अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

काठमाडौंः गृह मन्त्रालयले निष्कासन (डिपोर्ट) गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ । निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो ।

विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरिसकेको अवस्थामा कुनै यात्रुबारेमा जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ । चोरी मुद्दामा जेल सजाय भोगेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । काठमाडौंबाट पाकिस्तानसम्म कुनै एयरलाइन्सको सीधा उडान नभएपछि ती गणेशले काठमाडौंबाट आबुधाबी हुँदै इस्लामाबाद जाने टिकट लिएका थिए ।

इतिहाद एयरलाइन्सले आफूमाथि दुव्र्यवहार गरेको भन्दै गणेश अर्को एयरलाइन्सबाट पाकिस्तान जाने तयारीमा छन् । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले गणेश निष्कासित भइसकेकाले छिट्टै पठाइने बताए । सोलुखुम्बुकी एक युवतीसँग विवाह गरेका गणेश हिन्दु धर्मावलम्बी हुन् ।

विमानस्थल पुगेका अध्यागमनका कर्मचारीले गणेशलाई उडाइदिन पटकपटक गरेको आग्रहलाई एयरलाइन्सका कर्मचारीले इन्कार गरेको स्रोतले बतायो । राति अबेरसम्म पनि एयरलाइन्सले उडाउन इन्कार गरेपछि अध्यागमनका कर्मचारीले ती पाकिस्तानीलाई विभागमै लगेका थिए । उनी अहिले अध्यागमनको हिरासतमै छन् । गृह मन्त्रालयको निर्णयअनुसार अध्यागमन प्रतिनिधिले पत्र देखाउँदासेमत इतिहादले अटेर गरेर आफूमाथि पर्न खोज्नु लज्जास्पद भएको अध्यागमन अधिकारीको भनाइ छ ।

मन्त्रालयको निर्णयका आधारमा अध्यागमन विभागले पाकिस्तानी नागरिक गणेशलाई विभागका एक कर्मचारीको साथ लगाएर सोमबार साँझ विमानस्थल पठाएको थियो । मन्त्रालयले निष्कासनको निर्णय गरेर पठाइएको यात्रुलाई कुनै एयरलाइन्सले रोक्न नसक्ने विभागका एक कर्मचारीले बताए ।

पाकिस्तानीको यात्राका बारेमा आबुधाबीस्थित इतिहाद एयरलाइन्सको केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान भएकाले उनले उडान भर्न नपाएको इतिहादका एक कर्मचारीले अन्नपूर्णलाई बताए । ‘हामीले निष्कासित विदेशीहरूलाई एउटै प्रक्रियाबाट पठाउने हो । यसअघि पनि गणेशजस्ता धेरैलाई पठाएका छौ’, विभागका एक अधिकारीले भने, ‘अरू एयरलाइन्सले सहजै लैजान्थे, इतिहादले बखेडा झिक्यो ।’

इतिहादका विमानस्थलस्थित कर्मचारीले ती पाकिस्तानीलाई उडान गर्न नसक्ने भन्दै फर्काइदिएको छ । उक्त एयरलाइन्सले निष्कासित गणेशको यात्राका बारेमा आफूहरूलाई २४ घन्टाअगाडि जानकारी नगराएको भन्दै बोडिङ पास दिन इन्कार गरेको हो । तर ती यात्रुले दुई दिनअघि नै इतिहाद एयरलाइन्सको टिकट लिएका थिए । टिकट लिने बेलामा समेत अध्यागमनका कर्मचारीले ती पाकिस्तानी निष्कासन गर्न लागिएका व्यक्ति भएको जानकारी गराएको थियो ।

विभागले ती पाकिस्तानीलाई निष्कासन गरेको पत्र र इतिहाद एयरलाइन्सको टिकटसहित एक कर्मचारीको साथ लगाएर विमानस्थल पठाएको थियो । इतिहादले टिकट लिएर उडानका लागि गएका व्यक्तिलाई फर्काएर अध्यागमनका कर्मचारी र स्वयं यात्रुलाई समेत मानसिक तनाव दिएको छ ।

केही समयअघि पनि इतिहाद एयरलाइन्सले साउदी अरेबियाका अब्दुल अलीलाई बोडिङ पास नदिई विमानस्थलबाट फिर्ता पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.