बीपी संग्रहालयमा ‘किशुनजीको खोजी’
काठमाडौः बिहान ११ बजेको थियो । आकाश कहिले घाम कहिले बादलले ढाकिएको थियो । बीपी संग्रहालयको गेटमा पुग्नेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवाका आँखा चारैतिर घुमे । गाडीबाट झर्न नपाउँदै प्रमुख अतिथिका रूपमा उनलाई सजिसजाउ मञ्चमा उद्घोषकले निम्त्याए ।
कार्यक्रम थियो, ‘बीपी कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा सुन्दरीजल जेल (बीपी संग्रहालय)को शिलान्यास । अघिल्लो वर्ष जेठमा गएको भूकम्पले कांग्रेसको इतिहासका रूपमा रहेको उक्त संग्रहालय पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसैले बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले बीपी जयन्तीकै दिन नयाँ भवन शिलान्यास गर्ने निर्णय गरेका थिए ।
कार्यक्रमको सुरुआत नै बीपी संग्रहालयमा ठडिएर बसेका कांग्रेस नेताहरूको सालिकमा माल्यार्पण गर्ने थियो । प्रमुख अतिथि देउवाले बीपीको पूर्ण कदको हँसिलो सालिकमा माला लगाइदिए । त्यसपछि देउवाको हातको मालासँगै रहेको गणेशमान सिंहको सालिकमा पहिर्याए । अनि लस्करै अर्धकदका सालिक थिए- देवानसिंह राई, योगेन्द्रमान शेरचन र रामनाराण मिश्रको ।
गणेशमानको सालिकमा माला पहिर्याएपछि देउवा रोकिए । अनि सोधे, ‘किशुनजी खोइ ? ’ संग्रहालयका अध्यक्ष पोखरेल अलमलमा परे । अनि बुझे, देउवाले गणेशमानपछि किशुनजीको सालिकमा माल्यार्पण गर्न किशुनजीलाई खोजेका थिए । पोखरेलले बजेट अभावले सालिक राख्न नसकेको जवाफ दिए । देउवाले अर्धकदमा रहेको राई, शेरचन र मि श्रको सालिकमा फूल चढाए ।
गणेशमानको सालिकमा माला पहिर्याएपछि देउवा रोकिए, अनि सोधे,‘किशुनजी खोई ?’
किन कांग्रेसका संस्थापक नेताको सालिक बीपी संग्रहालयमा अटाउन सकेन त ? के बजटै नभएर सालिक बन्न नसकेको हो त ? संग्रहालयका अध्यक्ष पोखरेल भन्छन्, ‘हामीले किशुनजीको सालिक बनाउन अर्डरसमेत गरिसकेका छौं तर बजेट अभावमा काम हुन सकेको छैन ।’
सुन्दरीजल जेल कांग्रेसको जीवित इतिहास पनि हो । यही जेलमा बस्दाको भोगाइलाई बीपीले पुस्तकमा उतारेका छन् । त्यही पुस्तक कांग्रेसको सिद्धान्त, विचार र कार्यदिशा हो- जेल जर्नल । बीपी, गणेशमान र किशुनजी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि सुन्दरीजल जेलमा उनीहरूलाई तत्कालीन पञ्चायती शासकले नजरबन्दमा राखेका थिए । त्यो भूमि लोकतन्त्र बहालीका लागि भएको पवित्र भूमि हो । देउवाले त्यही भूमिको महत्व सम्झेर सुन्दरीजलमा किशुनजीलाई खोजे ।
भूकम्पले पूर्ण ध्वस्त भएको बीपी संग्रहालय पहिलाको जस्तै बनाउने गरी पुरातत्व विभागले काम सुरु गरेको छ । शुक्रबार देउवाले शिलान्यास गरेसँगै निर्माण सुरु हुनेछ । सरकारले उक्त संग्रहालयका लागि चार करोड ७९ लाख रुपैयाँ बजेट निकासा गरेर ठेक्कासमेत लगाइसकेको छ ।
‘बीपी संग्रहालय पहिला जस्तो थियो त्यस्तै बन्ने छ, सोहीअनुसार सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ’, संग्रहालयका अध्यक्ष पोखरेलले अन्नपूर्णसँग भने, ‘सभापतिज्यूले पनि पहिलाको जस्तै बन्छ कि बन्दैन भन्ने चासो राख्नुभएको थियो, त्यसमा हामी स्पष्टै छौं ।’
उक्त संग्रहालयको अर्को पनि महत्व छ । कांग्रेस सभापतिले संग्रहालयभित्र कपुरको बोट रोप्ने । बीपीले ३४ सालमा रोपेको कपुरको बोट अहिले झाँगिएको छ । सँगै गिरिजाप्रसाद कोइरालाले रोपेको कपुर पनि अग्लिँदैछ । शुक्रबार कांग्रेस सभापति देउवाले पनि कपुर रोपेका छन् । ‘कांग्रेस सभापतिले कपुरको बोट रोप्ने परम्परा नै छ’, पोखरेलले भने, ‘सभापतिज्यूले पनि त्यसलाई निरन्तरता दिनुभयो ।