उद्यमी महिला पनि तीजमा दरखान व्यस्त

उद्यमी महिला पनि तीजमा दरखान व्यस्त

उद्यमी महिलाहरू वर्षभरि उद्यम व्यवसायमा व्यस्त हुन्छन् । आरामसँग खाने बस्नेसम्म फुर्सद हुँदैन । उनीहरू तीज कसरी मनाउँछन् ? व्यस्तताका बीच पनि उनीहरू तीजमा रमाउन भने समय निकाल्छन् । रमाइलोसँग तीज मनाउने गरेको उनीहरूको भनाइ छ ।

तीज नारीहरूको विशेष पर्व हो । मीठोमीठो खाएर छमछमी नाच्न पाउँदा महिला वर्षभरिको पीडा भुल्ने गर्छन् । हामीले केही उद्यमी व्यवसायी महिलालाई सोध्यौं, तीज कसरी मनाउनुहुन्छ ? उनीहरूको जवाफ छ, माइतीघर जाने, साथीसँगी भेटघाट गर्ने, दर खाने, व्रत बस्ने र नाचगान गरेर मनाउने । उनीहरूकै भनाइको सम्पादित अंशः

तीज कार्यक्रममा सहभागी हुन्छु
अम्बिका श्रेष्ठ/सञ्चालिका, द्वारिकाज होटेल

हामी परिवारमा तीज मनाउँदैनौं । हामीले घरमा तीज नमनाए पनि बाहिर तीजका कार्यक्रममा भने जान्छु । यसपटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनु भएको छ । उहाँले आयोजना गर्ने तीज कार्यक्रममा सहभागी हुँदैछु । अरूले पनि तीजका कार्यक्रममा बोलाउनुहुन्छ, त्यहाँ पनि जान्छु ।

अब उमेरले पनि धेरै दौडधुप गर्न सक्दिनँ । यसपटक पनि तीन/चारवटा तीज कार्यक्रममा जान्छु । मैले व्रत बसेर तीज नमनाए पनि आत्मसात् भने गर्छु । निराहार व्रत बस्ने महिला दिदीबहिनीको साथमा हुन्छु । तीज सबैको चाड बनिसकेको छ । तीजमा पानी पनि नपिएर व्रत बस्नुपर्छ । त्यो गाह्रो काम हो । व्रत बस्दा भोक प्यास बिर्साउन महिला भेला भएर नाचगान गर्ने गरेका हुन् । तर, अहिले तीजलाई मनोरञ्जनका रूपमा लिन थालिएको छ । यो सरासर गलत हो ।

आस्था भएकोले मनाउँछु
भवानी राणा/वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

तीज नारीहरूको विशेष पर्व हो । धार्मिक आस्था राख्ने भएकाले म पनि तीज मनाउँछु । तीजमा व्रत बस्ने, शिवजीको पूजा गर्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्छु । तीजको दिन दिउँसो आफन्तसँग बस्ने गर्छु । तीज परम्परागत रूपमा मनाइँदै आइएको छ । तीजमा दरको नाममा धेरै खान भने हुँदैन, आफ्नो स्वस्थ्य हेरेर खानुपर्छ । एक महिना अघिदेखि आफन्तलाई बोलाएर खानपिन गर्ने प्रचलन बढ्दैछ । मैले पनि आफन्तलाई बोलाएर एकदिन दर खुवाउने गरेकी छु । यो चलन मलाई पनि मन पर्छ ।

निराहार व्रत गर्छु
सिर्जना राणा/निर्देशक, होटेल अन्नपूर्ण

म विवाहअघिदेखि नै तीजको व्रत बस्दै आएकी छु । विवाह भएको २५ भयो, तर तीजको व्रत बस्न थालेको ३२ वर्ष भइसक्यो । मलाई मनैदेखि तीज पर्व मन पथ्र्यो, त्यसैले व्रत बस्न मन पराउँथे । अहिले महिलालाई पनि स्वतन्त्रता दिनुपर्छ भन्ने फराकिलो सोचाइ राख्न सक्ने क्षमता विकास भइसकेको जमाना हो । यसको मतलव आफूलाई जसरी मन लाग्छ, त्यसरी नै तीज मनाउन पाइन्छ । तीज व्रत बस्ने र पूजा गर्न मात्र नभएर नारीको सुन्दरताको पक्ष पनि हो । तीजमा नारीहरू आफूलाई दुलही झैं सिंगारेका हुन्छन् ।

नारीहरूले शिवजीको पूजा गर्ने, सौन्दर्य साधन प्रयोग गरेर रमाइले गर्ने पर्व पनि हो । म व्रत बसेको दिन साथीहरूसँग भेटघाट गर्ने, सिनेमा हेर्ने, बेलुका पूजाआजा गर्ने गर्छु ।

अफिसले खुवाउँछ दर
कुसुम लामा/प्रभु ग्रुप, उपाध्यक्ष

तीज हाम्रो परम्परागत पर्व हो । तीजमा पाँच वर्षदेखि अफिसले नै दर खुवाउँदै आएको छ । तीजका दिन कार्यालयका पुरुष साथीहरूले महिलालाई दर खुवाउन विशेष व्यवस्था मिलाउँछन् । दिनभरि नाचगान गरिन्छ । तीज विशेष गरी हिन्दूको पर्व भए पनि अहिले सबै महिलाले मनाउन थालेका छन् । यो राम्रो पक्ष हो । तीज घरमै नमनाए पनि साथीहरूसँग हिँडडुल गरेर रमाइलो गर्न मन लाग्छ । साथीहरूबीच सौभाग्यका प्रतीक चुरा, पोते, टीकालगायत बाँड्ने प्रचलन छ । जुन राम्रो हो । लामो समयदेखि बिछोडिएका साथीहरूसँग तीजमा भेट हुन्छ ।

वर्षको तीन दिन माइतीलाई
वन्दना पाठक/नायब महाप्रबन्धक, एनसीसी बैंक

तीजमा म पहिला निराहार व्रत बस्थेँ । अचेल दूध र फलफूल खाएर बस्न थालेकी छु । व्रत बस्नु भनेको आस्था हो, अहिले धान्नै नसक्ने गरी फेसनजस्तो भएको छ । पहिला पूजा लगाउँदा दियो नपुगेर प्लेटमा समेत बत्ती बालिन्थ्यो । ३०÷३५ जनाको समूह हुने गथ्र्यो । अहिले त्यस्तो छैन । पूजा सकिएपछि मलाई सबैभन्दा सन्तुष्टि मिल्छ ।

तीजमा विशेष गरेर सौभाग्यका सामानहरू साथी तथा इष्टमित्रमा आदानप्रदान गरिन्छ, यो राम्रो पक्ष हो । तीजमा माइत जाने, दर खाने, आफन्तसँग भेट्ने तथा रातो सारीमा सजिने हो । तीजका लागि मैले गहना जोड्दिन, तर कुर्ता तथा सारी भने किन्छु । वर्षको तीन दिन माइतीलाई, बाँकी समय घरपरिवारलाई दिने गरेकी छु ।

अन्य दिनभन्दा फरक गेटअपमा
वर्षा श्रेष्ठ, चौधरी ग्रुप

म ६ कक्षादेखि निराहार व्रत बस्दै आएकी थिएँ । विवाहपछि त्यो टुट्यो । व्रत बस्नु स्वास्थ्यको लागि फाइदा पनि हो । भगवान्प्रति आस्था नभएर व्रत नबसेको होइन । पारिवारिक कारणले व्रत बस्न छाडेकी हुँ । म तीजको दिन पनि कार्यालय जान्छु । अहिले त एक महिना अघिदेखि दर खाने चलन छ । भ्याएसम्म म पनि जान्छु र आफू पनि बोलाएर खुवाउँछु । अन्य दिनभन्दा फरक गेटअपमा, रातै भएर बस्छु । साथीसँगीसँग भेटघाट गर्ने, तास खेल्ने, सिनेमा हेर्ने गरिन्छ ।

तीजको व्रतले सन्तुष्टि दिलाउँछ
जेनिशा मोक्तान/आईएमएस समूह

तीजमा व्रत बस्न रुचाउँछु । म व्रत बस्न थालेको ६ वर्ष जति भयो । तीजमा व्रत बस्दा मनमा सन्तुष्टि हुन्छ । तीजको व्रत बसेपछि मैले पानीबाहेक खाँदिनँ । घरमा सासूआमा, फुपूसासूहरू पनि व्रत बस्नुहुन्छ । हामी तीजको कार्यक्रम घरमै गर्छौं र घरभित्रै रमाउने गर्छौं । तीजमा स्टमित्रहरू सबैजना भेटघाट भइन्छ ।

तीज भेटघाट हुने बहाना पनि बनेको छ । आफन्तले दर खान बोलाउनुहुन्छ, त्यहाँ पनि गइन्छ । कहिलेकाहीँ बाहिरबाट पनि तीजको कार्यक्रममा बोलाउनुहुन्छ । व्रत बस्दाको दिनमा सबै घरमै भइन्छ । त्यसदिन पशुपति मन्दिरमा पनि जान्छु । तीज भनेको रातो पहिरन लगाउने पर्व हो । चाडपर्व मनैदेखि मनाउनुपर्छ । चलिआएको संस्कृति पछ्याउनुपर्छ । मैले पनि तीजमा रातो पहिरन लगाउने गर्छु । त्यसमा पनि रातो सारी लगाउज रुचाउँछु ।

नयाँ कपडा किन्दिनँ
रमा दाहाल/एभरेष्ट इन्स्योरेन्स, कन्सलट्यान्ट

म तीजमा व्रत बस्छु । मलाई भगवान्प्रति आस्था छ । धर्म तथा संस्कृतिलाई जोगाएर राख्न पनि तीज मनाउनुपर्छ । परम्परालाई निरन्तरता दिन र आफूभन्दा मान्यजनको मर्यादा राख्न पनि दिनभरि केही पनि खाँदिनँ । सन्तुष्टि र वर्षभरि आफूबाट भएका गल्तीहरूको माफ पाउँ भनेर पञ्चमी पूजा लगाउँछु । तीजमा आफन्तलाई कपडा र अन्यलाई चुरापोतेलगायतका सौभाग्य सामग्रीहरू बाँड्ने गर्छु ।

फजुल खर्च गर्दिनँ
शालिनी त्रिपाठी/नेसनल प्रोजेक्ट म्यानेजर, यूएनडीपी

तीज महिलासँग जोडिएको राष्ट्रिय पर्व हो । यो पर्वमा विशेषगरी परिवारको सुख शान्ति तथा दीर्घायुको कामना गरी मनाइन्छ । मलाई भगवान्प्रति श्रद्धा र आस्था छ । तीजमा विशेषगरी महादेवको पूजा तथा आराधना गरिन्छ । व्रत निराहार बस्ने गरेकी छु ।

म तीजका लागि भनेर केही पनि किन्दिनँ । तीजको नाममा नचाहिँदो फजुल खर्च गर्दिनँ । इच्छाअनुसार किन्ने गर्छु । परम्परागत रूपमा जुन दिन दर खाइन्छ (व्रतको अघिल्लोे दिन) सोही दिनमात्र शाकाहारी र सन्तुलित दर खाने गरेकी छु ।

नक्कल गर्नेको भीड धेर
प्रभावती विष्ट/मानव संसाधन विभाग प्रमुख, सनसाइज बैंक

पछिल्लो समय तीजको नाममा ह्वात्तै बढेको विकृति अलिकति पनि निको लाग्दैन । तीज भनेको एकदिन अगाडिमात्रै मनाउने हो । त्यसो त कामकाजी महिला भएको कारण पनि समय म्यानेज गर्नुपर्छ । मैले परिवारका दिदीबहिनी, जेठानीहरूसँग मिलेर तीज मनाउने गरेकी छु । तीजको नाममा महिना दिनअगाडि देखि दर खाने चलन राम्रो हैन ।

अझै दिदीबहिनीहरूमा गरगहना लगाउने, महँगा पहिरन किन्ने होड चलेको छ । हाम्रो संस्कृतिमा यस्तो छैन । म संस्कृति बचाउनुपर्छ भन्ने मान्यता राख्छु । आडम्बर देखाउन प्रतिस्पर्धा गर्नु हुँदैन । पहिला त धोती लगाएर मन्दिर जाने चलन थियो तर अहिले झपक्कै गहना लगाउन थालिएको छ । चाडवाड भनेको शो गर्ने होइन ।

मन्दिरमा श्रद्धा गर्नेको भन्दा नक्कल गर्नेको भीड देखिन्छ । दरका नाममा महिलाहरू चाहिनेभन्दा धेरै खान्छन् र व्रत पनि बस्छन् । यसले स्वास्थ्यमा गडबढी ल्याउँछ । आफ्नो स्वास्थ्य हेरेर आफैंले के गर्ने सोच्नुपर्छ । व्रत भन्दैमा निराहार बस्नुपर्छ भन्ने पनि हैन ।

म पहिलादेखि नै तीजको दिन घर नजिकैको मन्दिर जान्छु । तीजको पाठ गर्छु । किनकि तीज भनेको श्रीमान्को लामो आयु, सुस्वास्थ्यको लागि बस्ने गरिन्छ । तर अन्य बेलामा व्यस्त भइरहेकोले एक दिन भए पनि महिलाको लागि बिदा दिइएको हुन्छ ।

पारिवारिक भेटघाट गर्न रमाइलो
उमंग शर्मा/प्रशासकीय अधिकृत, सिटिजन बैंक

तीज पर्व हिन्दु नारीहरूको लागि विशेष पर्व हो । तीज धार्मिक दृष्टिकोणले ऐतिहासिक पर्व हो । यो तीजलाई पनि गत वर्षझै रमाइलोसँग मनाउने योजना बनाएको छु । विशेषगरी दिदीबहिनी संगिनीहरूसँग रमाइलो गर्ने हो । यो रमाइलोभित्र व्रत बस्ने, नजिकैको शिवमन्दिर जाने, दिदीबहिनीसँग रमाइलो गर्ने योजनामा छु ।

व्रत बस्ने सवालमा चै भोकभोकै बस्न सक्दिनँ । पानी चै पिउँछु । दिउँसो बत्ती बालेपछि मात्र पानी पिउँछु । राति एकपटक पूजा गरेर भोलिपल्ट बिहान शिवजीको पूजा गर्छु र फलफूल खान्छु । अफिसमा पनि यही शुक्रबार सानोसानो गेट टुगेदर छ । अफिसको महिलाको समूहले दर खाएर रमाइलो गर्ने कार्यक्रम तय गरेका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.