विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक काफ्लेद्वारा राजीनामा
काठमाडौंःनेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
काफ्लेले शुक्रवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्यकारी निर्देशकबाट राजीनामा दिएको पत्र बुझाएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले अन्नपूर्ण अनलाइनलार्इ जानकारी दिए।
स्वकिय सचिव मल्लका अनुसार काफ्लले शुक्रवार बिहान १० बजे नै प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डलार्इ राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पत्र बुझाएपछि काफ्लेले कुनै प्रतिक्रिया नदिइ प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए। काफ्लेको कार्यकाल आउँदो मंसिर १७ मा सकिँदै थियो।
खुला प्रतिष्पर्धाबाट प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक भएका काफ्लेलाई यसअघि गत आइतबार ऊर्जा मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोलाएर राजीनामा गर्न भनेका थिए। मन्त्री शर्मालाई आफू खुल्ला प्रतिस्पर्धाबाट आएको भन्दै काफ्लेले राजीनामा नदिने जवाफ दिएका थिए।
खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक बनेका रामेश्वर यादव ट्रान्सफर्मर काण्डमा दोषी ठहर भएर पदमुक्त भएपछि २०७१ कात्तिक १३ गते बसेको मन्त्रिपरिषद बैठकले काफ्लेलाई प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो।
खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त भएका यादव ९ महिनामै ट्रान्सफर्मर काण्डमा मुछिएपछि पदमुक्त भएका थिए। त्यसपछि मन्त्रिपरिषदको निर्णयअनुसार कार्यकारी निर्देशकको पद वैकल्पिक उम्मेदवारका रुपमा नाम निकालेका काफ्लेले सम्हाल्दै आएका थिए।