तीजमा होस गरेर दर खाउँ

तीजमा होस गरेर दर  खाउँ

काठमाडौं: अचेल तीज निकै भड्किलो बन्दैछ । तीज मनाउने शैलीमा परिवर्तन आउँदा महिला आफ्नो स्वास्थ्य कमजोर बनाउँदै छन् । नयाँनयाँ रोगको सिकारसमेत उनीहरू नै हुँदैछन् । विशेषगरी सहरिया महिलालाई तीज आउनु महिनौं दिनअगावै दर खाने भन्दै पार्टी प्यालेस र रेस्टुराँमा धाउने गरेको पाइन्छ ।

दरको बहानामा अत्यधिक प्रोटिनयुक्त खाना खाने उनीहरूको चलन छ । पहिले तीजका बेला महिलाले स्वास्थ्यलाई फाइदा गर्ने खाने कुरा छानीछानी खान्थे । तीजकै लागि भनेर त्यस्ता खानेकुरा लामो समयदेखि साँचेर पनि राख्थे । सकेसम्म आफंै उब्जाउँथे । त्यो चलन आधुनिक महिलाको नाममा विस्तापित भएको छ ।

पहिले तीजको अघिल्लो दिन दिदीबहिनी र आफन्तको जमघटमा शुद्ध तेल वा घिउमा शाकाहारी खाना तयार पारेर खाने चलन थियो । चिल्लो र कार्वोहाड्रेडजन्य खानासँग अमिलो, पिरो खानेकुरा पनि सँगै खाइन्थ्यो जसले महिलालाई भोलिपल्टका लागि समेत ऊर्जा वा शक्ति प्रदान गथ्र्यो ।

हिजोआज तीजको दरको नाममा बनाइने चिल्लो र कार्वोहाड्रेडजन्य खानासँगै अत्यधिक प्रोटिनयुक्त खानासँगै सकिनसकी खाइन्छ जसले क्यालोरी बेसी हुन्छ । त्यो पनि महिनौं दिनसम्म र दिनौंजसो खाने चलन छ । रमझमको नाममा एक दिन खाए के होला भन्दै दीर्घरोगबाट ग्रस्त महिला पनि त्यस्तो खाना खान तम्सिएको पाइन्छ ।

'तीज मनाउने शैलीमा हिजोआज ह्वात्तै परिवर्तन आएको छ । महिनैभरि खाने अत्यधिक प्रोटिनयुक्त खानाले महिलाको स्वास्थ्यमा असर पुग्न थालेको छ । स्वास्थ्यलाई असर पार्ने खालको छ', वीर अस्पतालकी डायटिसियन जागेश्वरी गौतम भन्छिन्, 'यस्तै चलन कायम भए धेरै महिला दीर्घरोगी बन्ने छन् । अन्ततः उनीहरूले दुःख पाउने गरेका छन् ।'

पहिलेपहिले तीजको अघिल्लो दिन मीठो चोखो बनाएर खाइन्थ्यो र त्यो जरुरी पनि थियो । किनकि भोलिपल्ट प्रायः महिला व्रत बस्ने गर्थे । व्रतका बेला अघिल्लो दिन खाएको खानाको ऊर्जाले नै शरीर धान्थ्यो । महिला पसिना चुहिने गरी नाचगान गर्न सक्थे ।

अहिले एकदमै सम्पन्न, आरामदायी जीवन बाँचिरहेका महिला गाडीबाट ओर्लिएर पार्टी प्यालेस वा होटेलमा जाने र अलिअलि नाचेजस्तो गर्र्दै टन्न अत्यधिक प्रोटिनयुक्त खाना खाने चलन छ । कोल्ड ड्रिक र अल्कोहलले झनै उनीहरूको स्वास्थ्यलाई खस्काएको छ । शारीरिक व्यायामबिना खाइने यस्ता खानाले महिलालाई ठूलो जोखिममा पारेको छ ।

बिनापरि श्रम अत्या.धिक प्रोट्रिनयुक्त खानाले महिलामा मोटोपनको सिकार र कब्जियतको समस्या भोगिरहेका छन् । तीजका नाममा महिला मधुमेह, मिर्गौला, थाइरोइड, उच्च रक्तचाप, क्यान्सर, कलेजोलगायतको रोगको सिकार हुन थालेका छन् । गौतम भन्छिन्, 'त्यस्तो खाना खाएपछि बढी परि श्रमयुक्त काम वा शारीरिक व्यायाम गर्नुपथ्र्यो, त्यो पटक्कै छैन । पहिले महिला आफैं गीत गाएर, बाजा बजाएर र छमछमी नाच्ने गर्थे, अचेल त्यसो गर्दैनन् ।'

