हराएका महिला र बालबालिका कम भेटिन्छन्

हराएका महिला र बालबालिका कम भेटिन्छन्

लिबाङ (रोल्पा): भाबाङ ४ रोल्पाकी ५१ वर्षीया चन्द्रकला डाँगी २०७३ साउन ११ गते आफ्नै घरबाट बेपत्ता भइन् । पति दर्जित डाँगीले साउन १८ गते जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा खोजीका लागि जाहेरी दिए ।

माइत जान्छु भनेर घरबाट हिँडेकी ह्वामा ९ की वर्ष ३५ की खुमाकुमारी घर्तीमगर न माइत पुगिन्, न त घर फर्किइन् । उनी साउन ११ मा १२ बर्से छोरा राजन घर्ती र ७ वर्षीय छोरा विप्लवसहित बेपत्ता भइन् । पतिले माडीचौर प्रहरीचौकीमा जाहेरी दिए ।

साउन ६ गते तेबाङ ८ की २१ वर्षीया थमा पुनमगर हराइन् । उनका जेठाजु रीतमान पुनले खोजीका लागि साउन २० गते प्रहरीमा उजुरी दिए । थमा घरैबाट हराएको परिवारका सदस्य बताउँछन् । त्यसो त सुलीचौर बजार जान्छु भनेर घरबाट निस्केकी बडाचौर ९ की १७ वर्षीया हेमला विष्ट साउन १७ गतेबाट हराइरहेकी छन् । बजारबाट घर फर्कने आशामा रहेका परिवारका सदस्यले उनी तीन दिनसम्म बेपत्ता भएपछि साउन २० गते खोजीका लागि जिप्रकामा जाहेरी दिए ।

लिबाङ नगरपालिका ७ की २७ वर्षीया अनिता गिरी (नेपाली) साउन ७ घरबाट हराइन् । बुहारी धेरै दिनसम्म घर नआएपछि गाउँघरमा खोजी भयो । फेला नपरेपछि ससुरा बुद्धिराम नेपालीले साउन २८ गते प्रहरीमा जाहेरी दिए । जेदबाङ ३ रोल्पाकी ३५ वर्षीया दिलमाया कामी पनि असार २१ गते लिबाङबाट बेपत्ता भइन् । पति मोतीलाल कामीले जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका सेवा केन्द्रमा साउन ९ गते खोजीका लागि जाहेरी दिए ।

नयाँ आर्थिक वर्षको सुरुको महिनामै यसरी सातजना हराएको भन्दै खोजीका लागि प्रहरीमा जाहेरी परेको छ । प्रहरीले सातैजनाको खोजी गरिरहेको जनाए पनि अझै कोही फेलापारेको छैन । महिला सेल र मुद्दाफाँटमा पनि असारमा जिनाबाङ ८ ओइलामका १७ वर्षीय दीपेन्द्र भण्डारी र अर्का एक पुरुष बेपत्ता भएको भन्दै खोजीका लागि जाहेरी परेको छ । भण्डारी भारतबाट घर फर्कंदै गर्दा बेपत्ता पारिएका थिए ।

जिल्लाबाट हराएकाहरू यी प्रतिनिधि घटना हुन् । जिल्ला प्रहरीको अभिलेखअनुसार तीन वर्षयता यहाँका १ सय ७६ जना बेपत्ता भएका छन् । आव २०७०/०७१ मा २४ महिला, ७ बालक र ४ बालिका हराएका थिए भने आव २०७१/०७२ मा ४२ महिला, १५ बालक र ४ बालिका हराए । अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्षमा मानिस हराउने क्रम बढेको छ । आव २०७२/०७३ मा ८० जना हराए । त्यसमा महिला ४२, बालक १९ र बालिका १९ थिए ।

महिला सेलमा रहेको अभिलेख हो यो । पुरुष हराएको जाहेरी भने मुद्दाफाँटमा गर्ने प्रचलन छ । फाँटका प्रहरी हबल्दार केशव नेपालका अनुसार आव २०७२/०७३ मा २ पुरुष हराए । त्यसमा झेनाम ३ का वर्ष २६ का पूर्ण घर्तीमगर र सिर्प २ का दुर्भान पुन छन् ।

हराउनेहरूमा अधिकांश महिला र बालबालिका छन् । प्रहरीको रेकर्डअनुसार हराएकामा ४१ महिला, २३ बालक र १३ बालिकालाई फेला पारिएको छ । फेला पार्न नसकिएमा १ सय ६ जना छन् । त्यसमा महिला ७२, बालक २० र बालिका १४ छन् ।

किन हराउँछन ?

धेरैजसो बालबालिका नेपाल र भारतको सिमानामा भारत जाँदै गर्दा हराएका उदाहरण छन् । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायबउपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार बालबालिका लहैलहैमा घरबाट भागेर सहरतिर र भारततिर जाने गरेको पाइएको छ । अभिभावकलाई थाहै नदिई भागेर गएका बालबालिका बेपत्ता हुने गरेका छन् ।

महिलाहरू भने घरायसी विवाद र असन्तुष्टिले गर्दा घर छाडेर बेपत्ता हुने गरेका छन् । कतिपय हराएका भनिएका महिलाले परपुरुषसँग दोस्रो विवाह गरेको पाइको छ । हराउनेहरूमा अधिकांश विवाहित महिला छन् । घरबाट भागेर भारतमा गई दोस्रो पतिसँग बस्ने गरेकाले पनि कयौं महिला फेला पर्दैनन् । बालिका भने प्रलोभन र रमाइलोको खोजीमा गाउँघरबाट भागेर अन्यत्र जानाले बेपत्ता हुने क्रम बढेको पाइएको छ ।

धेरैजसो हराएकाहरू कहाँ जान्छन्, प्रहरीले समेत अहिलेसम्म भेउ पाउन सकेको छैन । कतिपयका अनुसार मानिस हराएपछि प्रहरीमा खोजीका लागि जाहेरी गर्ने र केही समयपछि घर फर्किएमा प्रहरीमा जानकारी नगराउने भएकाले पनि हराएको अभिलेखमा रहिरहेर बढी देखिएको तर्क छ । तर प्रनाउ घर्तीमगर मातहतका सबै प्रहरी युनिटमार्फत बेलाबेला हराएको बारे अपडेट गर्ने भएकाले हराइरहेकै मान्न सकिने बताउँछन् ।

प्रलोभनमा परेर घरबाट हराएकाहरू बेचबिखनमा परेको हुनसक्ने आंकलन कतिपयको छ । केही महिनाअघि भारतमा लगेर राम्रो काम लगाइदिने भन्दै केही बालबालिकालाई केही दिन भालुबाङको होटेलमा राखी भारतीय नाकामा पुर्‌याएको अवस्थामा प्रहरी र सामाजिक संघसंगठनले फिर्ता गराएका थिए । केही साताअघि भारतबाट फर्कंदै गरेका किशोर भण्डारीलाई भारतमै पेप्सी खुवाएर बेहोस बनाई नेपाली भाषा बोल्ने तीनजनाले बेपत्ता बनाएको घटनाले थप आशंका जन्माएको छ ।

युद्धका बेला राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइए पनि शान्तिकालमा स्वयं बेपत्ता हुने क्रम बढेको छ । स्वयं हराए पनि कतै कुनै गिरोहले भूमिका खेलिरहेको त छैन, अनुसन्धान जरुरी रहेको सम्बन्धित निकायको निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयले भने हराएको उजुरी आउनेबित्तिकै हुलियासहित अञ्चल प्रहरी कार्यालय र मातहतका प्रहरी निकायमा खोजीका लागि पत्राचार गर्दै आएको जनाएको छ । प्रनाउ घर्तीमगर भन्छन्, 'बेपत्ताको खोजीमा प्रहरी सक्रिय नै छ । तर हराएजति फेलापार्न सकिएको छैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.