बाबुआमाको सेवाः आत्मसन्तुष्टिको पाटो
२०२१ सालका भूमिसुधार सुब्बा पचहत्तरबर्से माधव श्रेष्ठ म्हैपीमा सात आनाको कम्पाउन्डमा रहेको आफ्नो घरमा ताल्चा लगाएर निःसहाय सेवा सदन (वृद्धा श्रम) बानेश्वरमा बसेको पाँच वर्ष भयो । उनका एक मात्र सन्तान आजसम्म भेट्न आएका छैनन् । तर उनी गोकर्णे औंसी अर्थात् बाउको मुख हेर्ने दिन बिहान शुद्ध भएर पितृलाई तर्पण दिन्छन् र छोराको उन्नति एवं प्रगतिको लागि कामना गर्छन् ।
मासिक १६ हजार भत्ता बुझ्ने माधव आश्रममा बसे पनि खाना खाएवापत मासिक तीन हजार रुपैयाँ आ श्रमलाई तिर्छन् अनि तीनजना निसहाय बालबालिकालाई छात्रवृत्तिमा पढाइरहेका छन् ।
नेसनल कलेजमा आईएको अन्तिम परीक्षा आउन मात्र ६ दिन बाँकी हुँदा कक्षाकोठामै आएको भूमिसुधार सुब्बाको जागिरमा प्रवेश गरेका माधव एकचालीसबर्से जागिरे जीवन नियाल्दै रमाएर भन्छन्- बाराको निजगढ र डुमरवानामा त पहिलो भूमिप्रशासक भएरै काम गरें, अहिलेसम्म मेरै डिसिजनले त्यहाँ काम गरिरहेको छ । त्यतिबेला २४/२५ सालतिर बस्तीमा आगो लगाउँदा त्यहाँका महिला नांगै हेटौंडामा प्रहरी चौकी घेर्न पुगेका थिए ।
कैलालीमा त आँखाले भ्याएसम्म जमिन लेउ पैसा दिनुपर्दैन भनेका थिए, न्युरोड डुलेर बस्न छोडेर त्यस्तो हिलोमा को बस्छ ? नेपालका धेरै गाउँबस्ती डुल्दा देखेको एउटा सत्य छोरी भएको घर सफासुग्घर र व्यवस्थित हुन्छ जतिसुकै पैसावाल भए पनि छोरा भएको घर जहाँतहीँ फोहोर र अस्तव्यस्त । त्यसमा पनि राना थारुहरूको संस्कार राम्रो छ । छोरीहरू खुल्न सक्छन्, छोराहरू लजाउँछन् ।
३२ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका माधवका श्रीमती र एक इन्जिनियर छोरा छन् । उनी भन्छन्– भावनाले होइन मेरो कमाइ देखेर विवाह गरेकी श्रीमतीले माइतीको व्यवस्थापनमा मात्रै ध्यान दिइनँ, छोरालाई मप्रति नकारात्मक भावनाको वीजारोपण गरिन् । त्यो घर पनि उनकै नाममा छ । मैले आफ्नो नाममा सम्पत्ति राखिनँ, २१ वर्षसम्म त म एक्लै त्यही घरमा बसेर पकाएर खाएँ । एक दिन राति बत्ती निभेको बेला घरअगाडिको गड्डामा परी खुट्टा भाँचियो ।
संसारका कुनै पनि बाउआमाले आफ्ना छोराछोरी नराम्रो होस् भनेर सोच्दै सोच्दैनन् । व्यवहारमा रिसारिस गर्नु अलग कुरा हो । जिउँदालाई खुसी पार्ने र मरेकालाई तर्पण दिने सन्तानलाई मात्र सन्तुष्टि प्राप्त हुन्छ ।
आर्मी अफिसर भतिजोले उपचारमा सहयोग गरे र उनैको सहायताले यहाँ आएर बसेको छु । यहाँ आएदेखि त्यो घरमा फर्केर गएको छैन । सामान कुहियो होला । यहाँ खान लाउन र बस्न सबै सुविधा छ, तर मनमा शान्ति छैन । एउटा छोरी मात्र भइदिएको भए घर यसरी अस्तव्यस्त हुँदैनथ्यो । सबै तहवह मिल्थ्यो, तर नानी, मेरो छोराको नामचाहिँ नलेखिदिनुस् है ।
साँढे चार बीस हिउँद काटेका विराटनगर सुन्दरपुर– ७ गछियाका खडानन्द सापकोटा चार वर्षदेखि सोही आ श्रममा आ श्रय लिइरहेका छन् । दुई छोरा, दुई छोरी, एक श्रीमती र आठवटा नातिनातिनाका धनी सापकोटा दुई छोरीको विवाहपछि दुई भाइ छोरालाई अंश भागबन्डा गर्दा जेठाको भागमा परेका थिए । कान्छाको भागमा परेकी बूढी अहिले पनि त्यहीँ छिन् । तीन वर्षपछि जेठो छोरो धन कमाउन साउदी गयो । त्यसको एक वर्षपछि जेठी बुहारीले ‘बुबा, घरमा खानेकुरा छैन, पैसा पनि छैन, अब म तपाईंलाई पाल्न सक्दिनँ भनी ।
त्यही वचन यो मुटुमा वाण लाग्यो, घर छोडें । परिवारका सबैलाई थाहा छ– नानी, म यहाँ छु भनेर, तर कोही पनि भेट्न आएका छैनन् । बरु गाउँलेहरू मलाई भेट्न आउँछन् । त्यो जेठो बसेको घरघडेरी हामी बूढाबूढीको जिउनी मेरै नाममा छ । बुहारीको वचनले वाण लागेर घर छोडेर आएँ । बस्नलाई यहाँ ढुक्क छ, तर सम्पत्ति र सन्तान छोडेर आएपछि मनमा चौबीसै घन्टा उनीहरूकै याद आउँछ ।
बाउको मुख हेर्ने औंसी आउँदै छ, उनीहरू मलाई वास्तै गर्दैनन् । म आ श्रममा बसे पनि बिहान सधैं पितृलाई सम्झेर जल चढाउँछु । म यहाँ बसे पनि सिरियस भयो भने यहाँबाट फोन गर्छन् त्यतिबेला छोरो आएर अन्तिम संस्कार र किरिया गरिदिए हुन्थ्यो ।
नौ दसक हिउँद–बर्खा पार गरेका काभ्रे दाप्चा– १ छत्रेबहालका कृष्णचन्द्र श्रेष्ठ छोडेको स्थान र सन्तानको याद गर्दैनन् । बरु दैनिक राति एक बजे उठेर स्नान गरी परमात्माको याद गर्छन् । न त उनलाई बितेको जिन्दगीप्रति गुनासो छ, न त बिताउन बाँकी जीवनको पिर नै । उनलाई एउटै मात्र पिर छ, अरूले कमाएर दिएको भिक्षा खाइरहेको छु, त्यो कसरी कटाऊँ ?
