जमिन चिरा परेपछि स्थानीयमा त्रास
म्याग्दी: म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन्।
बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पुर्याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी टीका पुर्जा मगरले बताए। उनका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयवासी १० घरपरिवारले बेग गाउँमा आफन्तको घरमा सर्ने तयारीसमेत गरिसकेका छन्।
अविरल वर्षाको कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम झनै बढेको स्थानीयवासीले बताएका छन्। यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुङ्गेपुलमा समेत खोलामा आएको बाढीले क्षति पुर्याएको छ भने पहिरो र बाढीले बालबालिकालाई समेत विद्यालयमा आवतजावत गर्न समस्या सृजना भएको छ। हालसम्म बेगखोला गाविसमा गाविस–६ का ११ घरधुरीसहित बाढी र पहिरोले १५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ।
पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको वडा नम्बर ४ का नगेन्द्र विक, वडा ६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिए। उनका अनुसार स्थानीय शिव प्राथमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले बेगखोलाकै कृष्ण निमावि बाँदुकमा कक्षाकोठा भवन भत्किएको छ। रासस