशकाले विपरीत बुद्धि हो ।
हजारौं वीर योद्धाको बलिवेदीबाट उठेको माओवादी केन्द्र पनि जागेका जनताको अनादर र अटेर गरी सत्ताकेन्द्रित राजनीतिमा दत्तचित्त भई लागेको छ । संविधान कार्यान्वयन गर्नुपर्ने बेला नशानशामा सुई घोपेर दायित्वच्युत हुनु, सल्टिएका समस्या बल्झाएर चुनावबाट पछि हट्नु आफैं फत्ते गर्न सकिने राष्ट्रिय गौरवका आयोजनाहरू विदेशीलाई थमाएर राष्ट्रिय जीवनचक्र अस्तव्यस्त पार्नु, जातीय द्वन्द्व र क्षेत्रीय असन्तुलनको खेती गरी जागृत जनताको सार्थक हस्ताक्षेपलाई कमजोर पार्नु र जनतालाई विविधताबीच एकताको सही सूत्रमा बाँधिन नदिनु सत्तारुढ दाहाल देउवा गुटलाई हस्तक्षेपको राजनीतिका निर्देशकले दिएको पटकथा हो ।
टीकापुर काण्डको प्रायोजित लाठी र तिलाठी घटनाको स्वतस्फूर्त लाठीको अन्तरले जनाउँछ, मधेसका जमिनदारहरूको कसरत कहाँतिर छ र जागेका जनताको राष्ट्रवाद के हो ? सत्ताको आडमा जागेका जनतालाई उठ्नै नसक्ने गरी थला पार्नु हस्तक्षेपको राजनीतिको पाठ्यक्रम हो । राष्ट्रिय मुद्दाको विषयान्तर गर्न दाहाल–देउवा गुटलाई फगत मोहराका रूपमा थुपारिएको छ ।
जनतालाई कमजारो पार्ने, जनताको एकता भाँड्ने, जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दा विषयान्तर गर्ने र अन्ततः पूर्वीय सभ्यता नष्टभष्ट पार्ने पश्चिमाहरूको शताब्दीऔँदेखिको कार्यसूची हो । एसियाली दोहनमा मोदी प्रशासन सहयोगीका रूपमा लम्पसार परेको बेला दाहाल–देउवा गुट आफ्नो समयको जंगबहादुर हुन् र रक्तहीन कोतपर्वको नाटक दोहोर्याउन तल्लीन छ । जनता सुताउने यो हर्कत कांगे्रस माओवादीको लागि त्यत्तिकै महँगो सावित हुनेछ, जति सुतेको सिंहमाथि उफ्रिने असावधानी एउटा मृगका लागि घातक हुन्छ ।
त्यो छिमेकी असल होइन, जो छिमेकीको सुखमा हाँस्न सक्दैन । चीन, पाकिस्तान र नेपालका संस्थापनसँगको सदावहार दुस्मनी र यो वा त्यो प्रकारका विभीषण प्रवृत्तिसँगको हिमचिम हेर्दा भारतीय विदेश नीति सार विद्वेष नीति नै हो । दिल्लीको दिलमा दलाई लामा, देउवा र दाहालले मात्र ठाउँ पाउने गरेका छन् ।
पञ्चायत लोकतान्त्रिक भएन, एकदलीय भयो भन्ने बहनामा भारतले हैकम र हस्तक्षेप छिपाउन सक्यो । आधुनिक राष्ट्र राज्यको अनिवार्य अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अभ्यासलाई नेपालले आत्मसात गरेको भए पनि भारत माओवादीपछि मधेसवादीको असन्तुष्टिलाई सिरानी हालेर नेपालमा फेरि संवैधानिक शून्यता चाहँदैछ ।
हरेक खलनायकले नायकको आविष्कार गर्छ । कृष्णको उदयको आधार खडा कंशको अत्याचार शृंखलाले गरेको थियो । डडेलधुरे कांग्रेस र कृष्ण केसीहरूलाई उछालेर दाहाल र देउवाले एकअर्काविरुद्ध युद्ध–अपराध गरेको मुद्दा दर्ता गराएको महिना नबित्दै हस्तक्षेपको एउटै जुवामा हलगोरु हुने यो हतारो जनता जिस्काउने हर्कत हो । हामीले जे गर्दा पनि हुन्छ ठान्नु अहंकार मात्र होइन, जनतालाई गरेको अनादर पनि हो । हरेक विकास रचनात्मक हुन्छ भन्ने छैन ।
