योग फैलाउँदै अपांगता भएकी युवती
चिमडी (सुनसरी): कम्मरमुन्तिरको भाग बलजफ्ती हल्लाउनु पर्छ । त्यसमाथिको शरीर भने सग्लै छ तर दुवै गोडा सुकेकाले शरीरको भार थेग्न सक्दैनन् । हात टेकेरै हिँडडुल गर्नुपर्छ । बोली पनि आउँदैन् ।
हाँसिरहने र हात जोडेर आदरभाउ जनाइरहने चिमडी–७ दैताटोल निवासी रेणुका विश्वास (२४) लाई सानैमा पोलियो भएको थियो । त्यसले खुट्टामा असर गर्यो । उनी शारीरिक रूपमा कमजोर बनिन् । बुबा गुलाबचन्दले भने, 'उनी बोल्न सक्दिनन् तर अहिले इशारा गरेर गाउँभरिका अभिभावक र युवायुवतीलाई ध्यानको कक्षा लिन्छिन् । ध्यान र योग गर्न थालेपछि रेणुकाको आफ्नै जीवन पनि रूपान्तरण भएको छ ।' दैनिक साँझ र बिहान एकएक घन्टा ध्यान गर्ने व्यवस्था मिलाइएको गुलाबचन्दले बताए ।
युवापुस्ताले अध्यात्मतिर उतिसारो ध्यान दिँदैनन् । उनीहरू आफ्नै दैनिकीमा व्यस्त रहन्छन् । तर सुनसरीको सीमान्त चिमडी गाविसकी एक अपांग युवतीले भने गाउँमा ध्यान र योगाका कक्षाको नेतृत्व लिएकी छन् । सबलांगजस्तै उनले पनि आफ्नो दक्षताको उदाहरण प्रस्तुत गरेकी छन् ।
रेणुकाले दैनिक पचासजना साधकलाई योगा र ध्यानको कक्षा लिइरहेकी छन् । गुरु आशोबाट प्रभावित उनले गाउँका आमा, काकी, सानीआमा, बुबा, काका, भाइबहिनी र आफूनै साथीहरूलाई पनि ध्यानको गहिराइमा डुबाउन सफल भएकी छन् । दैनिक ध्यान गर्न आउने स्थानीय शिक्षक त्रिलोकले भने, 'उनकै कारण गाउँमा ध्यानको माहोल बनेको छ । सबै आर्कषित भएका छन् । समय निकालेर एक घन्टा म पनि आउँछु ।' ध्यान गर्न थालेपछि मानसिक तनावमा कमी आउनुको साथै जीवन सकारात्मक रूपमा बुझ्ने कला आफूले पनि बुझेको उनले बताए ।
चिमडीका गुलाबचन्दको घरमा बिहान झिसमिसैदेखि नै मानिसहरूको चहलपहल हुन्छ । बिहानी नित्यकर्म र नुहाई धुवाई सकेर एक हुल गेरुवस्त्रधारी साधक घरभित्र प्रवेश गर्छन् । त्यतिबेलासमम रेणुकाले गुरुको तस्बिरमा माल्यार्पण गरी अगरबत्ती सल्काइसकेकी हुन्छिन् । अनि सुरु हुन्छ कीर्तन, ध्यान । एक घन्टासम्म संगीतको तालमा नाच्ने र सुखासनमा बसेर ध्यान गरिन्छ । रेणुका पनि कम्मरमाथिको भाग हल्लाउँदै संगीतको तालमा डुब्छिन् ।
'पहिले त धेरैले विश्वास गरेनन्, मलाई पनि श्रीमान् ध्यान गर्न थालेपछि निकै डर लागेको थियो, सन्यासी बनेर घरबार नै छोड्लान भन्ने पीर भयो तर आफूले पनि बुझ्दै जाँदा यसका धेरै फाइदा रहेछन्,' साधक भगवती चौधरीले भनिन्, 'शारीरिक तन्दुरुस्तीदेखि मानसिक स्वास्थ्यका लागि पनि यो ध्यान निकै राम्रो औषधि रहेछ ।' अहिले परिवारका सबै सदस्य नित्य ध्यान गर्न थालेको चौधरी बताउँछिन् ।
गुलाबचन्दको घरमा ध्यान केन्द्र खोलिएको छ । गुलाबचन्दलाई ठूलोबुबाका छोराले एउटा ध्यान शिविरमा लगेपछि उनी यसतर्फ आकर्षित बनेका थिए । अहिले उनको घरमा खुलेको आ श्रममा निःशुल्क ध्यान गर्न पाइन्छ । विराटनगरस्थित ओशो ध्यान केन्द्रबाट जाने गुरु तथा प्रशिक्षितले पनि बेलाबेलामा नयाँ नयाँ विधिको विषयमा जानकारी दिने गरेका छन् ।
चौधरी भन्छन्, 'अहिले छोरीले नै ध्यान गराउँछिन्, उनको शरीर पनि फुर्तिलो भएको छ, अहिले आफ्ना लुगा आफैं धुन सक्ने भएकी छन् ।' गाउँमा यति राम्रो वातावरण बनेकोले सहरमा व्यस्त र दैनिक धपेडीपूर्ण जीवन बिताउनेले पनि दिनमा एक घन्टा आफ्ना लागि समय छुट्याएर ध्यान गर्दा फाइदा हुने चौधरीले सुझाव दिए ।