बनकरिया समुदायमा महिलाको नेतृत्व

बनकरिया समुदायमा महिलाको नेतृत्व

हाँडिखोला मकवानपुरः नेपाली समाजका हरेक संरचनामा महिला पछाडि परेका छन् । त्यसमा पनि पछाडि परेका जाति र समुदायका महिलाको अवस्था झनै दयनीय छ । तर लोपउन्मुख बनकरिया जातिमा भने पुरुषभन्दा महिला अगाडि छन् । बनकरिया समुदायका पुरुषहरू चुलोचौको र जंगल छाडेर अन्यत्र जान अझै पनि रुचाउँदैनन् ।

सदरमुकाम हेटौंडाबाट करिब २० किलोमिटरको दूरीमा रहेको हाँडिखोला–१ ट्वांग्राङस्थित धापमा लोपउन्मुख बनकरिया समुदायका पुरुष अझै पनि गाउँमा आएका नयाँ मान्छेसँग बोल्न लजाउँछन् । तर गाउँ विकासको कामसँगै सदरमुकाम हेटौंडादेखि काठमाडौंसम्म समुदायका लागि गर्नुपर्ने जुनसुकै काममा महिलाहरू हिँड्छन् निर्धक्कसँग कुरा गर्छन् । अगुवा बनकरिया महिला ठूलीमायाले भनिन्, ‘केही वर्षअघिसम्म गाउँमा नयाँ मान्छे देख्दा पुरुषहरू जंगलतिर भाग्थे तर अहिले लजाउँछन् मात्र ।’

कृष्णबहादुर बनकरिया आइतबार बिहान बाख्रालाई दाना खुवाउँदै थिए । घरभित्रबाट महिलाको आवाज आयो, ‘बाख्रा लिएर जंगलतिर जानु है, म समूहको बैठकमा जाँदैछु ।’ कृष्णबहादुरसहित गाउँका प्रायः पुरुष बाख्रा चराउन जंगलतिर गए । उनकी श्रीमती सन्तमायासहित गाउँका महिला भने बचत समूहको बैठकमा जान हतारिँदै थिए ।

४६ वर्षीय सन्तमाया ट्वांग्रेडाँडा बनकरिया विकास समूह र बस्ती बचाउ उपभोक्ता समितिकी अध्यक्ष हुन् । यसअघि ठूलीमाया बनकरियाले गाउँको नेतृत्व गर्दै आइरहेकी थिइन् । तर ५८ वर्षीया ठूलीमायाले कान कम सुन्न थालेपछि सन्तमायाले गाउँको नेतृत्व गर्न थालेकी हुन् ।

‘गाउँका छोरा मान्छेहरू घाँस दाउरा र घरको काम गर्छन्’, सन्तमायाले भनिन्, ‘गाउँ छाडेर बाहिर जान छोरा मान्छे मान्दैनन्, घरबाहिरको काम सबै महिलाले गर्नुपर्छ ।’ ठूलीमायाकी श्रीमान् हर्कबहादुरले भने, ‘हामी जंगलतिरै भुलियौं, घरबाहिरको काम गर्ने बानी नै परेन ।’

बनकरिया पुरुष पनि महिलाजस्तै समाजमा अघि बढ्न चाहान्छन् । ‘पहिले हामीले गरेको काममा वास्ता गर्दैनथे, आजभोलि सोधीखोजी गर्न थालेका छन्’, पार्वती बनकरियाले भनिन्, ‘पुरुषहरू पनि घरबाहिरको काममा हामीसँगै हिँड्न थालेका छन् ।’

गाउँमा सञ्चालित प्रौढ कक्षामा सहभागी भएर यहाँका प्रायः महिलाहरू आफ्नो नाम लेख्न जान्ने भएका छन् । तर यहाँका पुरुष निरक्षर छन् । ‘गाउँमा प्रौढ कक्षा सञ्चालन गर्दा पुरुषले पढ्न मानेनन्’, गाउँकी अगुवा महिला ठूलीमायाँले भनिन्, ‘गाउँका महिलाहरूमा पार्वती बनकरियाबाहेक सबैले आफ्नो नाम लेख्न जानेका छन् ।’

महिलाहरूकै सक्रियतामा बस्ती संरक्षणका लागि बाँध निर्माणको काम भएको छ । ‘जिविसको डेढ लाख रुपैयाँ सहयोगमा खहरे नियन्त्रण गर्न बाँध निर्माणको काम गर्‍यौं’, अगुवा बनकरिया महिला सन्तमायाले भनिन्, ‘यस वर्षदेखि उपभोक्ता समितिमा पुरुषलाई पनि सदस्य राखेर काम गर्न थालेका छौं ।’

एक दशकअघि महिलाले गठन गरेको ट्वांग्रेडाँडा बनकरिया विकास समूहमा ५० हजार रुपैयाँ रकम बचत भएको छ । प्रत्येक महिना पाँच रुपैयाँ बचत गरी समूह सुरु गरेका महिलाले हाल मासिक पचास रुपैयाँसम्म बचत गर्छन् । ‘समूहबाट ऋण लिएर महिलाले बंगुर, बाख्रा पालन र तरकारी खेती गरिरहेका छन्’, समूहकी सदस्य पार्वती बनकरियाले भनिन्, ‘अहिले पुरुष पनि बचत समूहमा बसेर आर्थिक कारोबार गर्न थालेका छन् ।’

पशु पालन र तरकारी खेतीका कारण जीविकोपार्जन गर्न सजिलो भएको बनकरिया अगुवा महिला ठूलीमायाले बताइन् । ‘कसैले सहयोग नगरे पनि हामी बाँच्न सक्ने हुँदै गएका छौं’, उनले भनिन्, ‘घरमा पुरुषले पनि गाउँबाट बाहिरको काममा जाँदा सघाउन थालेकाले थप सजिलो भएको छ ।’

सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जंगलमा बनकरियाहरू बस्दै आएका छन् । यहाँ २० घर बनकरियाको बसोबास छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.