वीरगन्ज नगरपालिकाका प्रमुख कर्मचारीबाटै कुटिए

वीरगन्ज नगरपालिकाका प्रमुख  कर्मचारीबाटै कुटिए

वीरगन्जः वीरगन्ज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत कर्मचारीबाट कुटिएका छन् ।  कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालालाई प्रशासन शाखाका प्रशासकीय अधिकृत रामदयाल यादवले शुक्रबार दिउँसो कुटपिट गरेका हुन् । 

आफनो कार्यकक्षमा बसिरहेका बेला दिउँसो साढे १२ बजे अचानक आएका प्रशासकीय अधिकृत यादवले आफूमाथि कुटपिट गरेको कोइरालाले बताए ।
‘म आफनै कार्यकक्षमा बसेको थिएँ, अचानक भित्र छिरेका यादवले मेरो मुखमा मुक्का हाने’, कोइरालाले भने, ‘मलाई उनले किन मुक्का हाने त्यसको कारण थाहा छैन, अहिले म निक्कै तनावमा छु, पछि कुरा कुरा गरौँला ।’

आफूमाथि भएको हातपातको घटनाका विषयमा पर्साका प्रमुख जिल्ला अधिकारलिाई जानकारी गराइसकेको उनले बताए ।  कार्यकारी अधिकृत कोइरालालाई हातपात गरेपछि प्रशासकीय अधिकृत यादव फरार भएका छन् । उनको खोजी भइरहेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

उपमहानगरपालिका कार्यालयमा करारमा नियुक्त भएका सवारी चालकहरुको तलब बृद्धि सम्बन्धि विषयमा कार्यकारी अधिकृत कोइरालाले प्रशासन शाखाको राय सुझाव टिप्पणी माग गरेपछि रायसुझावका लागि सिफारिस गराउन भन्दै प्रशासन शाखामा चालकद्वय राजेश क्षेत्री र राजेन्द्र नेपाली गएका थिए ।

कागजातमा प्रशासकीय अधिकृत यादवले नियम विपरित सिफारिस गर्न नमानेपछि चालकद्वय र प्रशासकीय अधिकृत यादव बीच विवाद भएको थियो ।
विवादका क्रममा चालक क्षेत्रीले प्रशासकीय अधिकृत यादवको टेबुलमा मुक्का हानेर ठटाएपछि दुवै पक्षबीच धक्काधक्की समेत भएको थियो । त्यस क्रममा कार्यालयका पियन महादेव यादव घाइते भएका छन् । उनको नारायाणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । 

यही विवादपछि प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालामाथि कुटपिट गरेको कर्मचारीको भनाइ छ । घटनापछि उपमहानगरपालिकाका कर्मचारी युनियनको बसेको बैठकले स्वायत शासन ऐन अन्तरगत अधिकृत यादवलाई कार्यवाही गर्ने  र यसका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्दा दर्ता गराउने निर्णय गरेको छ ।

 प्रशासकीय अधिकृत यादवले भने आफूले कार्यकारी अधिकृत कोइरालालाई हातपात नगरेको दावी गरे। घटनापछि कार्यालय छाडेर हिडेका यादवले अन्नपूर्णपोष्टसँग टेलिफोनमा कुरा गर्दै मादक पदार्थ सेवन गरेर आएका चालकद्वय क्षेत्री र नेपालीले आफूलाई नै कुटपिट गरेको बताए । 

‘मेरो आफ्नो कार्यकक्षमा कार्यकारी अधिकृत कोइरालाकै सामुन्ने  दुवै ड्राइभरले गाली गलौज गर्दै कुटपिट गरे’,  उनले भने,‘ड्राइभरले कुट्न थालेपछि कोइरालाले पनि लात्तीले मलाइ हिर्काए ।’ 

आफूले स्थानीय स्वायत्त शासन ऐन विपरित भएकोले चालकद्वयले ल्याएको कागजातमा टिप्पणी गर्न नमानेपछि कार्यकारी अधिकृत कोइरालाले नै नियोजित रुपमा आफूमाथि आक्रमण गर्न लगाएको यादवको भनाइ छ । 

उपमहानरगपालिका कार्यालयका योजना अधिकृत प्रकाशमान अमात्यले भने यादवले सुरुमा कार्यकारी अधिकृत कोइरालालाइ कुटेको बताए । ‘हाकीमलाई यादवले कुटेपछि आक्रोशमा कार्यालयका अरु कर्मचारीले यादवलाई कुटेको हुन सक्छ’, उनले भने ।

प्रशासकीय अधिकृत यादवले कार्यकारी अधिकृत कोइरालालाइ हातपात गरेपछि कार्यालयका कर्मचारीले शुक्रबार दिनभर कार्यालयको काम ठप्प पारे । कुटपिटपछि   उपमहानगरपालिका कार्यालय परिसरमा प्रहरी परिचालन पनि गरिएको छ ।

लामो समयदेखि लेखा शाखामा कार्यरत रहेका यादवलाइ कार्यकारी अधिकृत कोइरालाले गत असार २७ गते प्रशासन शाखामा सरुवा गरेपछि दुईबीच विवाद हुदै  आएको कर्मचारीको भनाइ छ ।

दोश्रो पटक वीरगन्ज उपमहानगर पालिका कार्यालयका कार्यकारी अधिकृतको जिम्मा सम्हाले यता  कोइराला निक्कै विवादमा छन् । उनले केही महिना अघि मात्र उपमहानगरपालिका कार्यालयको विभिन्न शाखामा एक सय २८ कर्मचारी करारमा नियुक्त गरेका छन् । जसमा मासिक तलब ४० लाख रुपैयाँ मात्रै खर्च हुदै आएको छ ।

यस्तै सडक, नाला र अन्य भौतिक संरचना निर्माणको योजना पनि नियम मिचेर मनोमानी ढंगले वितरण गरेको आरोप कोइराला माथि छ । केही समय अघि मात्र कार्यालयको बजेट मनोमानी ढंगले खर्च गरेको भन्दै वीरगन्जका महिला अधिकारकर्मी र राजनीतिक दलका महिला नेतृहरुले कोइरालाको विरोधमा कार्यालय घेराउ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.