शारीरिक परि श्रम नगर्ने हुँदा त्यो सबै शरीरमा बोसोको रूपमा जम्मा भइरहन्छ र त्यसले अनेक किसिमका रोग निम्ताउने वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । उनका अनुसार बढी चिल्लो र प्रोटिनयुक्त खानाले उनीहरू मुटुरोगको सिकारसमेत बन्न थालेका छन् । यस्ता खानाले अक्सिजनसँग प्रतिक्रिया गर्ने र विषालु तत्त्व फ्रि रेडिकल्सको रूपमा परिणत भई निस्कन खोज्दा छालामा ससाना बिमिरा आउने, चिल्लोपना बढी हुने र अनुहारमा ठूल्ठूला डन्डिफोर आउने गर्छन् ।

पहिलेपहिले तीजमा माछामासु खाने चलन थिएन । ज्वानो, मेथी, ल्वाङ, सुकमेल, जाइफल, मेथी, सुनकाउली, काजु, किसमिस, नरिवल हालेर बनाएको चाम्रेभात खाइन्थ्यो । लाभदायी प्रोटिन भएको आलस, तिलसहितको काँक्रोको ताजा अचार, सलाद, दही, केरा र स्याउलाई प्राथमिकता दिने चलन थियो । टुसा उमारेर क्वाटी खाने चलन थियो । जसले शारीरिक र मानसिक विकास दुवैमा सहयोग पुर्‌याउने गथ्र्यो । त्यसले मासुमा पाइने तत्त्वसमेत शरीरलाई पूर्ति हुन्थ्यो ।

साथमा भिटामिन ए पाइने ताजा घिउ खाने गरिन्थ्यो । अहिले प्रयोग गरिने तेल पनि स्वास्थ्यका लागि हानिकारक छ । होटेल वा रेस्टुरेन्टमा पटकपटक तताएर नष्ट पारिएको तेलमा पकाएको खाना खाइन्छ । त्यस्ता खानामा विषालु तत्त्वहरू हुन्छ । त्यसले मधुमेहका बिरामीलाई त थला नै पार्छ । डा. गौतम भन्छिन, 'अहिलेका खानेकुरा प्रशोधित छन् । पहिलेपहिले सकेसम्म ढिकीजाँतो र ओखलमा कुटेको चामल, पिठो खाइन्थ्यो । त्यसमा भिटामिन ए पाइन्थ्यो जसबाट महिलाको शरीर मजबुद हुन्थ्यो । मोटाउने सम्भावना कम र शक्ति धेरै मिल्ने गथ्र्यो ।'

जनस्वास्थ्यविद् डा. अरुण उप्रेतीका अनुसार प्रकृतिक पोषण शून्य भएका र बढी क्यालोरी भएका खानाले नै महिलालाई निकै कमजोर बनाएको छ । उनीहरू उकालो हिँड्न सक्छन् न त लामो समय काम गर्न सक्छन् । जसबाट मधुमेह उब्जाउने सम्भावना प्रबल हुन्छ । कब्जियत र मोटोपन हुने महिलालाई पेटको समस्या हुने गर्छ ।

अल्सर र क्यान्सर हुने जोखिम धेरै हुन्छ । तीजका नाममा खाने खानाले महिलाको यौनांगमा संक्रमण र जलनको समस्या बढिरहेको छ । खतरनाक केमिकले भरिएको र एसिडले भरिभराउ कोल्ड ड्रिंग, बन्द बट्टामा लामो समयदेखि संरक्षण गरिएको जुसले महिलाको स्वास्थ्य नाजुक बनाइरहेको छ ।

तीजको व्रतको भोलिपल्ट आइरन पाइने कर्कलो, तामा, कुरिलो, निउरोलगायत तरकारी खाने चलन थियो । मासुको परिकार खाइहाले पनि पनि घाउँघरमा घाँसमात्रै खुवाएर हुर्काएका खसी प्रयोग गर्ने चलन थियो । तर अहिले त्यस्तो छैन । अचेल केमिकल हालेर संरक्षण गरिएको खाना खुवाएर हुर्काएका रोगी पशुपंक्षी प्रयोग गरिन्छ ।

तीजका बेला प्रयोग गरिने र सबैभन्दा महत्त्वपूर्ण मानिने दूधदही पनि शुद्ध छैन । महिलाको रमझमका नाममा पाए जति जहाँ पनि जे पनि खाने चलनले महिलाको छाला पनि बिग्रन थालेको छ । होटेलमा आयोजना गरिने तीजको दर खाने कार्यक्रममा सुरुमै कोकाकोला, फ्यान्टा, फ्रुटी खाइन्छ । कतिपय तीजको दरमा त वाइन अथवा बियर खुवाउने र खाने चलन बढेको छ । जसले पाचनप्रणालीलाई हानि पुर्‌याउँछ ।

