पुतलीबजारमा जिल्लाकै पहिलो ब्यवस्थित बधशाला सञ्चालन
स्याङ्जा : उपभोक्ताले सफा, स्वच्छ र गुणस्तरीय मासु खान पाउने उद्देश्यले निर्माण गरिएको बधशाला बुधवारदेखि सञ्चालनमा ल्याइएको छ । पुतलीबजार नगरपालिकाले जिल्लामै पहिलो पटक ब्यवस्थित बधशाला सञ्चालनमा ल्याएको हो ।
पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेल मैदान नजिक रहेको अत्याधुनिक सुबिधासम्पन्न बधशालामा बुधवार बिहान २ वटा भैंसी-राँगो काटेर सुरुवात गरिएको हो । पुतलीबजार नगरपालिका र गण्डकी प्रदेश सरकारको आर्थिक लगानी रहेको बधशालामा बुधवारदेखि सञ्चालनमा ल्याइएको हो ।
नगरका मासु ब्यवसायीले बर्षौदेखि आँधीखोला किनार, खेत र खुल्ला चौरमा भैसी-राँगो बध गर्दै आएका थिए । खोलाकिनारमा पशुवध गर्दा खोला नै प्रदुषित र दुर्गन्धित बनेको थियो ।
अव्यवस्थित र अस्वस्थकर वातावरणमा पशु वध भइरहेको जनगुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले यो नयाँ प्रणाली सुरु गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । लामो समयदेखि आँधीखोला किनारमा भैसी÷राँगो बध गर्दै आएका मासु ब्यवसायीले अबदेखि सुबिधासम्पन्न भवनभित्र बध गर्ने अवसर पाएका छन् । ब्यवस्थित बधशालामा भैंसी बध गर्न पाउँदा खुशी लागेको मासु ब्यवसायीको भनाई छ । बधशालाको अभावमा खोला किनार र चौरमा बध गर्नु परेको वाध्यता पनि उनीहरुले सुनाए ।
बधशालामा पशुको वध गर्नुअघि स्वास्थ्य जाँच र स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र मासु बिक्री बितरण गर्न सुझाएको बताउँछन् प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना । उनले भने, ‘स्थानीय उपभोक्ता तथा मासु व्यवसायीेका लागि बधशाला सञ्चालन हुनु पुतलीबजारका लागि सकारात्मक कदम हो ।’ नेपालमा पशु बधशाला र मासु जाँच ऐन २०५५ बनेको छ । कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तहले बधशाला निर्माण गरेर आधारभूत स्वास्थ्यका मापदण्ड पालना गरेको बताउँछन् पशु चिकित्सक डा. अनिल चौधरी । ऐनमा धेरै कुरा बोलेको छ क्रमशः पुरा गर्दै जानु पर्दछ । त्यसकै अभियानमा हामी छौं’, उनले भने ।
सुरुवाती चरणमा ब्यवसायिकरुपमा भैंसी-राँगो काट्नेका लागि मासिक ३० हजार रुपैंयाँ लिने गरी सम्झौता भएको छ । आउँदा बर्षमा भने टेण्डर प्रक्रियामार्फत बधशालाको उपयोग हुने नगरपालिकाले जनाएको छ । तर, हाम्रा धर्म, संस्कृति, पुजापाठ, भोजभतेरसँग जोडिएका धर्म संस्कृतिका पुजापाठमा भने पशु बधका लागि खुलाचौरको उपयोगलाई नरोकिएको भनिएको छ ।
प्रतिक्रिया दिनुहोस !