मनमनका कवि मोतीराम
नेपाली साहित्यका अमर विभूति युवककवि मोतीराम भट्ट अग्रज प्रतिभा हुन् । अझ समग्र रूपमा भन्नुपर्दा मोतीराम नेपाली साहित्य, समाज र देशप्रेमको ममतालाई जीवन्तता दिने प्रेरणाका आलोचक पनि हुन् । नेपाली साहित्यको छामछाम र छुमछुमको युगमा बदलीभित्र लुकेका जातीयताका कवि भानुभक्तबाट प्रारम्भ भएको भाषिक एकताका साथै साहित्यको सिर्जनामा रचनात्मक र सिर्जनात्मक कार्यलाई हुर्काउने दायित्व मोतीरामबाटै भएको हो ।
तथापि सारांशमा कवि मोतीराम नेपाली युवाहरूका लागि पनि प्रेरणाका आलोक हुन् । त्यसैले राष्ट्र र समाजको मर्मलाई बुझ्ने पारखीहरूको जन्म लाखौंमा एक पनि मुस्किलले हुने गर्दछ । युवककवि मोतीराम यही कोटीमा पर्छन् । पुग नपुग ३० वर्षको कलिलै उमेरमा मोतीरामले नेपाली वाङ्मयको बहुपक्षीय क्षेत्रमा समर्पण गरेको योगदानको वीरगाथा हिमचुली जस्तैछ । यिनै मूर्धन्य साधक मोतीरामको व्यक्तित्वलाई नेपाली समाजमा जीवन्त राख्ने कैयौं रचनात्मक कार्यहरूमध्ये युवावर्ष मोती पुरस्कार पनि एक हो ।
नेपाली राष्ट्रियताको क्षितिजमा अलिकति आकाश पाएर झुल्केका समाज र जातीयताका पुजारी, भाषामर्मज्ञ र भाषा एकीकरणकै विभूति कवि भानुभक्त आचार्यबाट प्रारम्भ भएको भाषिक र जातीय एकताका साथै रचनात्मक र सिर्जनात्मक वाङ्मयलाई हुर्काउने दायित्व मोतीरामबाट भएको हो । प्रत्येक वर्ष भाद्र कुशेऔंसीका दिन यिनै राष्ट्रिय विभूति मोतीरामको जन्मजयन्ती मनाउने परम्परा कायम रहेको छ । अब त एक किसिमले यो ऐतिहासिक परम्परा नै बनिसकेको छ ।
भानुभक्तपश्चात् नेपाली साहित्यमा एउटा अत्यन्त उत्साही युवक साहित्यिक आन्दोलनका बहुप्रतिभाशाली नेता मोतीराम भट्टको उदय भयो । उनको उदयबाट नेपाली साहित्यमा योगदान पुगेको छ । आदिकवि परलोक हुनुभन्दा दुई वर्षअघि वि.सं.१९२३ साल भाद्र कुशेऔंसीका दिन काठमाडौंका पण्डित दयाराम भट्टको कुलमा जन्मेका मोतीराम तीस वर्षको उमेरमा नेपाली साहित्यमा राष्ट्रिय विभूतिद्वारा सम्मानित हुन पुगे ।
मोतीरामको मन आधुनिक मात्र होइन उनी परिवर्तनका अनुयायी थिए । पण्डित कुलमा जन्मेका र सानै उमेरमा बाबुआमासँग बनारसमा गई संस्कृतको अध्ययन गरेका उनी धेरै भाषाका ज्ञाता थिए । उनी प्रतिभाका बेजोड धनी थिए । नेपाली साहित्यमा मोतीराम शृंगारधाराका प्रवर्तक र प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा मोतीरामले खेलेको संस्थागत भूमिका ज्यादै उल्लेखनीय छ । मोतीराम कविमण्डलीका अतिरिक्त रसिक समाजका पनि संस्थापक हुन् ।
नेपाली साहित्यको माध्यमिककालमा मोतीराम मूलत तीन तथ्यका लागि सही आन्दोलक भए । प्रथमतः उनले बदलीभित्र लुकेका भानुभक्तलाई उनका कृति सङ्कलन गरी प्रचारप्रसार गरे दोस्रो अद्वितीय समर्पण तेस्रो निस्वार्थका साथ भानुभक्तपछि चक्रपाणि चालिसे र लेखनाथ पौड्याल नआएसम्मको साहित्यिक युगलाई समेत उनले प्रतिनिधित्व गरेका थिए । मोतीरामले वाङ्मयको उत्थानका निम्ति अत्यन्त महत्त्वपूर्ण कार्य गरेका छन् । यस क्षेत्रमा उनको चौतर्फी ध्यान पुगेको देखिन्छ ।
