तीजगीतमा पुरुष आवाज

तीजगीतमा पुरुष आवाज

सामाजिक सञ्जालमा रातो पहिरनमा सजिनेको संख्या ह्वात्तै बढ्दैछ । सबैलाई तीजले छपक्कै छोइसकेको छ । टोलछिमेक वरपर तीजगीत घन्किन थालिसके । फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा तीजगीत सेयर गर्नेको तँछाडमछाड चल्दैछ ।

त्यतिमात्रै हैन, तीजगीतमा महिलाको एकाधिकार तोडिँदैछ । प्रत्येक वर्ष तीजगीत गाउने पुरुषको संख्या थपिँदैछ । अचेल त पुरुष गायक नै भन्दैछन्, महिलाले मात्रै गाएको गीतमा धेरै नै विकृति देखिए । तीजमा महिलाले मात्रै गाउनुपर्ने भन्ने छैन । चाडबाड एकलौटी हुँदैन । संस्कार सिकाउने, संस्कृति झल्काउने गीत जसले गाए पनि हुन्छ । प्रस्तुत छ, तीजगीतका पुरुष गायकबारे विवरणः

'तीजगीतले छोरी पढाउने नीति बनायो'
प्रजापति पराजुली

२०३८ सालदेखि तीजको गीत गाउँदै आएका छन् गायक प्रजापति पराजुलीले । पोखराका स्थायी बासिन्दा ५४ वर्षीय यी गायक आफूलाई तीजगीतका पहिलो पुरुष गायक दाबी गर्छन् । पराजुलीले २०४३ सालमा पोखरामा आफैंले तीजगीत प्रतियोगिता गराएका थिए । त्यति बेला महिलाहरू गीत गाउन आएको तर नन्द, आमाजू, सासू, श्रीमान् आदिले दुःख दिएको वेदना पोखेको उनको अनुभव छ । तर, महिला दिदीबहिनीलाई जमाना फेरियो अब हकअधिकारका गीत गाउनुपर्छ भनेर हौस्याएको सम्झन्छन् । त्यसपछि उनले तीजगीत संग्रह 'वेदनाको पोको' भाग १ देखि १२ सम्म निकाले । तिनमा बत्तीसवटा तीजगीत छन् ।

उनी भन्छन्, 'मेरो गीत सुनेर सरकारले २०४९ सालमा छोरी पढाउने नीति बनाएको थियो । मेरा गीतहरू सन्देशमूलक थिए ।' अहिलेका गायकगायिकाले अरूको शब्द चोरेर गीत बनाउने, एउटै विषयमा धेरैले गीत बनाउने गरेको उनको गुनासो छ ।

उनको विचारमा तीजगीतमा हकअधिकारको माग र चेतना प्रवाह गर्ने शक्ति हुनुपर्छ । भन्छन्, 'मैले उद्यम गर्न सिकाएको, आफ्नो कमाइमा रमाउन सिकाएको गीत निकालेको छु । २०५५ सालदेखि ६४ सम्म एकलौटीजस्तै तीजगीतको साम्राज्य गरेँ । मेरा गीत हरिदेवी कोइरालादेखि थुप्रैले गाएका छन् । चाड भनेको तेरोमेरो भन्नु हुँदैन, यसमा संस्कार सिकाउने हो, जसले गाए पनि हुन्छ ।'

'छाडापन देखाएर हिट हुनेको आयु कम हुन्छ'
प्रकाश सपूत

भिन्न शैलीका तीजगीत गाएका छन् गायक प्रकाश सपूतले । बागलुङका प्रकाशले आफैंले रचना गरेको चारवटा तीजगीतमा स्वर र संगीत दिएका छन् । एक दर्जन भिडियोमा अभिनय गरिसकेका छन् । भन्छन्, 'पहिलाका तीजगीतमा खालि महिला दास भएको शोषित भएका सुनिन्थ्यो । तर, अहिले महिलाको समावेशीकरण र सक्षमता बज्न थालेका छन् ।'

गीतले समाज परिवर्तन पनि गर्ने उनको मान्यता छ । तर, केही गायकगायिकाले तीजगीतमा विकृति ल्याएको उनको गुनासो छ । छिटो चर्चामा आउन चाहनेले विकृति ल्याएको उनको ठम्याइ छ । भन्छन्, 'कहिल्यै गीत नगाउनेले पनि तीजमा एउटा गाइहालौं न भन्ने मानसिकता राख्छन् । प्रत्येक तीजमा आठदेखि नौ सयवटा तीजगीत रेकर्ड हुने रहेछन् । तीजगीत निकालेर युट्युबमा राख्ने चलन बढेको छ । दर्शकको ध्यान तान्न छाडा भिडियो लिंक राखिन्छ । छाडापन देखाएर रातारात हिट बन्नेकोे सांगीतिक आयु कम हुन्छ ।'

आपत्तिजनक तीजगीत
कुशाल बेलबासे

अर्का गायक कुशाल बेलबासे पनि अहिलेका गायकगायिकाले तीजगीतमा विकृति ल्याएको धारणा राख्छन् । दर्शकको संख्या बढाउन र चर्चामा आउन आफ्नै धरातल बिर्संदै गएको उनको टिप्पणी छ । भन्छन्, 'तीजको गीत परिवारसँग बसेर हेर्दा लाज मान्नुपर्ने खालको नहोस् । चर्चा कमाउनेभन्दा समाजमा पच्ने खालको गाउनुपर्छ । हाम्रो परम्परागत नेपाली संस्कृति झल्काउने, संस्कार सिकाउने खालको गीत गाउनुपर्छ ।'

आफ्ना गीतमा यस्तो विकृति नभएको र आफू चर्चामा आउन लालायित नभएको उनको दाबी छ । बेलबासे तीजको गीत महिला वा पुरुष जसले गाए पनि हुने तर राम्रो सन्देशमूलक हुनुपर्ने विश्वास राख्छन् ।

पहिलो प्रयास

सुमनसागरजंग केसी

पहिलोपटक तीजगीत लिएर आएका सुमनसागरजंग केसीको अनुभवले पनि तीजगीतमा विकृति बढेको महसुस गरेको छ । केही पहिलेमात्रै 'मिर्मी जालैमा' नामक गीत बजारमा ल्याएका केसी तीजगीतमा विकृति बढेकैले तीजको मौलिकता जोगाउन आफूले गाउन बाध्य भएको बताउँछन् । उनको गीतमा पश्चिमा रट्टै, चट्टैजस्ता थेगोको प्रयोग बढी हुन्छ ।

भन्छन्, 'गीत भनेको शिष्ट, सभ्य र सांस्कृतिक महत्त्व बोकेको हुनुपर्छ । 'यो तीजमा रट्टै भाइ आएमा चट्टै, माइत जाने मन छ मिर्मी जालैमा', यो गीत आफैं संस्कृति सिकाउने खालको भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.