अमिताभले नातिनीलाई भनेः तिमी स्कर्टको लम्बाईमा चरित्र नाप्न नखोज

अमिताभले नातिनीलाई भनेः तिमी स्कर्टको लम्बाईमा चरित्र नाप्न नखोज

बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चनले सोमबार आफ्ना नातिनीहरुलाई सम्बोधन गरि लेखेको पत्र अहिले भाइरल बनेको छ । आफ्ना छोरा अभिषेक र बुहारी ऐश्वर्याबाट जन्मेकी नातिनी आरध्या र छोरी श्वेता र ज्वाँई निखिलबाट जन्मेकी नातिनी नव्यालाई सम्बोधन गरि लेखेको यो पत्रमा बच्चनले लैंगिक विभेदको विरुद्ध आफूलाई उभ्याएका छन् । बच्चनको पत्रको नेपाली अनुवाद ।

‘मेरा प्रिय नव्या र आरध्या ।
तिमीहरुले आफ्ना कलिला काँधहरुमा निकै मूल्यवान विरासत बोकेका छौ । आरध्या तिम्रो काँधमा तिम्रो जिजुबाजे डा. हरिवंश राय बच्चनको विरासत छ भने नव्या तिम्रोमा श्री एचपी नन्दाको ।

तिमीहरु दुवैका जिजुबाजेले तिमीहरुलाई प्रख्यात यश, प्रतिष्ठा र मान्यता भएको थर दिनुभएको छ ।

तिमीहरु दुवै नन्दा वा बच्चन हौ तर तिमीहरु केटीहरु पनि हौ...महिलाहरु !

र तिमीहरु महिला भएकैले मानिसहरुले उनीहरुका विचार र उनीहरुका बन्धनहरु तिमीहरुमाथी थोपर्नेछन् । उनीहरुले तिमीहरुलाई भन्नेछन्, के लगाउने, कसरी लगाउने, कसरी व्यवहार गर्ने । उनीहरुले निधो गर्नेछन् तिमीहरुले कसलाई भेट्न हुन्छ, कहाँ जान हुन्छ, कहाँ हुँदैन । मानिसहरुको धारणाको छाँयामा नबाँच । आफ्नै ज्ञानको प्रकाशमा आफ्नो रुची आफै बनाउ । कसैलाई पनि तिमी आफ्नो स्कर्टको लम्बाईमा आफ्नो चरित्र नाप्छौ भन्ने नगराऊ । कसैलाई पनि तिम्रो साथी को हुनुपर्छ भन्ने धारणा बनाउन वा कोसँग तिमीले मित्रता गाँस्नुपर्छ भन्ने निर्णय गर्न नदेऊ ।


तिमीले विवाह गर्न चाहने बाहेक अरु कुनै पनि कारणले विवाह नगर । मानिसहरु कुरा काट्नेछन् । उनीहरु सम्भवतः भयानक कुरा गर्नेछन् । तर यसको अर्थ तिमीले सबैको कुरा सुन्नुपर्छ भन्ने होइन । ‘मान्छेले के भन्लान्’ भन्नेमा कहिल्यै चिन्तित नहोऊ ।

तिम्रा हरेक कामहरुको अन्त्यमा त्यसको परिणामसँग जुध्ने तिमी नै हुनेछौ त्यसैले तिमीबारेको निर्णय अरुलाई गर्न नदेऊ ।
नव्या– तिम्रो नामसँग जोडिएको थरले दिने सेवा, सुविधाले तिमी महिला भएकैले सामना गर्नुपर्ने समस्याहरुबाट जोगाउने छैन ।
आरध्या – तिमीले यो पत्र पढ्ने र बुझ्नेबेलाको हुँदासम्म सम्भवतः म रहनेछैन । तर मलाई लाग्छ मैले आज भनेको त्यतिबेला पनि सान्दर्भिक हुनेछ।

यो संसारमा महिला हुनु गाह्रो छ । तर मलाई विश्वास छ, तिमीहरुजस्तै महिलाहरुले यो संसार फेर्नेछौ । आफ्ना सीमा आफैले तोकेर, आफ्नो निर्णय आफैले गरेर, मानिसहरुको धारणाबाट माथी उठेर यो काम गर्न त्यति सजिलो हुनेछैन । तर तिमीहरु... तिमीहरु जहाँसुकैका हरेक महिलाको निम्ति उदाहरण बन्नसक्नेछौ ।

यसै गर र यस्तो गर्दा तिमीहरुले मैले अहिलेसम्म गरेभन्दा धेरै गरेको हुनेछौ । र त्यतिबेला अमिताभ बच्चन भन्दा पनि तिमीहरुको हजुरबुवा भनेर चिनिंदा मलाई बढी सम्मान हुनेछ ।

मेरो सम्पूर्ण माया सहित ।
तिमीहरुको दादाजी.. तिमीहरुको नाना ।

अनुवादः लक्ष्मण श्रेष्ठ

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.