मोतीरामले एकातिर विभिन्न कृतिहरू रचना गर्दै गए भने अर्कातिर अन्य लेखक कविहरूका कृतिहरूलाई छाप्ने प्रबन्ध मिलाएर पहिलोपटक नेपाली साहित्यमा कृतिहरू सार्वजनिक गरे । मोतीराम आफू त कवि छँदै थिए, त्यसमा पनि उनले आफ्ना समकालीन कविहरूलाई साहित्य लेखनतर्फ प्रेरणाको हुटहुटी नै जगाए । राष्ट्रिय योगदानको आधार शृंखला हेर्ने हो भने मोतीरामका अनगिन्ती कृतिहरू प्रकाशित छन् ।
उनका मौलिक कृतिहरूको चर्चा गर्दा सर्वप्रथम सम्वत १९४४ सालमा प्रकाशित काव्य उषाचरित्रलाई लिइन्छ । नेपाली साहित्यमा कविता, काव्य, नाटक, पत्रकारिता, जीवनी, गजल, संवाद र सम्पादन विधामा कलम चलाएका मोतीरामका प्रकाशित कृतिहरू क्रमशः मनोद्वेग–प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, वालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, संगीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् र कवि भानुभक्तको जीवनचरित्र रहेका छन् ।
कवि मोतीरामले भानुभक्तीय रामायणको पनि अनुवाद सम्पादन गरेका छन् । यसका साथै मोतीरामका दुई दर्जनभन्दा बढी फुटकर कविताहरू रहेका छन् भने गजल र गीतको पाटो त्यत्तिकै बलियो छ । समस्यापूर्ति कविताले उनको प्रतिभाको थप परिचय दिएको छ । काव्यअन्तर्गत रहेको उनको शृंगारिक कविता पिकुदूत ज्यादै मीठो काव्य हो । पिकदूत पहिलोपटक संवत् १९७४ सालमा सुक्तिसिन्धुमा प्रकाशित भएको हो । सुक्तिसिन्धु नेपाली साहित्यजगतमा प्रभावकारी भूमिका खेल्ने अनेकन कविहरूका शृंगाररस प्रधान कविताहरूको संकलन हो ।
कवि मोतीरामले नेपाली पत्रिका गोर्खा भारत जीवनको पनि सम्पादन कार्य गरेका थिए । नेपाली साहित्यमा मोतीरामले पुर्याएको योगदानका विविध पाटाहरूमध्ये समीक्षात्मक जीवनीसंग्रह कवि भानुभक्तको जीवनचरित्र प्रकाशित गर्नु एउटा महत्त्वपूर्ण कार्य हो । नेपाली साहित्यमा पहिलो जीवनीपरक समालोचनात्मक कृति कवि भानुभक्तको जीवनचरित्र संवत् १९४८ भदौमा भारत जीवन यन्त्रालय काशीबाट सार्वजनिक गरेपछि भाषासाहित्यको क्षेत्रमा भानुभक्तको व्यक्तित्व र कृतित्वको बारेमा चिन्तनमनन, अध्ययन–अनुसन्धान, चर्चा–परिचर्चा, वादविवाद, बहस अन्तरबहस र टीकाटिप्पणीहरू आ–आफ्नै अध्ययन, शैली, क्षमता र अनुभवहरूको आधारमा हुन थाले ।
यो क्रम भानुभक्तको जीवनी सार्वजनिक भएको एक सय बीस वर्ष बितिसक्दा पनि तथ्यपरक उठानको भ्रम निरूपण हुन सकिरहेको छैन । कवि भानुभक्तको जीवनचरित्र भानुभक्त जन्मेको ७८ वर्ष र निधन भएको २४ वर्षपछि मोतीरामले २५ वर्षको उमेरमा प्रकाशित गरेका हुन् । नेपाली वाङ्मयको क्षेत्रमा कवि, नाटककार, गजलकार, जीवनीकार, समस्यापूर्तिकार समालोचक, अन्वेषक, पत्रकार, पत्रिका तथा छापाखाना प्रबन्धक एवं पुस्तकालयको संस्थापकका रूपमा उनको योगदानको मूल्यांकन गर्न सकिन्छ ।
नेपाली समाजको तत्कालीन परिवेश पनि संस्कृतकै विद्वानहरूको आधिपत्य जस्तै थियो, तापनि भानुभक्तले नेपाली भाषामा रामायण लेखेर परिस्थितिलाई कडा चुनौती भने दिएका थिए । मोतीरामको कालसम्म नेपाली भाषाले प्रतिष्ठापूर्ण स्थान लिन त्यति सकेको थिएन । जहानियाँ शासनको समय उर्दु र फारसीको प्रभावले नेपाली भाषा फस्टाउन नसकेको अवस्थामा नाटकहरू पनि उर्दु र फारसी भाषामा नै मञ्चन हुन्थे ।
