मुग्लान छाडेर गाउँमै उद्यम

मुग्लान छाडेर गाउँमै उद्यम

सुर्खेतः गाउँमा उत्पादन नहुँदा छाक टार्नै मुश्किल । घरखर्च चलाउनै समस्या भयो । सानैमा विहे गरेको उनको जोडी केही उपाय नलागेपछि मजदुरीको लागि मुग्लान (भारत) पस्यो । दुई वर्षसम्म अर्काको ठाउँमा दिनरात पसिना बगाउँदा पनि सोचेजस्तो कमाई भएन । त्यसपछि यो जोडी पुनः मुग्लान छोडेर गाउँमै फिर्ता भयो ।

अहिले पनि गाउँका धेरै परिवार घरमा ताला नै लगाएर मजदुरीका लागि मुग्लान पसेका छन् । तर, पूर्वी सुर्खेतको मैनतडास्थित सानोजात्रीमा खिमा केसीको जोडी भने घरमै वेमौसमी तरकारी खेतीमा व्यस्त छ ।

कुनैबेला छाक टार्नै मुश्किल हुँदा मुग्लान पसेको यो जोडीलाई अहिले तरकारी खेतीले नै मुग्लान जानबाट रोकेको छ । हिजोआज वर्षैभरी आफ्नै बारीमा वेमौसमी तरकारी खेती गरेर उनीहरुले घरखर्च मात्र धानेका छैनन्, आम्दानी भएको रकम स्थानीय समूह र सहकारीमा बचत गर्न थालेका छन् ।

बारीमा तरकारी गोडमेल गर्दै गरेकी खिमाले भनिन्,‘कमाउनका लागि अर्काको देशमै जानुपर्दौ रहेनछ, दुख गरेपछि त आफ्नै बारीमा सुख फल्दो रहेछ । पहिला त हामी पनि भारत नै जान्थ्यौं, तर दुई वर्ष भयो घरमै बसेर आम्दानी भएको छ ।’ परिवारसँगै बसेर गाउँमा तरकारी खेती सुरु गरेको र त्यसले आफूहरुलाई मुग्लान जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

‘हिजोआज तरकारी किन्न घरमै आउँछन्, बिक्रिको कुनै समस्या छैन’ उनले थपिन्,‘सबै खर्च कटाएर वर्षमा ६० हजार रुपयाँसम्म बचत हुन्छ, घरमै बसेर आम्दानी भएपछि किन कालापहाड जानु ? तरकारी खेतीले त हाम्रो बाटो नै मोडिदियो, विदेशमा अर्काको गाली सहेर कमाउनु भन्दा आफ्नै बारीमा पसिना बगाउनु राम्रो ।’ पहिला छाक टार्नका लागि अरुको साहारा माग्ने यो जोडी अहिले छिमेकीलाई सहयोग गर्न सक्ने भएको छ ।

मैनतडाकै ठूलोजात्रीका तिलसरा बिकको जोडीले पनि भारतको सिमलामा धेरै वर्ष वितायो । १५ वर्षको उमेरमा नै विहे गरेकी तिलसरा पनि घरखर्च चलाउन मुश्किल भएपछि भारत पसिन् । २१ वर्षिया तिलसरा जब दशैंको बेलामा घरमा आईन, तब उनका दौत्तरीहरुले गाउँमै केही गर्न सल्लाह दिए । स्थानीय फूलबारी किशोरी संवाद केन्द्रमा आवद्ध उनका साथीहरुले १० हजार रुपैयाँ सहयोग गरे ।

त्यही रकमबाट गाउँमा किराना पसल सुरु गरेकी तिलसरा अहिले साहुनी बनेकी छन् । ‘पसल सुरु गरेपछि कमाई राम्रै भएको छ, तीन वर्ष भयो मजदुरीका लागि भारत जानु परेको छैन’ तिलसराले भनिन्,‘साथीहरुले नै मेरो मुग्लानको यात्रा रोकिदिए, उनीहरुकै सहयोगमा गाउँमै पसल छ । अहिले घरमै बसेर मासिक १० हजार भन्दा बढी आम्दानी हुन्छ, विदेशमै गएर मात्र कमाइ हुन्छ भन्ने छैन ।’ मेहनत गरे गाउँमै आम्दानी गर्न सकिने भन्दै उनले हिजोआज छिमेकीहरुलाई समेत मुग्लान नजान सुझाव दिन थालेकी छन् ।

खिमा र तिलसराको जोडी मात्र होईन, गाउँमा उत्पादन नुहँदा मजदुरीका लागि भारत जान बाध्य जिल्लाका मैनतडा, मेहेलकुना, छिन्चु, तातापानी, घाटगाउँ, गूठू लगायतका गाविसका बासिन्दा हिजोआज गाउँमै बसेर विभिन्न उद्यम सञ्चालन गर्न थालेका छन् । छिन्चु निवासी मंगली परियारले अहिले सिलाई कटाई तालिम सिकेर घरमै कपडा सिलाउन थालेकी छन् ।

यस्तै मैनतडा र छिन्चुका अधिकांश जोडी तरकारी खेती, कुखुरा तथा बंगुरपालन र किराना पसल सञ्चालन गरेर आम्दानी गर्न थालेका हुन् । गाउँमै बसेर उद्यम गर्न थालेपछि वर्षौंदेखि मजदुरीका लागि भारत जानुपर्ने समस्याबाट उनीहरुले मुक्ति पाएका हुन् । मैनतडामा अहिले पनि अधिकांश परिवारका सदस्यहरु मजदुरीका लागि भारतमा छन् । उनीहरु वर्षमा एकपटक दशैंमा मात्र गाउँ आउने गर्दछन् । जसका कारण उनीहरुका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भइरहेका छन् ।

गाउँमा उत्पादन नहुने र मानिसहरुले कालापहाडलाई मात्र विकल्पको रुपमा लिन थालेपछि किर्डाक नेपालले जिल्लाका विभिन्न गाविसहरुमा किशोरकिशोरीहरुलाई आयआर्जनमा जोड्न थालेको छ । गाउँमै बसेर उद्यम गर्न चाहनेहरुलाई आर्थिक सहयोग र तालिम प्रदान गर्दै आएको किर्डाक नेपालका जिल्ला संयोजक अनुप नेपालीले पछिल्लो समय मुग्लान जानेहरुको संख्यामा कमी आएको बताए । उनले भने,‘विदेशमा मात्र कमाई हुन्छ भन्ने सोच हावी छ, गाउँमा दुख गर्ने बानी छैन ।

हामीले त्यही सोचलाई चिर्नका लागि किशोरकिशोरीहरु परिचालन गरेका छौं, हिजोआज धेरैले गाउँमै बसेर आयआर्जनका उपाय अपनाउन थालेका छन् ।’ आर्थिक रुपमा सक्षम भएमा मात्र सामाजिक रुपान्तरण सम्भव हुने भन्दै उनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र गाउँमै उद्यम गर्न प्रेरित गर्नका लागि आफूहरुले गाउँगाउँमा संवाद केन्द्रहरु सञ्चालन गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.