काठमाडौंमा हैजाको सक्रमण
काठमाडौँः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंँमा १९ र भक्तपुरमा एक जनामा जीवाणु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो ।
महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ । लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् ।
महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ । समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ ।