प्रचण्डलाई उपेन्द्रको सुझाव,‘दिल्लीबाट फर्कदा बिल्ली बन्न नपरोस्’
काठमाडौंः संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्विपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए। उनले भने,‘आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, त्यसैले जाने वेलामा दिल्ली जाने तर फर्कने वेलामा बिल्ली बन्न नपरोस्।’
यादवले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने बताएका छन्। उनले अघि भने,‘मुलुकका बर्निङ् इस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ।’
प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा यादवले भने,‘हुन त स्वयम प्रधानमन्त्रीले पनि भारत भ्रमणको बारेमा केही माग्न जान लागेको होईन भन्नुभएको छ, तर पनि जनतालाई सुसूचित गर्नुपर्छ।’
उनले प्रधानमन्त्री दाहालले भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाए। यादवले भने,‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि।’ उनले प्रधानमन्त्रीलाई विदेशी सहयोग लिन चाहेको भएपनि अझै प्रशस्तै समय रहेको भन्दै व्यंग्य गरे।
तीन बुँदे सहमतिमा सरकार प्रवेश गरेकै छैन
यादवले सरकारले संविधान संशोधन त परै जाओस मोर्चासँग गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप समेत लगाए।
उनले भने,‘गृहकार्य भैरहेको छ भनेर बाहिर कुरा आएको छ, तर कहाँ भएको हो, मलाई त थाहा छैन, यदि घरभित्र भएको हो भने हामीलाई थाहा छैन्।’