फेरिँदैछ तीजको संस्कार

फेरिँदैछ तीजको संस्कार

समयसँगै हरेक चाडबाड मनाउने तरिका पनि फेरिँदै जान्छ । प्रविधि, सञ्चार र जीवनशैलीमा भइरहेको विकासले चाडबाड मनाउने तरिकामा पनि फरक ल्याउँछ । तीज मनाउने तरिका पनि फेरिँदो छ । हिजोजस्तो छैन आजको तीज । फेरिँदो उत्पादन पद्धति, बढ्दो क्रय क्षमता र फराकिलो हुँदै गएको बजारले तीज मनाउने तरिकामा परिवर्तन ल्याएको छ । कसरी फेरिँदैछ त तीज मनाउने तरिका ?

शिक्षिका मञ्जु सिग्देलको अनुभवमा तीजमा तडकभडक बढेको छ । लुगा, गहना देखाउने चाड बनेको छ तीज । भन्छिन्, 'फुर्सदिला महिलाका लागि गहना देखाउने चाड बनेको छ ।' उनको अनुभवमा तीज मनाउने चलनमा आएको यो देखावटीपनले कामकाजी महिलालाई गाह्रो बनाएको छ । महिन दिन अघिबाट नै सुरु हुने दर खुवाउने कार्यक्रमले कामकाजी महिलालाई अप्ठेरोमा पारेको अनुभव छ उनको ।

तर नेपाल अपांग महिला संघकी लक्ष्मी न्यौपाने भने लामो समयदेखि मनाउने प्रचलन गलत भए पनि पारिवारिक भेटघाट तथा साथीहरूसँगको जमघट गराउने अवसरका रूपमा लिनुपर्ने बताउँछिन् । 'पुस्तौंदेखिको संस्कृतिको निरन्तरता र नयाँ पुस्तालाई हस्तान्तरण गर्न पनि तीज मनाउनुपर्छ', न्यौपानेको मत छ ।

लेखिका हरिमाया भेटवाल भने तीज मनाउने प्रचलनमै समस्या देख्छिन् । उनको विचारमा तीज अहिले सम्भ्रान्त वर्गले शान, सौकत प्रदर्शन गर्ने चाड बनेको छ । तर, यसको पौराणिकतामै महिलालाई कमजोर बनाइएकाले मनाइरहनुपर्ने आवश्यकता छैन । 'मनाउने मन हुनेहरूले सामान्य रूपमा मनाउनु ठीकै हो', भेटवाल भन्छिन्, 'तर व्रत बस्ने, गहना प्रदर्शन गर्ने चलनले महिलालाई नै कमजोर बनाउँछ ।'

मानवशास्त्री सुरेश ढकाल भने अलि फरक विचार राख्छन् । ढकालका अनुसार कुनै पनि चाडपर्वलाई नयाँ सन्दर्भअनुसार परिवर्तन गर्न नसके हराएर जान्छ । उनी गठेमंगल चाडको उदाहरण दिन्छन् । ढकालका अनुसार तीजमा दुईवटा आयाममा परिवर्तन आइरहेको छ- बजार र महिला संलग्नता । बजारीकरणले तीजलाई भड्किलो बनाएको छ भने महिलालाई फराकिलो बनाउने चाडका रूपमा पनि तीज विकसित भइरहेछ । 'तीजलाई महिलाले सामाजिक वृत्त फराकिलो बनाउने चाडका रूपमा विकसित गरिरहेका छन् । तीजकै बहानामा पनि महिलाहरूको भेटघाट, सामाजिक सम्पर्क र संवाद बढिरहेको छ', ढकाल तर्क गर्छन् ।

समीक्षक अर्चना थापा भने तीज मनाउने धार्मिक पद्धति कमजोर भएर आधुनिक तरिका बढिरहेको टिप्पणी गर्छिन् । तर, यो आफंैमा अन्तरविरोधी भएको उनको मत छ । 'एकातिर आधुनिक तरिकाले तीज मनाउने चलन बढ्दो छ भने अर्कातिर पशुपतिमा भोकभोकै लाइन लाग्नेको पंक्ति पनि उत्तिकै लामो छ', थापाको मत छ । घरानियाँ महिलाका लागि केही दिनका निम्ति खुलापन देखिए पनि यसमा भएको धार्मिक जडता अमान्य रहेको उनी जिकिर गर्छिन् । 'महिलाको परिधि बढेको भने पनि त्यो एलिट महिलाका निम्तिमात्रै भएको छ', थापाको मत छ ।

स्तम्भकार रामेश्वरी पन्तको भने तीजको मौलिकता हराउँदै गएकोमा गुनासो छ । उनी पनि महिलाको सामाजिक उपस्थिति बढेजस्तो देखिए पनि त्यो सीमित वर्गलाई मात्र भएको तर्क गर्छिन् । उनको गुनासो छ, 'तीजमा पहिलेजस्तो आत्मीयता पाइँदैन । मौलिकता हराउँदै गएको तीज खाने, पिउने चाडजस्तो भएको छ ।' तीजलाई बजारले नियन्त्रित र निर्देशित गरेको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.