भड्किलो तीजले नेपाली संस्कृतिमाथि प्रहार भइरहेका बेला महिलाको स्वास्थ्य पनि संकटमा परेको छ । खानाको काम शारीरिकसँगै मानसिक र भावनात्मक रूपमा पनि स्वस्थ बनाउनु भएको विज्ञहरू बताउँछन् । घरमै दिदीबहिनी जम्मा भएर सुखदुःखका अनुभव वा भावनाहरू गीतमार्फत व्यक्त गर्दै नाच्दै मीठो र शुद्धखाना खाने गरिएको तीजले महिलाको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य बलियो बनाउँछ ।

शिक्षण अस्पतालकी ग्यास्ट्रोलोजी विभागकी उपप्राध्यापक डा. विन्देश्वरी काफ्ले भण्डारीका अनुसार तीजको दर एकदुई दिन खायो भने पनि प्रशस्त हुन्छ । तर त्यो खाना कतिको स्वस्थ र पौष्टिक छ त्यसमा विचार गर्नुपर्छ । उनका अनुसार दरका नाममा एक दिन भए पनि जथाभावी चिल्लो, पिरो, मसलेदार खानु स्वास्थ्यका लागि घातक बन्न सक्छ । त्यस्ता खानाले महिलालाई झाडापखालन हुने, वाकवाकी लाग्ने, पेट दुख्ने वा फुड प्वाइजिनिङ हुन सक्छ ।

नेपाल र नेपालीका लागि महत्त्व राख्ने तीजमा विकृति ल्याउने काम महिला आफैंले गरेका छन् । एकातिर आफ्नो मौलिक संस्कृतिमा परिवर्तन ल्याउनु अनि अर्कोतिर महिलाको स्वास्थ्य पनि खस्किनु चुनौतीपूर्ण हो । आज फलानो साथीको निम्तो छ भन्यो ऋण नै गरेर भए पनि किनेको गरगहना लगाएर पार्टीमा गएर रातभरि खानेपिउने चलनले पारिवारिक र सामाजिक समस्यासमेत जन्माएको छ ।

रोग र व्रत

मधुमेह भएका बिरामीले निराहार व्रत बस्नु राम्रो हुँदैन । चिकित्सकका अनुसार यस्ता बिरामीले व्रत बस्दा रगतमा चिनीको मात्र कम हुन जान्छ । अचानक शरीर शिथिल र कजमोर बन्न सक्छ । इन्सुलिन लिइरहेका बिरामीले त कुनै पनि हालतमा व्रत नबस्न चिकित्सकले सुझाएका छन् । मधुरोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार यस्तो बेला व्रत बस्दा रगतमा सुगरको मात्र कम हुन गई हाइपोग्लासिमिया हुन सक्छ ।

मिर्गौलाका बिरामीले पनि खाली पेट बस्न हुँदैन । पानीको मात्रा कमी भई शरीर झन् कमजोर बन्न जान्छ । थाइरोइड भएकाले त व्रतको नामसमेत नलिन कतिपय चिकित्सक सुझाउँछन् । यस्ता बिरामीले दुईतीन घन्टाको फरकमा फलफूल, जुस, पानी र झोलिलो खानुपर्छ । उच्च रक्तचाप वा कम भएका महिलाले पनि व्रत बस्न नहुने उनीहरूको भनाइ छ ।

निराहार व्रत बस्दा उनीहरूलाई तत्कालै रिगांटा लाग्ने समस्या निम्तिन सक्छ । औषधि सेवन गरिरेहका क्यान्सरका बिरामी व्रतबाट टाढै रहन क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरे बताउँछिन् । उनीहरूलाई दिनकै पौष्टिक तत्त्व भएका खान आवश्यक भएको उनको सुझाव छ । वृद्ध उमेरका र लामो समय बिरामी परेकाहरूले पनि खाली पेट बस्न हुन्न ।

गर्भवती महिला र बालबालिका लागि पनि व्रत उपयुक्त हुँदैन । प्रतिरोधात्मक शक्ति बलियो भएका महिलाले मात्र व्रत लिन हुन्छ । अनि तीजका दिन पानी पनि नपिएर व्रत बस्नु भने घातक हो । भोकै बस्ने रहर हो भने ताजा फलफूलको जुस, दूध दहीलगायत खानेकुरा सकिन्छ । यसरी व्रतसँगै तीजलाई रमाइलो बनाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.