त्यस प्रकारको परिपाटीलाई अन्त्य गरी शकुन्तला र प्रियदर्शिका नाटक मोतीरामले नेपाली भाषामा मञ्चन गरेका थिए । राष्ट्रप्रेमप्रति उन्मुख मोतीरामलाई मात्र होइन मानिसको जीवनका तीन अवस्था शैशवावस्था, किशोरावस्था र युवावस्थामा काल विभाजन गर्दा समय कति पो रहन्छ र ? तर पनि मोतीरामले अल्पायुमै भाषा र साहित्यको श्रीवृद्धि र प्रतिष्ठाका लागि जति गरे त्यो नै असाधारण छ ।
उनलाई राष्ट्रिय विभूतिका रूपमा देशले सम्मान गरेकै कारण युवककवि भनेर सम्बोधन र स्मरण गर्नुको पछाडि सबल कारकहरू पर्याप्त छन् । मोतीराम ३० वर्षमात्र बाँचे, तीसै वर्षको अल्पायुमा नेपाली भाषा र साहित्यको सेवामा गरेको योगदान अविस्मरणीय छ । नेपाली साहित्यमा उनले खडा गरेको मोतीमण्डलीको पनि आफ्नै योगदान छ । मोतीरामका अनेकन फुटकर कविताहरूमध्ये अचल झन्डा प्रसिद्ध राष्ट्रिय कविता हो । नेपालको महिमा प्रस्तुत गरिएको अचल झन्डा कविताको विशेष महत्त्व छ–
समाज र जातीयताका पुजारी, भाषामर्मज्ञ र भाषा एकीकरणकै विभूति कवि भानुभक्त आचार्यबाट प्रारम्भ भएको भाषिक र जातीय एकताका साथै रचनात्मक र सिर्जनात्मक वाङ्मयलाई हुर्काउने दायित्व मोतीरामबाट भएको हो ।
युवककवि मोतीराम भट्टको भावना आकाशजस्तो निर्मल थियो । आफ्ना युगमा अरूलाई उठ्न नदिएर आपूmमात्रै अगाडि बढ्ने संकुचित भावना उनमा बिल्कुलै थिएन । मोतीराम साहित्य सिर्जनामा आफ्ना अग्रज, समकालीन र उत्तरवर्ती सर्जकहरूलाई अगाडि बढाउन चाहन्थे । कसैको प्रशंसा गर्दा निर्भीक भएर गर्ने विलक्षण गुण मोतीराममा थियो । उनले कविको वर्गीकरण पनि सहजकवि र संसर्गीकवि अर्थात् स्वाभाविक र कृतिमकवि भनेर विभाजन गरेका छन् ।
सहजकविको तुलनामा संर्गीकवि कहिल्यै पनि पुग्न सक्दैन भन्ने मोतीरामको मूल्यांकन शाश्वत छ । त्यसैले आफ्ना अग्रजकवि भानुभक्तलाई कतै कविकुल मुकुट माणिक्य र कतै कवि चक्रचूडामणि भनेका छन् भने समकालीन कवि राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कविवर तथा उपदेशमञ्जरीका सिर्जनाकार कवि तीर्थराज पाण्डेलाई कविकेशरीको उपाधि दिएका छन् ।
यसरी नेपाल राष्ट्र र नेपाली भाषासाहित्यको विकासमा अविस्मरणीय योगदान दिएका मोतीरामको वि.सं. १९५३ साल भाद्र महिना आफू जन्मेकै दिन पशुपति आर्यघाटमा निधन भयो । नेपाली साहित्यमा प्रशस्तै कीर्तिमान कायम गरेर सफलता प्राप्त गरेका मोतीरामले १४ वर्षको उमेरमा वि.सं. १९३७ मा विवाह गरे पनि सन्तान भने भएनन, तर उनले गरेको सम्पूर्ण सेवा र कृतिहरू नै नेपाली साहित्यको लागि औरस सन्तान सरह जीवन्त र कालजयी भएर रहनेछन् ।
कवि मोतीरामको परिवारमा आमा, बाबु र एक बहिनीमात्र भएको देखिन्छ । एउटैमात्र छोरा मोतीरामको निधन पछि पं. दयाराम भट्टले पुनः अर्को विवाह गरेका थिए र त्यसबाट एक छोरा रामेश्वर भट्टको जन्म भयो । नेपाली भाषा साहित्यको उन्नतिमा सदा समर्पित मोतीरामको जीवन भने सुखमय रहन सकेन । त्यसैले कवि मोतीरामले ३० वर्षको कलिलै उमेरमा नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा के गरेभन्दा पनि के गरेनन् भनेर अध्ययन गर्नु पर्ने अवस्थाप्रति विमति रहँदैन ।