कलाकारले कसरी मनाउँदैछन् यसपालिको तीज

कलाकारले कसरी मनाउँदैछन् यसपालिको तीज

हाम्रो समाजमा नारीहरूले महत्त्वपूर्ण पर्वका रूपमा तीजलाई मनाउने गरेका छन् । तीजको आफ्नै खालको धार्मिक र पौराणिक महत्त्व छ । हिन्दु ग्रन्थमा उल्लेख भएअनुसार राजा हिमालयले छोरी पार्वतीलाई भगवान् विष्णुसँग विवाह गरिदिने निर्णय गरे ।

उक्त निर्णय मन नपरेपछि पार्वतीले आफूलाई मन परेको वर पाउँ भनी भगवान् शिवको तपस्या गरिन् । सय वर्ष कठोर तपस्या गर्दा पनि मनले चिताएको नभएपछि उनले शिवलिंग स्थापना गरेर पानीसमेत मुखमा नहाली निराहार व्रत गरिन । कठोर व्रतबाट शिवजी प्रकट भएर 'चिताएको पुगो' भन्दै भाद्र शुक्ल तृतीयाका दिन आशीर्वाद दिएपछि शिव र पार्वतीको विवाह भएको पौराणिक विश्वास छ । त्यही दिनलाई हिन्दु नारीहरूले योग्य वर पाउन र आफ्ना श्रीमान्‌को दीर्घायुको लागि पर्वका रूपमा तीज मनाउँदै आएको पौराणिक मान्यता छ ।

हिन्दु नारीको महत्त्वपूर्ण पर्व तीजका दिन उनीहरू अहिले पनि निराहार व्रत बस्ने र श्रीमान्को दीर्घायुका लागि कामना गर्ने गर्दछन् । अविवाहिताहरू आफ्नो मनले चिताएको वर पाउँ भन्ने कामना गर्दछन् । तीज पर्वको महत्त्व विशेषगरी माइती र चेलीसँग जोडिएको छ । वर्ष दिनभरि श्रीमान्‌को घरमा बिताउने छोरी, बहिनीहरू वर्षको एक पटक माइतीमा फर्किएर मीठो मसिनो खाने, सुख, दुःख साट्ने अवसरका रूपमा समेत लिइन्छ । जन्मघरमा पुगेर छोरीचेलीले खानपान, नाचगानसँगै वर्षदिनभरिका दुःखकष्टलाई माझेर पुनर्ताजगी हुने महिला दिदीबहिनीको अनुभव छ ।

समयक्रमसँगै हरेक थोक परिवर्तन भएका छन् । हप्तौं लगाएर माइतीका घरमा पुग्नुपर्ने बाटो सवारीसाधनले छोटो भएको छ । चिठीपत्रमा समेत भावना पोख्न नपाउने छोरीचेली अचेल फोन, मोबाइल, फेसबुक, इमेल, ट्विटर आदिसँग जोडिएका छन् । क्षणभरको खबर क्षणमै प्रसारित गर्ने जमानाको सुरुवात भएको छ । मनका कुरा साट्ने माध्यमजस्तै खानपान, लवाइ र संस्कारमा पनि परिवर्तन आएको छ । अब तीज पनि 'रिमिक्स' र 'ककटेल' बनेको छ । केही प्रतिनिधि पात्रको बुझाइमा तीजः

संस्कृति जोगाउनुपर्छ/केकी अधिकारी, नायिका

तीज आम नेपाली महिलाको साझा पर्वजस्तै भएको छ । सबैले साझा पर्व सम्झन्छन् । यो तीजको बलियो पक्ष हो । हिन्दुमात्रैको तीज भन्ने अब रहेन । तर तीज संस्कार केही फरिएको छ । हामीले हाम्रो कल्चरलाई पुस्तान्तरण गर्नुपर्ने हो, त्यो कतै भइरहेको छैन कि जस्तो भान हुन्छ ।

