लोकरक समूह नेपथ्य फेरि विदेशतर्फ
काठमाडौंः विदेशमा रहेका नेपाली संगीतप्रेमीको निम्तो स्वीकार्दै स्थापित लोकरक समूह नेपथ्यले फेरि प्रवास यात्राको घोषणा गरेको छ । सेप्टेम्बर महिनामा नेपथ्यले तीनवटा प्रमुख सहरमा नेपाली संगीतको स्वाद पस्कनेछ । पहिलो यात्रा भने दक्षिण कोरियाबाट हुने नेपथ्य समूहले जनाएको छ ।
कोरियाको राजधानी सिउलस्थित प्रख्यात ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस) मा ब्यान्डको पहिलो प्रस्तुति हुनेछ । जुन ठाउँमा एकसाथ तीन हजार दर्शकलाई अटाउने क्षमता छ । उक्त कार्यक्रम त्यहाँस्थित ‘तामाङ समाज’ले प्रस्तुत गर्न लागेको हो ।
कोरिया आफैं त्यहाँको महŒवपूर्ण पर्व ‘चुसक’मा रमेका बेला नेपाली सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । चुसकलाई रैथानेहरूले परिवार र आफन्तसँग आनन्द लिने अवसरका रूपमा मनाउँछन् ।
रोजगारी वा अध्ययनका लागि त्यहाँ पुगेका आप्रवासीको निम्ति यो साथीभाइसँग भेटघाट र रमाइलो गर्ने क्षण बन्ने गरेको छ । सेप्टेम्बर १५ तारिखका दिन रमाइलो मनाइरहेका स्थानीय र आप्रवासीलाई अझ स्मरणीय बनाउने प्रयास नेपथ्यले गर्ने नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ बताउँछन् ।
दक्षिण कोरियाको कार्यक्रमपछि केही समय नेपाल फर्कने र पुनः अमेरिकाका दुईवटा सहरमा आफूलाई प्रस्तुत गर्ने श्रेष्ठले बताए । अमेरिकामा पहिलो कार्यक्रम २४ सेप्टेम्बरका दिन न्युयोर्कमा आयोजना हुनेछ । नेपथ्यले पहिलो कार्यक्रम म्यानहटनको प्रसिद्ध ह्यामस्र्टेन बलरुममा गर्नेछ । जहाँ गत वर्ष टोलीले यहाँका दर्शकलाई दुई घन्टा नचाएको थियो ।
‘वल्र्ड फेसन परेड’ले आयोजना गरिरहेको ‘फेसन विक’ कै मुख्य प्रस्तुतिका रूपमा नेपथ्यको यो कन्सर्ट गर्न लागेको हो ।
न्युयोर्कपछि नेपथ्यले पश्चिमी कुनामा रहेको विश्वकै सुन्दर सहर सानफ्रान्सिस्कोमा आफ्नो प्रस्तुति दिनेछ । अक्टोबरको पहिलो दिन सहरकै महत्वपूर्ण हल ‘वारफिल्ड थिएटर’ मा ब्यान्ड प्रस्तुत हुने श्रेष्ठले बताए । संयोगले त्यो नेपालीको महान् चाड दसैेंको पहिलो दिन घटस्थापनाको दिन पर्नेछ ।