कर्णालीको नीति तथा कार्यक्रम : उत्पादनमा आत्मनिर्भरता र निर्यात प्राथमिकतामा
दैलेख : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कर्णाली प्रदेश सभाको बुधवार बसेको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कँडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
सरकारको नीति तथा कार्यक्रमले कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातलाई प्रोत्साहनलाई प्राथमिकतामा राखिएको छ । शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्दै शैक्षिक गुणस्तर सुधारमार्फत सुसंस्कृत मावन पुँजीको विकास गर्ने, स्वास्थ्य सेवामा सर्वव्यापी पहुुँच र गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य सेवा विस्तार र सुदृढिकरण गर्ने नीति प्रदेशको प्राथमिकतामा परेको छ ।
व्यवसायिक सीप एवं उद्यमशीलता विकास गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्दै युवामा सकारात्मक रूपान्तरण ल्याउने, दिगो र गुणस्तरीय सडक सञ्जालको विकास र विस्तार गर्दै प्रदेशको समग्र भौतिक पूर्वाधारको विकास गर्ने नीति सरकारले लिएको छ । स्वच्छ एवं सर्वसुलभ खानेपानी सेवा तथा सिँचाइ सुविधा र ऊर्जा क्षेत्रको विकास तथा विस्तार गर्ने नीति सरकारको छ । वन क्षेत्रको दिगो व्यवस्थापनमार्फत आयआर्जन, जीवनस्तर सुधार, पर्यापर्यटन तथा वातावरण संरक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रशासनिक संरचनाको सुदृढीकरण तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन कायम गर्ने कर्णाली सरकारले प्राथमिकतामा राखेको छ । बहुवर्षीय तथा स्रोत सुनिश्चितता प्राप्त आयोजनामा पर्याप्त रकम विनियोजन गर्दै विनियोजन दक्षता कायम गरी आयोजना सुशासन कायम गर्ने, प्रशासनिक खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्दै शून्य बेरुजु अभियानमार्फत वित्तीय सुशासन प्रवर्द्धन गर्ने सरकारको उद्देश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस !