नेपाली लेखन पद्धति कि पद्हति
नेपाली भाषाको लेखन पद्धति पनि बडा गजबको छ । भाषाविज्ञान एक थोक भन्छ । भाषाविद् भनिएकाहरू अर्को थोक भन्छन् । लिपि र परम्पराले अर्कै थोक सिकाएको छ । उच्चार्य वर्ण गँडेस् हो भनिन्छ अनि गणेश लेखिन्छ । गङ्गा उच्चारण गरिन्छ, गंगा लेखिन्छ । यतिमात्र होइन ।
श्रीलंका, डुंगा, ढुंगा लेखनसमेत स्वीकृत भइसक्यो । गुरागाञि उच्चारण गरिन्छ, गुरागाईं लेखिदिन्छन् । नेपालीमा ञ वर्णको उच्चारण हुँदैन भनेर फर्मान जारी गरिन्छ । उर्दूको नुक्ता उपवर्ण जोडिएको 'ड' (तलथोप्ली) को उच्चारण नेपाली भाषामा भए पनि 'ड' को संवर्ण भएकाले 'ड' बाटै काम चलाउनुपर्छ भनेर जबरजस्ती 'ड' (तलथोप्ली) लाई वर्णमालामा प्रवेश निषेध गरियो ।
त्रिभुवन विश्वविद्यालयले ५८ वर्ष नेपाली भाषा पढाउँदा व्यञ्जनका सट्टामा समेत प्रयोग हुनसक्ने चिह्न शिरविन्दु ( ं ) र स्वरलाई नाके बनाउने चिह्न चन्द्रविन्दु ( ँ ) को फरक सिकाउन सकेन । पदयोग र वियोगमा पनि उस्तै झमेला छ । ललितपुरको लक्ष्मीप्रसाद प्रसाद खान्छ हो कि ललित पुरको लक्ष्मी प्रसाद प्रसाद खान्छ हो भन्ने विवाद छँदै छ ।
विवादको एउटा पक्ष भन्छ, भाषाविद्हरूले नेपाली भाषामाथि बलात्कार गरेका छन् । परम्परागत वर्णविन्यास बिगारेका छन् । संयुक्त अक्षर कुच्याएर तोडमरोड गरेका छन् । अर्को पक्षको भनाइ छ, भाषा परिवर्तनशील छ । बोलीअनुसार लेखाइमा परिवर्तन गर्दै लानु हाम्रो उद्देश्य हो । परिवर्तन हुँदा कहिले उच्चारण, कहिले हिज्जे र कहिले वर्ण परिवर्तन हुन्छ । उनीहरू आरोप लगाउँछन्, नयाँ नियम नमान्नेहरू अबुझ हुन् । तर भाषिक विवादका चर्चा परिचर्चाले देवनागरी लिपिको एनाटोमी केलाएर स्पष्ट निर्देशन पहिल्याउन सकेको छैन ।
कुनै पनि लिपिको एनाटोमी हुन्छ । त्यो भनेको लिपिको स्थलाकृतिक संरचना विज्ञान हो । स्थलाकृतिक शरीर रचना विज्ञानले मानव शरीरका अङ्गहरूको स्थान र त्यसका विभिन्न भागहरू एवम् फिजियोलोजीले त्यसका प्रकार्यलाई बुझाए जस्तै भाषाको लिपि एनाटोमीले भाषामा लिपिको संरचना प्रकार वा डिजाइन भन्ने बुझाउँछ ।
लिपि एनाटोमीले भाषाका लिपिको अङ्ग वा त्यसका स्थान र आकृतिको अध्ययन गर्छ । लिपि भनेको मानव शरीरको हड्डी जस्तै हो भने भाषा वा भाषिक व्यवहार भनेको मानव जीवनको स्नायविक प्रणाली, मांसपेशी र रक्तसञ्चार आदिले गर्ने कार्य जस्तै हो ।
कुनै पनि लिपिमा मानक वर्णाकृति (टाइपफेस) हुन्छ । लिपिमा त्यस भाषाका वर्णहरूको आकार प्रकार निर्धारण गरिएको हुन्छ । वर्णाकृतिका अङ्ग वा भागलाई अक्षरांश वा ग्लिफ भनिन्छ र ग्लिफहरूको संयोजनबाट फन्ट वा वर्णको आकृति निर्धारण हुन्छ । नेपाली भाषाका व्ऋद्धि, याद्ऋच्छिक, बुद्धिमान, उत्धरण, पद्हति आदि देवनागरी वर्णाकृतिका अप्रशोधित अङ्ग हुन् । यिनलाई मानक लेख्य चिह्नअनुसार लेख्दा वृद्धि, उद्धरण, यादृच्छिक, बुद्धिमान, उद्धरण, पद्धति लेखिन्छ ।
