‘संविधान संशोधनको प्रक्रिया छिट्टै अघि बढ्छ’
काठमाडौंः कानुन मन्त्री अजय शंकर नायकले असन्तुष्ट दलहरुका माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्ताव अघि बढाउने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा मन्त्री नायकले भने,‘समय तोक्दिन, तर छिट्टै संशोधन प्रस्ताव अघि बढ्छ, दलहरुवीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निष्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ।’
संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘एमाले पनि यो देशको जिम्मेवार पार्टी, उसले सहयोग गर्छ भन्नेमा म चाहीँ आशावादी छु।’
उनले एमालेका नेताहरुले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्ने समेत बताए। संविधानप्रति असन्तुष्ट मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको मन्त्री नायकले बताए।
उनले स्थानीय निकायको निर्वाचनका सम्बन्धी बनेको विद्येयक संशोधन गरेर गृहमन्त्रालयमा पेश गरेको समेत जानकारी दिए। उनले भने,‘अहिले स्थानीय निकायको चुनाव हुन्छ कि हुँदैन भनेर व्यापक चर्चा भएको छ, चुनावका लागि राष्ट्रिय सहमति आवश्यक छ, सरकार अहिले त्यसकै गृहकार्यमा जुटेको छ।’