जिम्मेवार बहन गर्नुअघि

जिम्मेवार बहन गर्नुअघि

जसरी पानी पिउनुअघि फिल्टर गरिन्छ, त्यसैगरी जिउन र जिम्मेवारी बहन गर्नु–गराउनुअघि निफन्नुपर्ने हुन्छ । पिउन, जिउन र निभाउनको लागि निफन्ने सीप र कलाको सदुपयोग गर्न सकिएन भने हरेक वस्तुको एकै दाम भने झैं सोलोडोलोमै चयन गर्ने प्रवृत्ति विस्तार हुने गर्छ ।

टका सेर भाजी, टका सेर सुनको मूल्य कायम गर्ने, भेद र विभेदका मापदण्ड र सर्तको परवाह नै नगरी ऊर्जा प्रयोग र विकास गर्ने दुश्चक्रमा हामी फसेकै हौं । परिवर्तनका लागि थुप्रै विषय र सन्दर्भलाई फ्युजन गर्न आवश्यक ठानियो । तर डिफ्युजन गर्दागर्दै कनफ्युजनको भुमरीमा भौंतारिन पुग्यौं ।

योग्य, अयोग्य, गुण–दोषको वस्तुपरक र औचित्यमूलक ढंगले वर्र्गीकरण नै गर्न सकिएन । गुणको ग्राह्यता कायम गर्न र दुर्गुणको निरुत्साहनको लागि गरिने आवश्यकीय तथा व्यवस्थापकीय प्रक्रिया भनेकै निफन्ने प्रक्रिया हो भन्ने बुझेर पनि नबुझ्नमै सजिलो महसुस गर्न थालियो । कविशिरोमणि लेखनाथले भनेझैं 'कौडीमा बिक्छन् भिल्लका देशमा मणि' गुणको खोजी र संवद्र्धनबाट योग्यता र अवसरको लागि त्याग र संघर्ष गर्नुपर्ने हुन्छ भन्ने संस्कृतिको विकास हुन्छ ।

हामीले बुझ्नुपर्ने कुरा के छ भने संघर्ष र संघर्षणबाट मात्र ऊर्जा निर्माण हुन्छ । विकास र समृद्धिको लागि आवश्यक पर्ने ऊर्जा निर्माण नै गर्न पछि परेका हामीले नयाँ नेपाल निर्माणको अभिभारा कसरी बोक्ने होला ? यो चिन्ता र चिन्तनको विषय बन्न गएको छ ।

अचानक र संयोगवशका आधारमा प्राप्त हुने अवसरले व्यक्तिगत लाभबाहेक समग्रमा हितकारी योगदान र उपलब्धि हासिल हुनै सक्दैन । माग पनि छ, सम्भावना पनि छ तर आपूर्ति र उत्पादन भने छैन । यो कस्तो विवशताको उदेकलाग्दो परिस्थिति होला ? बरु मागेर खाने, भागेर जाने तर संघर्षणबाट ऊर्जाको निर्माण हुन्छ भन्नेमा पटक्कै विश्वास नगर्ने ।

बिल गेट्सले भनेका थिए, तिमी गरिब भएर जन्मेको हो भने त्यसमा तिम्रो दोष छैन, तर तिमी गरिब भएरै मर्‌यौ भने त्यसमा तिम्रै दोष हुनेछ । जस्ताको त्यस्तै रूपमा मर्न, मार्नसमेत पाइन्न । समृद्धिको इच्छा साकार गर्न अन्तरनिहित रूपमा समाविष्ट क्षमता र सम्भवानाको पहिचान र उपयोग गर्नुपर्ने हुन्छ ।

अन्तर ल्याउने गरी रूपान्तरण गर्ने भनेको अन्तरको जन्तर मन्तर अर्थात् सूत्रमै सहमति नहुने, सबैले आआफ्ना मुद्दालाई दाउ बनाएर बस्ने हो भने समस्याले कति उचाइ लेला ? दोषजति आँगनलाई दिए पनि भयो, सबैभन्दा सजिलो सुतुरमुर्गी उपाय योभन्दा अरू के होला ? नाच्न जान्नेलाई नाच्न नलगाएर गोडा उचाल्ने जति सबै नर्तक हुने भएपछि गुण र दोष त एउटै फिक्कामा रहने नै भयो ।

जथाभावी प्रयोग हाम्रो नियति र संस्कृति बनेको छ । त्यसैले हामी अहिले पनि झाडापखाला, हैजाको प्रकोपमा छौं, जसरी फिल्टर नै नगरिएको पानी प्रयोगले रोग भित्र्याएका छौं, त्यसैगरी जथाभावी छनोट र योग्यताको अवमूल्यन गर्ने प्रवृत्तिका कारण राजनीतिक र प्रशासनिक प्रणाली कमजोर र पोषणरहित बन्दै गएको गुनासोलाई गलत ठहर्‌याउन मिल्दैन कि ?

