ओलीले प्रचण्डलाई भनेः हिजोको भाषण कि मयुर नाच !
काठमाडौँः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमा गरेको सम्बोधनलाई ‘मयुर नाच’को संज्ञा दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारप्रति आक्रमक देखिएका एमाले अध्यक्ष समेत रहेका ओलीले शुब्रबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘हिजो संसदमा एउटा भाषण सुन्यौँ कि मयुर नाच !’
‘राष्ट्रको समृद्धिमा युवाको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले प्रचण्डको भाषणलाई मयुर नाचको संज्ञा मात्र दिएनन् सम्बोधन हावादारी भएको समेत आरोप लगाए ।
ओलीले प्रचण्डको भाषणमा भारत भ्रमण र चीनका राष्ट्रपतिको नेपाल भ्रमणबारे केही नबोलेकोप्रति समेत आपत्ति जनाए । ‘के के भन्नुभयो भन्नुभयो पत्तै पाइएन,’ ओलीले भने, ‘भारतबारे केही बोल्नुभएन अनि चीनका राष्ट्रपतिको भ्रमण स्थगीतबारे नै चुहाउनुभएन ।’
ओलीले भारतसँग राम्रो सम्बन्ध बनाउने दाबी गरेका प्रचण्डलाई राम्रो सम्झौता गरेर देखाउन समेत चेतावनी दिए । उनले त्यो सम्झौता देशहितको पक्षमा हुनुपर्नेमा समेत जोड दिए । ‘राम्रो सम्झौता गरेर देखाउनुहोस् तर त्यो सम्झौता देशहितको पक्षमा हुनुपर्छ,’ ओलीले भने ।