हुन त तीन छोरा, तीन छोरीसहित १५ जना नातिनातिनाका धनी कृष्णचन्द्रको नाममा आफू बसेको घडेरी अहिले पनि आफ्नै नाममा छ । छोराको दबाबका कारण त्यसलाई बेचेर दानदक्षिणा गर्न पाउँदैनन् । सुस्तरी पीडाको पोको खोल्दै कृष्णचन्द्रले भने– अरूको भन्दा मेरो कहानी बेग्लै छ । तीन छोरीको विवाह गरेँ । छोराहरूलाई जो भएको बाँडिदिन्छु, लिन आउनू भन्दा तीनैजनाले हामीलाई केही पनि चाहिँदैन भनेर छोडपत्रको कागज नै गरिदिए ।
बूढी र ममात्रै त्यो घरमा बस्दै आएका थियौँ । बूढीलाई प्यारालाइसिस भयो । पाँच वर्षसम्म बूढीलाई एक्लै स्याहारेँ । कोही फर्केर आएनन् । अन्तिम अवस्थामा ए अब तिमीहरूकी आमाको अन्तिम अवस्था आयो । आमालाई एकपटक मुख देखाउन आओ भनेर खबर पठाएँ, तर आएनन् । बितिसकेपछि पनि खबर पठाएँ ।
मलामी जम्मा भइसकेपछि पनि तीन घन्टा कुरेर बसेँ, आएनन् । घाटमा गएर पनि गाउँलेले फोन गरे, दागबत्ती दिनलाई भ्याउँछ कि भनेर कुरेर बस्यौं । नआएपछि मैले दागबत्ती दिएँ । लासको धुवा उड्न सुरु भएपछि तीनैजना छोरा एकैचोटी आएर हामी नआईकन कसले दागबत्ती दिएको भनेर हल्ला गर्न थाले ।
कान्छो क्रिस्चियन छ । माहिलोले पनि किरिया गर्दिन भन्यो । बल्लबल्ल गाउँलेले सम्झाएर जेठो र माइलोलाई किरियामा बसाएँ । आमाको किरिया सकेपछि कान्छोले जाउँ बा भन्यो, गएँ । १० दिन बितेपछि बुहारीले पाल्न सक्दिनँ भनी । छोराहरूले नपालेपछि बरु एउटा मान्छे पालेरै बसौँला भनेको घर जल्यो । त्यसपछि छोरीहरूकहाँ गएर तीन वर्ष बसेँ । छोरीको जस्तो मन ज्वाइँको हुँदैन, म जान्छु भन्दा छोरीहरूले मा दुःख गरिराखेका थिए ।
फुपूकी छोरीको सहयोगले यहाँ आएर बसेको छु । घर जलेपछि घडेरी मात्रै छ । अहिले भूकम्पपीडितको लागि राहत बाँडिराखेको छ । मलाई त्यो घडेरी देऊ बा, म घर बनाउँछु भनेर जेठो छोरो धाइरहेको छ । दुइटा त मुखै देखाउँदैनन् । छोरीहरू बेलाबेलामा भेट्न आउँछन् ।
मैले भनिदिएको छु, म मरेपछि किरिया कर्म केही पनि गर्नुपर्दैन । जिन्दगी भनेको केही होइन रहेछ, परमात्माको भजनबाहेक । पहिला यो विचार नै आउँदैन । मेरी श्रीमती, मेरा छोराछोरी, व्यापार–व्यवसाय भन्दै बित्दो रहेछ जब सबैले छोड्छन् । अनि परमात्मामा एकचित्त हुँदो रहेछ यो मन ।
अन्त्यमा तीनैजना वृद्धाले एकै स्वरमा भने– बाउआमाले भोगेर आएको अनुभवका आधारमा दिएको अर्तीलाई जमानाअनुसार मिलाएर हिँड्न सके जहाँ गए पनि जीवन सरल हुन्छ । संसारका कुनै पनि बाउआमाले आफ्ना छोराछोरी नराम्रो होस् भनेर सोच्दै सोच्दैनन् ।
व्यवहारमा रिसारिस गर्नु अलग कुरा हो । जिउँदालाई खुसी पार्ने र मरेकालाई तर्पण दिने सन्तानलाई मात्र सन्तुष्टि प्राप्त हुन्छ । निसहाय सेवा सदनमा बस्दै आएका ४० जना वृद्धवृद्धामध्ये ३४ जना वृद्धा र ६ जना वृद्ध छन् ।