ब्राह्मी लिपिबाट जन्मिएको देवनागरी लिपि दक्षिण एसिया र दक्षिणपूर्व एसियाका विविध सांस्कृतिक धरोहरसँग जोडिएको छ । यस भौगोलिक क्षेत्रका भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र भुटानका सांस्कृतिक, ऐतिहासिक, प्रागैतिहासिक, धार्मिक, साहित्यिक र वैज्ञानिक सामग्रीहरू देवनागरी लिपिमा सङ्कलित छन् । देवनागरी लिपिको एनाटोमीमा परिवर्तन गर्दा यो धरोहर समेत प्रभावित हुने कुरा निश्चित छ ।
देवनागरी लिपिका केही महत्वपूर्ण विशेषताहरू छन् । यस लिपिमा एक वा अधिक वर्णले अक्षर वा सिलेबल बनाउँछ । स्वरको सहायताले मात्र वर्ण निर्माण हुन्छ । स्वर वर्णको सहायताले मात्र वर्ण निर्माण हुनाले व्यञ्जनमा लाग्ने स्वर र स्वतन्त्र स्वर गरी दुई किसिमका स्वर वर्ण हुन्छन् ।
सबै स्वर वर्णका दुई रूप छन् । एउटा स्वतन्त्र रूप, अर्थात् व्यञ्जनसँग नजोडिने रूप अर्को आश्रित रूप जुन व्यञ्जन वर्णसँग जोडिने रूप । यस्ता व्यञ्जन आश्रित रूपहरू व्यञ्जनको दायाँ, बायाँ, माथि, तल जता पनि जोडिएर बस्न सक्छन् । व्यञ्जन व्यञ्जन, व्यञ्जन स्वर आदि मिलेर संयुक्ताक्षर निर्माण हुन्छ र यसरी संयुक्ताक्षर बन्दा व्यञ्जन वर्णको आकार परिवर्तन हुन्छ । देवनागरी लिपिमा वर्ण छनोटको पनि सुविधा छ । हिन्दीमा ह्रस्व 'ए' का लागि ए (शिरमा अर्धवृत्त) प्रयोग गरिन्छ भने नेपालीको 'र' का लागि कोङ्कणीमा र (तलथोप्ली) प्रयोग गरिन्छ ।
देवनागरी लिपिमा लेखिने नेपाली भाषाको वर्णविन्यासमा एकरूपता ल्याउने भनेर २०६९ साउन २३ गते नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयस्तरीय पाठ्यपुस्तकमा नयाँ निर्देशिका लागू गरेको छ । त्यसमा निर्देशित गरिएका कुराहरूमा १, नेपाली भाषाको वर्ण र लिपि (आकृति) फेर्दा भाषा सरल हुन्छ र सिकाइमा सजिलो हुन्छ भन्ने मान्यता देखिन्छ । २, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द हुन् ।
अरू स्रोतबाट जस्ताको तस्तै आएका शब्द आगन्तुक शब्द हुन् भनिएको छ । ३, नेपाली शब्द लेख्दा संयुक्त वर्णलाई छुट्याएर लेख्नुपर्छ । निर्देशिकाको बुँदा नं ५.२ मा भनिएको छ, संस्कृतमा जस्तो विद्या होइन विद्या, उद्योग होइन उद्योग लेख्नु पर्छ । हाललाई द को खुट्टा काटेर लेख्ने र अन्य वर्णको लेखाइमा पनि हलन्त वर्ण छुट्याएर लेख्न प्रोत्साहन गर्ने भनिएको छ ।
सोही नियमअनुसार द छुट्याउँदा पद्धति होइन पद्हति र सदृश होइन सद्ऋश वा सद्रिश लेख्नुपर्छ । ४, संस्कृत स्रोतबाट जस्ताको तस्तै आएका शब्द नेपाली तत्सम शब्द भनिए पनि नेपाली भाषामा श, ष, ण, ञ, ऋ आदि वर्ण नभएको हुनाले नेपाली तत्सम शब्द लेख्दा संस्कृतकै वर्णविन्यासअनुसार लेख्नु पर्छ भनिएको छ तर पद्हति र सद्ऋश वा सद्रिश संस्कृत वा नेपाली कुनै पनि वर्णविन्यासको नियम अन्तर्गत पर्दैन ।
अर्को पक्षमा रहेकाहरूको भनाइ छ १, तथाकथित भाषाविद्हरूले भाषामाथि बलात्कार गरेका छन् । २, देवनागरी लिपि बिगारेर विदेशी भाषा र रोमन लिपि भित्र्याउने षड्यन्त्र भएको छ । ३, विदेशी डलर खाएर यस्तो फर्मान जारी गरिएको हो । ४, परम्परागत रूपमा ह्रस्व र दीर्घको स्वरूपलाई बिगार्न पाइँदैन । र ५, संयुक्ताक्षर कुच्याउन र बिगार्न पाइँदैन इत्यादि इत्यादि ।