हामीसँग सबै किसिमका कानुन भए पनि अमूर्त व्यवहार नियन्त्रण गर्ने छुट्टै कानुन नभएकाले पनि फोकटमा सपना बाँड्ने संस्कार हलक्कै बढेको छ र हामी पनि स्वप्निल संसारमा बेलगामको घोडा दोडाउनमै अभ्यस्त भएका छौं ।

हात्ती बलियो कि हात्तीछाप चप्पल बलियोभन्दा उस्तैउस्तै हो नानी भन्ने विज्ञापनजस्तै भिन्न सबलतालाई पनि दुर्बलताकै श्रेणीमा राख्दा निफन्ने प्रणाली कमजोर हुने गर्छ । खप्तड स्वामीको विचार विज्ञानको सारमा पनि बिरुवासँगै हुर्केका अनावश्यक झारपातबाट बिरुवालाई जोगाएजस्तै सुविचारलाई पनि व्यभिचारबाट जोगाउनुपर्ने उल्लेख गरिएको छ ।

आवश्यक, अनावश्यक, उपयोगी, अनुपयोगीबीचको सीमांकन गर्दा निफन्ने प्रणाली र संयन्त्रको आवश्यकता पर्छ, जुन प्रणाली योग्यतामा आधारित हुनुपर्छ । निफन्ने प्रणाली र प्रवृत्ति दुवै कमजोर भएकाले सबैथोक एउटैमा मिसिने, गुणको भिन्नता नछुट्टिने भएपछि मूल्यांकनका मापदण्ड पनि तदअनुरूप भैपरी आउने किसिमकै हुने भएकाले सुयोग्यताको विकासमा कसैले पनि खासै ध्यान दिएको देखिन्न ।

योग्यता कसौटीमै नपर्ने भएपछि क्षमताको प्रदर्शन र पुष्टिमा कसैले किन अनावश्यक रूपमा टाउको दुखाउनुपर्‌यो, उपयुक्त मौकामा चौका हान्ने गरी दाउ ढुकेर बसे भइहाल्यो । आखिर मौका आलोपालोको वृत्तमा घुमिरहेकै छ । त्यसैले त हामीले कुनै पनि विषयलाई सहज ढंगले हांसिल गर्दैनौं । घिउ झिक्न टेडो औंला गर्ने उक्तिलाई प्राप्तिको युक्ति बनाएका छौं । त्यसैले होला हामीकहाँ सबैभन्दा सस्तो र सुलभ रूपमा पाउने वस्तु भनेकै सपना मात्र हो ।

जसले फोकटमा सपना मात्र बाँड्ने गर्छ, तत् व्यक्ति र निकायलाई सो पुरा नगरेबापत जरिवाना सजाय हुने गरी छुट्टै ऐन–कानुनको तर्जुमा गर्न आवश्यक छ । हामीसँग सबै किसिमका कानुन भए पनि अमूर्त व्यवहार नियन्त्रण गर्ने छुट्टै कानुन नभएकाले पनि फोकटमा सपना बाँड्ने संस्कार हलक्कै बढेको छ र हामी पनि स्वप्निल संसारमा बेलगामको घोडा दोडाउनमै अभ्यस्त भएका छौं । सपना त जस्तो बाँडे पनि हुने निफन्नै नपर्ने गरी ।

संसारमा सपना मात्र त्यस्तो विषय हो, जसमा निफन्नुसम्बन्धी कुनै पनि नियम लागू हुँदैनन् । सपनामा अविश्वासको भाव उत्पन्न हुनासाथ सान्त्वनाको रणनीति अवलम्बन गरी पुनः फकाउने प्रयास गरिन्छ, यस किसिमको राष्ट्रिय चरित्रले नवनिर्माणको अभियान सफल हुन सक्दैन । निर्माणका लागि त योग्यतामा आधारित ऊर्जा आवश्यक पर्छ, जसलाई निश्चित मापदण्डको कसीमा निफनेर मात्र हासिल हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.