संकीर्ण सोच र शैली
केही दिनअगाडि एकजना आफन्त मेरो घरमा आइन् र गेटभित्र छिर्न पाएको छैन भन्न लागिन्, 'ओहो बाबु, कत्रो ठूलो भइसकेछौ ? ' मैले पनि जवाफ फर्काइहालें, 'के गर्नु अन्टी, अरू उपाय पनि त छैन बढ्नुबाहेक हैन र ? ' उनले मुस्कुराउँदै भनिन्, 'ल बाबु, अब त बिहे गर्नुपर्छ, जागिर पनि छ । घरजम गरेर आमाबुबालाई नाति खेलाउन दिनुपरेन त ? ' उनको कुरा सुनेर झनक्क रिस उठ्यो र मनमनै भनें, 'भर्खर त २६ वर्ष पुगें, मेरा आमाबाबुलाई कुनै चिन्ता छैन, यिनलाई केको टाउको दुखाइ ? त्यस्तो हतार छ भने आफ्नै छोरा-छोरीको बिहे गर्दिनु नि ।' बाटोमा हिँड्दा छरछिमेकी पनि यस्तै प्रश्न तेस्र्याउने गर्छन् ।
युवायुवतीले घरपरिवार, आफन्त, समाजबाट बिहेसम्बन्धी यस्तैयस्तै दबाब व्यहोर्नुपर्छ । युवाको तुलनामा युवतीले यस्ता दबाब अझ बढी खेप्नुपर्छ । हाम्रो समाज बिहेको मामलामा अझ खुला र उदार भइसकेको छैन । समाज परम्परागत हिसाबले चल्ने गरेको छ । वास्तवमा बिहे भनेको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको हुन्छ, तर यहाँ समाजले बारम्बार त्यो स्वतन्त्रतामा दबाब र अंकुश लगाउने काम गर्छ ।
कतिपय बिहे त आफ्नो इच्छाले भन्दा पनि समाजलाई देखाउन मात्र पनि हुने गर्छ । यहाँ कोही बिहे ढिलै गर्न चाहन्छन् वा बिहे नगरी बस्न चाहन्छन् भने समाजले अनेक खोट देखाउन थाल्छ । इच्छा होस् या नहोस्, समाजलाई देखाउनकै लागि भए पनि धुमधामका साथ बिहे गर्नैपर्छ । ग्रामीण भेगमा त झन् यस्ता कुराले जरा गाडेको छ । तुलनात्मक रूपमा यो मामलामा सहरी क्षेत्र अली उदारै देखिन्छ ।
गाउँघरमा अझै पनि छोरीलाई अर्काको घर जाने जातको रूपमा हेरिन्छ । उनीहरू छोराको चाहनामा छोरीहरूलाई जन्म दिन्छन् । अचम्म त के भने मानिसहरूसँग छोरीलाई पढाउन पैसा हुँदैन तर उनीहरूलाई धुमधामसँग बिहे गर्न जति पनि पैसा हुन्छ । उनीहरू ऋण काढेरै भए पनि समाजलाई देखाउन बिहे गर्छन् । अझै पनि हाम्रो समाजमा बालविवाह प्रचलनमा छ ।
खेल्ने, लाउने उमेरमा उनीहरू अरूका घरमा जान बाध्य हुन्छन् र उनीहरूको दैनिकी चुलोचुम्कोमै बित्ने गर्छ । त्यो कलिलो उमेरमा बिहे गर्ने कत्तिलाई त बिहेको अर्थ पनि थाहा हुँदैन । हामी महिला हिंसा र उत्पीडनका कुरा गर्छौं, वास्तवमा यसको कारण हाम्रो सोच र परम्परागत समाज दोषी छ । छोरीलाई उचित शिक्षा प्रदान गरेर सबल, सुदृढ अनि आफ्नै खुट्टामा उभिन सक्ने बनाए उनीहरूलाई कसैले हेप्न सक्दैन । यहाँ त छोरीको जन्म हुन पाएको हुँदैन, बिहे कसरी गरिदिने भन्ने पिरलो सुरु हुन्छ ।
सहरी क्षेत्रमा पनि युवायुवतीले बिहेको मामलामा यस्ता दबाब खेप्नुपर्छ । एकजना मित्र थिइन् । प्लस टु सकिएको थिएन, घरपरिवार र आफन्तबाट बिहेको लागि अनावश्यक दबाब आउन थाल्यो । उनी अझै पढ्न चाहन्थिन् र जीवनमा केही गर्न चाहन्थिन् तर परिवार र आफन्तको दबाबको अगाडि उनको केही लागेन । बिहेको लागि केटा खोजियो । केटा अमेरिकाको पीआर होल्डर थिए । सुरुमा उनलाई आफ्नो पढाइ पूरा गर्न दिइने सर्तमा बिहे गरियो ।
छोरीलाई उचित शिक्षा प्रदान गर्न बाबु आमासँग पैसा नहुने तर धुमधामसँग बिहे गर्न जति पनि पैसा जुटाउने हाम्रो प्रवृत्तिमा परिवर्तन आउनु जरुरी छ ।
बिहेको केही दिनपछि नै उनी अमेरिका उडिहाले । ती मित्र भने सासू-ससुराको स्याहार गरेर बस्न बाध्य भइन् । उनको पढाइ अघि बढाउन पनि रोक लगाइयो । उनी अहिले भन्छिन्, 'बिहे गर्नुअघि बडो ध्यान दिनुपर्ने रहेछ, कसैको दबाबमा आएर गर्न नहुने रहेछ नत्र ठूलो दुर्घटना हुन्छ ।'
युवतीहरूलाई मात्र होइन, केटाहरूलाई पनि यस्ता दबाब आउँछन् । परिपक्व नहुँदै उनीहरू दबाबका कारण बिहे गर्छन्, जसले गर्दा अनगिन्ती समस्या निम्तिने गर्छ । मेरो एकजना मित्र थिए, उनले पनि घरपरिवारको दबाबका कारण चाँडै बिहे गरे । बिहेपछि उनले आफ्नो पढाइ पूरा गर्न खासै इच्छा देखाएनन् । अहिले उनको न कुनै पढाइ छ न त कुनै जागिर नै । उनी र उनकी श्रीमती अहिले परिवारको साहरामा बाँचिरहेका छन्, तर त्यो कति दिन टिक्ने हो त्यो समयले नै बताउला ।
दाइजो दिने प्रथा हाम्रो समाजमा प्रख्यात छ । गाउँघरमा मात्र होइन, सहरी क्षेत्रमा पनि यसले जरा गाडेको छ । पढेलेखेका मानिस पनि दाइजो माग्ने र दिने गर्छन् । बिहेमा देखाउनकै लागि उनीहरू तडकभडक गर्छन् । तराई क्षेत्रमा त झन् दाइजो प्रथाले जरा गाडेको छ । मेरो घरनजिकै एकजना छिमेकी छन्, जसको छोराको बिहे गरेको एक वर्ष भइसक्यो, तर उनको परिवारले दाइजो माग्न अझ छोडेका छैनन् । घरी बाइक माग्छन्, घरी दराज ।
यही कारणले उनलाई अनेक किसिमका मानसिक तनाव दिने गरिन्छ । कहिलेकाहीँ हाम्रो घरमा आएको बेला ती भाउजू गुनासो पोख्छिन्, 'एक वर्ष हुँदा पनि अझ दाइजो माग्न छोडेका छैनन् । मेरो बुबाको इज्जतमा आँच नआओस् र समाजले कुरा नकाटोस् भनेर म जेजस्तो भए पनि चुप लागेर सहन बाध्य छु । बुबा पनि छोरीको घरवार नबिग्रियोस् भनेर ऋण काढेरै भए पनि उनीहरूले भनेजति दाइजो मागे पनि दिँदै आउनुभएको छ ।'
यस्ता अपरिपक्व विवाहले नै अहिले डिभोर्स दिने चलन पनि बढ्दो छ । अनेक दबाबमा बिहे गर्ने गर्छन् र यो छोटो समयमै टुंगिने गर्छ । यसले व्यक्तिगत, पारिवारिक तथा सामाजिक सम्बन्धहरू नै फिका हुँदै गएको छ । हाम्रो समाजमा बिहे गर्नुपर्ने दबाब युवतीलाई पनि अनेक किसिमले आउँछन्, । त्यसैले उनीहरू पढ्दापढ्दै अनेक किसिमले यस्ता प्रस्ताव आए भने घरपरिवारबाट दबाब आउने गर्छ र उनीहरू पढाइ रोकेर पनि बिहे गर्न बाध्य हुन्छन् । बाबुआमालाई छोरी घरमा रहिरहे समाजले केही भन्ला कि भन्ने डर हुन्छ । त्यसैले पनि उनीहरू बिहे गर्न हतारिन्छन् ।
विवाह भनेको मानिसको स्वतन्त्रताको विषय हो । कोसँग बिहे गर्ने, कहिले बिहे गर्ने ? यो त अविवाहित युवकयुवतीको इच्छा हो । अहिले आम शिक्षित युवाको सोचाइ छ, आफू सबल भएपछि मात्र बिहे गरे त्यो स्थायित्व हुनेछ । छोरीलाई उचित शिक्षा प्रदान गर्न बाबु आमासँग पैसा नहुने तर धुमधामसँग बिहे गर्न जति पनि पैसा जुटाउने हाम्रो प्रवृत्तिमा परिवर्तन आउनु जरुरी छ । परिपक्व उमेर र अवस्थामा गरिएको बिहे नै स्थायी र बलियो हुन्छ । त्यसैले पनि बिहेप्रतिको संकीर्ण सोच र परम्परागत शैली व्यक्ति, परिवार र समाजबाटै फेर्न आवश्यक छ ।