त्रिशूली नदीमा फेरि ट्रक खस्यो, दुई जनाको मृत्यु
चितवनः त्रिशूली नदीमा ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ९९०३ नम्बरको ट्रक मंगलबार बिहान पृथ्वीराजमार्ग अन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
मृतक दुईजनामध्ये बाराका राजकुमार साह रहेको र अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए।
दुर्घटनामा परी बारा कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बारा बलरामपुरका २५ वर्षीय भुवनदेव साह गम्भीर घाइते भएका छन्। घाइते दुवैजनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको एसपी कुँवरले बताए।