स्वास्थ्यबारे छलफल गर्न विज्ञहरू कोलम्बोमा

स्वास्थ्यबारे छलफल गर्न विज्ञहरू कोलम्बोमा

श्रीलंका (कोलम्बो): नेपालसहित दक्षिणपूर्वी एसियाका स्वास्थ्य समस्या र समाधानका लागि अपनाउनुपर्ने दीर्घकालीन नीतिबारे विस्तृत छलफल गर्ने उद्देश्यले सोमबार श्रीलंकाको कोलम्बोमा विश्व स्वास्थ्य संगठनको क्षेत्रीय बैठक सुरु हुने भएको छ ।

पाँच दिनसम्म चल्ने संगठनको दक्षिपूर्वी एसियाको क्षेत्रीय कमिटीको ६९ औं बैठकको श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रम सिंघेले उद्घाटन गर्ने भएका छन् ।

बैठकमा नेपाली स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दा र त्यसको सुधारका लागि भइरहेको कामबारे जानकारी दिन र अन्य मुलुकका मुद्दामाथि छलफल गर्न स्वास्थ्यमन्त्री गगन थापासहित मन्त्रालयका तीनजना विशेषज्ञ कोलम्बो आएका छन् । बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, इन्डोनेसिया, थाइल्यान्डलगायत दक्षिपूर्वी एसियाका ११ मुलुकका स्वास्थ्यमन्त्री र विज्ञबीच छलफल चल्नेछ ।

यस क्षेत्रका बासिन्दाको स्वास्थ्य स्थिति सुधार गर्न र उनीहरूलाई हरेक किसिमको उपचार सेवाको पहुँचमा पुर्‌याउने चुनौती भइरहेका बेला स्वास्थ्यमन्त्री र विज्ञहरू छलफल गर्न लागेका हुन् । आइतबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा संगठनको दक्षिणपूर्वी एसियाकी जनसम्पर्क अधिकृत सामिला शर्माले बैठकबारे जानकारी दिएकी थिइन् ।

संगठनकी मातृ तथा नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य संयोजक डा. निना रैनाका अनुसार मातृ तथा बाल मृत्युदर, कुपोषण, बसाइँ सराइले निम्त्याएको रोगलगायत विषय छलफलका एजेन्डा बन्नेछन् । एन्टिमाइक्रोवायल रेजिस्टेन्स (औषधिको प्रतिअसर कम हुनु) कम गर्न हरेक देशले नीतिगत तहमा खेल्नुपर्ने भूमिकाबारे पनि बैठक केन्द्रित हुनेछ ।

यस्तै नयाँ रूपबाट देखापरेका रोग नियन्त्रणका लागि सबै मुलुकले अनिवार्य लागू गर्नुपर्ने अन्तर्राष्ट्रिय स्वास्थ्य नियमको अवस्थाबारे पनि बैठकमा चर्चा गरिनेछ । सम्मेलनमा सहभागी संगठनका नेगलेटेड ट्रोपिकल डिजिजका क्षेत्रीय सल्लाहकार डा. मोहम्मद जामसिडका अनुसार नेपाललगायत दक्षिण एसिया क्षेत्रमै ओझेलमा परेको तर धेरै मानिसको ज्यान लिइरहेका कालाजार, हात्तीपाइले, कुष्ठरोगलगायत नेग्लेग्टेड ट्रोपिकल डिजिज नियन्त्रणका लागि केकस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा ११ मुलुकमध्ये विश्वव्यापी तय गरिएका स्वास्थ्यका सूचकांक पूरा गर्न नसकेका मुलुकलाई कसरी सहयोग गर्ने र पूरा गर्न सकेका मुलुकबाट के सिक्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

बैठकमा संगठनका महानिर्देशक डा. मारग्रेट चन, संगठनस्थित दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपालसिंह, अन्य स्वास्थ्यका विज्ञहरू र सरकारी क्षेत्रका वरिष्ठ चिकित्सकले सहभागिता जनाएका छन् । संगठनको उक्त बैठक हरेक वर्ष विभिन्न मुलुकमा हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.