दुई दसकपछि आज पनि एमाले २०५३ को अवस्थामा उभिएको छ । अहिले एमालेको पक्षमा केपी ओलीलाई यथाशीघ्र प्रधानमन्त्रीमा पुनरागमन चाहने देशभक्त जनमत उछालिएको छ ।
कामिलाको उम्रिएको प्वाँख, फलेको बाँस, ताल फुटेर आएको बाढी, जरायोको निहुँरीको सिङजस्तै नेतामा घमण्डको वृद्धि सर्वनाशको संकेत हो । देउवा–दाहालको यो अहंकारले एमालेको उदय र उत्कर्षको ढोका खोलिदिएको छ । नेपाली कांग्रेस कमजोर नहुनुपर्ने बेला कमजोर र जुम्सो नहुनुपर्ने बेला जुस्सो भइदिँदा र माओवादीले छुरी धस्ता समस्या अवश्य थपिएका छन्, तर यो घेराबन्दीले एमालेका पोल्टामा अवसर पनि थमाइदिएको छ ।
घेराबन्दीमा पार्ने जतिलाई चित खुवाउँदै २०१५ सालको चुनावमा जनता जनार्दनले बीपीको पोल्टामा दुईतिहाइ बहुमत दिएजस्तै राजनीतिक अस्थिरताको जरो उखेल्दै जनमतले ढिलो–चाँडो ओली र एमालेलाई न्याय गर्ने संकेत देखिएको छ ।
अघिल्लो चुनावमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने दूरदर्शिता र गुणग्राहिता देखाउनुपथ्र्यो । राजनाथ तेज हुनुको लाभ मोदी र भाजपाको पोल्टामा पर्यो, तर झलनाथ जुम्सो र पूर्वाग्रही हुनुको मार ओली र एमालेले भोग्नुपर्यो । नत्र एमाले २०७० को चुनावमा सबैभन्दा ठूलो दल हुन सक्थ्यो । अझ पनि समस्या जनमत र जनसमुदायमा नभई एमालेमै छन् ।
२०५२ सालमा मनमोहन अधिकारी सरकारबाट बाहिरिएपछि मात्र केही बिग्रिएको थिएन । गल्ती एमालेले कहाँनेर गर्यो भने उसले आफ्नो आन्तरिक रथ गुडाउँदा यथाशीघ्र मनमोहन अधिकारीको पुनरागमन चाहने जनमतलाई केन्द्रमा राख्न सकेन । मदन भण्डारीको राप र तापले गर्दा पाएको सफलतालाई अन्य सहकर्मीहरूले थेग्न सकेनन् । व्यक्ति स्वार्थ, गुटस्वार्थ र समीकरणको लक्ष्य अन्यत्रै मोडियो । दुई दसकपछि आज पनि एमाले २०५३ को अवस्थामा उभिएको छ ।
अहिले एमालेको पक्षमा केपी ओलीलाई यथाशीघ्र प्रधानमन्त्रीमा पुनरागमन चाहने देशभक्त जनमत उछालिएको छ । मूल मुद्दालाई विषयान्तर गर्ने चाहना राख्ने जतिलाई बोल माछा मुखभरि पानी गर्न सक्ने चेत र ल्याकत एमाले कार्यकर्ताको अदालतसँग छ । यति हुँदाहुँदै पनि एमाले सर्प पालेर अजिंगर पल्टिएका पात्र र प्रवृत्तिको कष्टसाध्य पर्दा बोझबाट पूर्णरूपमा मुक्त छैन । २०५४ को जस्तो भूकम्प नै नआए पनि आन्तरिक जीवनमा पराकम्पको खतरा नकार्न सकिँदैन ।
माओको भनाइ छ, होसियारी नै नोक्सानीको बाघ हो । जागेका जनताको सम्मान गर्न र षड्यन्त्र चिर्न एमालेले विगतबाट पाठ सिकेर एकताबद्ध पहल गर्नुपर्छ । किनकि अभिनय क्षेत्रमा रूप प्रमुख हुन्छ भने राजनीतिमा दौडधूप निर्णायक हुन्छ ।