तीजको नाममा महिना दिन अघिदेखि तडकभडक गर्ने, बाहिरी कल्चरलाई ल्याएर घुसाउने, कमाउनेले पनि यही मौकामा कमाउन खोज्ने प्रवृत्ति देखिन्छ । यो राम्रो होइन । हामीले हाम्रो संस्कारलाई सक्दो सुधारेर जस्ताको त्यस्तै आउँदो पुस्तामा हस्तान्तरण गर्नुपर्ने हो । त्यसो गर्न सकिएन भने संस्कार, पर्व, प्रचलनहरूको अर्थ रहँदैन ।

बेसी नै गरेजस्तो लाग्छ/रुवी राणा, प्रथम मिस नेपाल

हिन्दु नारीले श्रीमान्लाई देउता सरह ठान्छन् । जो जीवनको खम्बाका रूपमा रहेको हुन्छ, ऊ भगवान् पनि हो । हामी श्रीमान्‌लार्इ महादेवकै रूपमा पुज्छौं । यो हाम्रो हिन्दु संस्कार पनि हो । हिन्दु नारी भएपछि हिन्दु संस्कार मान्नु पनि पर्छ । पुराणका गाथालाई कायम राख्न पनि यो आवश्यक छ । तर एक दिनमात्रै कसैले कसैको पूजा गरेर राम्रो हुन्छ जस्तो लाग्दैन ।श्रीमान्‌ले पनि देवीका रूपमा नारीलाई सधैं उच्च सम्मान र इज्जत दिनुपर्छ ।

आफ्नो स्तरअनुसारको इज्जत, सम्मान र माया एकले अर्कालाई गर्न सक्नुपर्छ । दिनभरि श्रीमाती निराहार व्रत बस्ने साँझ श्रीमान् टिल्ल पिएर कुट्न आयो भने तीजको कुनै अर्थ रहेन । नारीहरूले पनि तीजको नाममा तडक, भडक र अति गर्नु हुन्न । श्रीमान्‌हरु पनि पीडित हुन्छन् । जे होस् वर्ष दिनमा एक दिन माइती, आफन्त, दिदीबहिनीका बीच दुःख सुख साट्ने अवसर तीजले दिन्छ । यो सकारात्मक पक्ष हो ।

हुने खानेकै हो कि जस्तो/मौसमी गुरुङ, गायिका

नेपाली नारीहरूले तीजलाई श्रीमान्‌को लामो आयु, सुखद जीवनको कामनाका लागि मनाउने गरेका छन् । यो परापूर्वकालदेखि चल्दै आएको परम्परा हो । भारतमा पनि हिन्दु नारीले 'करवा चौथ' जस्तो कठोर व्रत गरेर श्रीमान्‌को दीर्घायुको कामना गर्छन् । अविवाहितले राम्रो पतिको कामना गर्दै यो व्रत गर्छन् । तर पछिल्लो समय आधुनिकताका नाममा तीजलाई पनि रिमिक्स बनाइएको छ ।

एकातिर परम्परागत र अर्कोतिर आधुनिकताको बीचमा कतै संघर्ष हो कि जस्तो देखिन्छ । लवाइमा सम्भ्रान्त देखिनुपर्ने, खवाइमा आधुनिकता अपनाउनुपर्ने सोचले यो कतै सहरिया र सम्भ्रान्त वर्गको पर्वमात्रै त होइन भन्ने हुन थालेको छ । मौलिकता र परम्परालाई ख्याल गर्न सक्यो भने तीजको सामाजिक, धार्मिक र पारिवारिक महत्त्व उच्च छ ।

होडबाजी धेरै/शोभा त्रिपाठी, गायिका,मोडेल

नेपाली महिलाका लागि तीजको विशेष महत्त्व छ । पहिलापहिला कामबाट छुटकारा मिल्ने, आफन्त भेट हुने, वर्षभरिको दुःख साँटन् पाइने पर्वका रूपमा तीज मनाइन्थ्यो । अहिले भने तीजलाई महिना दिनसम्म भोजभतेर गरेर मोजमस्ती गर्ने पर्वको रूपमा रूपान्तरण गरिँदैछ ।

