हावाहुरीले केरा खेतीमा करोडौंको क्षति
काठमाडौं : शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौंको क्षति भएको छ। हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन्। हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए।
हावाहुरीले चितवनका किसानहरूको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए। चितवनमा हावाहुरीले हालसम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरूले बताएका छन्। जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावाहुरीले मुखमा आएको बालीमा क्षति भएपछि किसानहरू चिन्तित भएका छन्।
हावाहुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुष्क सिंहले बताए। हावाहुरीले टिपेर बेच्ने बेला भएको केरा पूर्ण रुपमा क्षति हुँदा किसानहरू निरास भएका छन्।
चितवनमा करिब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बिमा गरेका छन्। केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन्।
गत वर्ष बिमा कम्पनीमा दिनुपर्ने ४ करोडमध्ये २ करोड रुपैयाँ मात्र किसानले पाएको र २ करोड अझ बाँकी रहेको छ। किसानहरूले प्रति बिगाहबाट करिब १० लाखको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन्।
हावाहुरीले केरा खेतीमा ठूलो क्षति भएपछि किसानलाई क्षति पूर्तिका लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए। हावाहुरीले ठुलो नोक्सान व्यहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ।
प्रतिक्रिया दिनुहोस !