गीतमा पनि वर्षदिनभरि एउटा पनि गीत नगाउनेले पनि तीजको अवसरमा उत्तेजक र भड्किलो गीत गाएर चर्चामा आउन खोजिए झैं लाग्छ । कतिपय गीतसंगीतहरू सन्देशमूलक पनि छन् । जसले समाजका पीडा, व्यथा र सन्देश बोकेको हुन्छ । त्यस्ता विषयहरू छुट्याइदिने काम सञ्चारमाध्यमकै हो ।

संस्कारको पालना गर्छु/नीरु खड्का, हास्य कलाकार

तीजको पौराणिक र धार्मिक मान्यता त श्रीमान्‌कै दीर्घायुका लागि नारीले निराहार व्रत गर्ने पर्व हो । अवसर हो । सधैं आफ्नै काममा व्यस्त रहने नारीका लागि यो श्रीमान्, परिवारका लागि कामना गर्ने र आफू पनि हल्का हुने दिन हो । अचेल व्रत बस्ने कुरा बहानामात्रै बनेजस्तो लाग्छ । तीजको व्रतभन्दा दरमा अलि बढी जोड देखिन्छ । तीज श्रीमान्‌को भावना बुझ्ने, आफ्नो सदीक्षा बुझाउने दिन भए पनि यो भड्किलो बन्दै गएको जस्तो देखिन्छ ।

मैले ६ वर्षदेखि निरन्तर श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेकी छु । म हिन्दु नारी भएकीले हिन्दु संस्कारको पालना गरेकी हुँ । संस्कार मिचेर परिवर्तन हुँदैन । त्यसका लागि अरू माध्यमबाट परिवर्तन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

डिस्को तीज/नमुना थापा, मोडेल

हिन्दु नारीका लागि तीजको विशेष महत्त्व छ । यस दिन श्रीमान्‌को दीर्घायुका लागि व्रत बसेर कामना गरिन्छ । नेपाली परम्परादेखि चल्दै आएको यो पर्वमा महिलाहरू एकै ठाउँमा जमा भएर नाचगान गर्छन्, रातो लाउँछन्, मनका सुख,दुःख साटासाट गर्छन् । यसले सामाजिक भावना, परस्पर सहयोग र सद्भाव बढाउँछ ।

तर पछिल्लो समय तीजलाई देखासिकीको पर्व बनाउन लागिएको छ । महँगा सारी, मोटामोटा सुनका गहना, रंगीबिरंगी चराको प्रदर्शनको पर्व जस्तो तीज बनेको छ । पहिला सात्विक भोजन गरेर दोस्रो दिन व्रत गर्ने चलन अहिले महिनाभरि भोजभतेर गर्ने, वाइन खाने, डिस्को जाने गर्छन् । यो हाम्रो पौराणिक मौलिक संस्कार होइन ।

तीजले संस्कार पस्कनुपर्छ/सिर्जना खनाल, राजनीतिज्ञ

तीजको पौराणिक महत्त्व छ । यसले हिन्दु नारीलाई संस्कार र आफ्नो संस्कृतिको पाठ पस्कन खोजेको देखिन्छ । श्रीमतीले श्रीमान्को दीर्घायुका लागि तीजमा निराहार व्रत बस्नु हिन्दु नारीको संस्कार हो । यो संस्कारले पुरुषलाई पनि नारीप्रतिको सम्मान र समर्पणको पाठ सिकाइरहेझैं लाग्छ । तर पछिल्लो समयमा तीज संस्कारको निरन्तरताभन्दा पनि देखासिकी र तडकभडक भएको हो कि भन्ने बुझाइ बन्न थालेको छ । मानिसले आफ्ना संस्कार र संस्कृतिलाई जति समृद्ध बनाउन सक्यो समाज त्यति नै समृद्ध हुने हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.