नेपाली लेखाइमा ठूलो समस्या छ । लेखाइमा एकरूपता नभएकै कारणले यस्तो भएको कुरामा दुईमत छैन । तर हालको विवादमा एकरूपता नहुनुको लिपि वैज्ञानिक कारण खोजिएको पाइँदैन । कि यो कि त्यो भन्ने आरोपले नेपाली भाषा भद्रगोल बन्दै छ । फर्मान गरिएको निर्देशिका ठिक छैन भन्ने कुरा बजारमा छताछुल्ल भएको छ । कहाँ, कसरी र किन ठिक छ वा छैन भनेर केलाइएको पाइँदैन ।
फूल, फुल, शहीद, सहिद शब्दको ह्रस्व दीर्घ र स, श, ष को बहसमात्र होइन निर्देशिकामा भएको के कुरा के कति कारणले ठिक छैन, त्यसमा के हुनुपर्ने आदि निदानात्मक बहस अहिलेको आवश्यकता हो । देवनागरी एनाटोमी अर्थात् देवनागरी स्थलाकृतिक संरचनामा प्रत्येक वर्णलाई एउटा ठाडो रेखामा सात ओटा तेर्सो रेखाले छुट्याएको हुन्छ ।
कम्प्युटरमा फन्ट डिजाइन गर्दा समेत यसलाई आधार मानिएको हुन्छ । ती रेखा हुन् १, उध्र्वरेखा २, शिरोरेखा ३, स्कन्धरेखा वा काँधको रेखा ४, नाभिरेखा वा पेटको रेखा ५, जानुरेखा वा घुँडाको रेखा ६, पदरेखा वा खुट्टाको रेखा र ७, तलरेखा वा पैतालाभन्दा मुनिको रेखा । स्वरवर्णलाई आधार मानेर यस्तो विभाजन गरिएको हो । इकार, ईकार, एकार र ऐकारका मात्रा शिरोरेखाभन्दा माथि उध्र्वरेखामा बस्दछन् । डिको शिरोरेखा हो ।
इ, ङ, द, ट आदि वर्ण स्कन्धरेखाले छुट्याउने वर्ण हुन् । अ, आ, उ, ओ, क, व, ब, ल आदि नाभिरेखामा पर्दछन् । ए, ष, य प, म को आकार जानुरेखाले छुट्याएको हुन्छ । मात्राबेगरको वर्ण डिकोबाट सुरु हुन्छ र पदरेखामा पुगेर अन्त्य हुन्छ । तर पदरेखामा अन्त्य भए पनि देवनागरी वर्णको पदरेखामा शिरोरेखामा जस्तो डिको दिनु पर्दैन । तलरेखाअन्तर्गत मात्रा स्वरको उकार, ऊकार र रेफ पर्दछन् ।
मात्रा इकार, ईकार र पर्यायको रेफ उध्र्वरेखा अन्तर्गत पर्दछन् । ईश्वर, पिरो, जीवन, दिनचर्या आदि । शिरोरेखा भनेको डिको हो जस्तै क ख आदिको डिको । सामान्यतया देवनागरी संयुक्त वर्णको निर्माण हुँदा आधार वर्ण हलन्त वर्णको बुई चढेर बस्छ । जस्तै द्वन्द्व, शुद्ध, द्वार, अनिरुद्ध आदि ।
तर स्कन्धरेखा वा काँधको रेखाले छुट्याउने वर्णहरू ङ, छ, ट, ठ, ड, ढ, द, ह हुन् र यी वर्णहरू 'य' सँग मिलेर संयुक्त वर्ण निर्माण हुँदा हलन्त वर्ण आधार वर्णको बुई चढेर बस्छ, जस्तै ङ्यारङ्यार, ट्याम्को, ठ्याक, ड्याम, ढ्याउ, विद्या, उद्योग, ह्याकुलो आदि । नाभिरेखामा पर्ने च, ज, त, न, ब, ल, व, स वर्णहरू दायाँपट्टि अलग्गै बस्छन् र आधार वर्णलाई बिगार्दैनन् । पोक्याउनु, कुच्याउनु, ज्यादती, त्याग, न्याय, ब्याधा, ल्याकत, व्यवहार, स्याल आदि । जानुरेखा वा घुँडाको रेखाको स्थान पदरेखाभन्दा माथि र जानुरेखाभन्दा तल मध्यतल हो ।
संयुक्त वर्णमा यो रेफको स्थान हो । प्रसाद, श्रवण, केस्रा, कोक्रो आदि । पदरेखा वर्णको अन्तिम भागमा पर्दछ । मात्रा उकार र ऊकार तलरेखामा बस्ने अङ्ग हुन् । यो स्थान आश्रित मात्रा उ, ऊ, र रेफको स्थान हो । विद्युत्, अच्युत, राष्ट्र आदि ।
खासगरी विद्यालाई विद्या र उद्योगलाई उद्योग लेख्ने भनेर 'द' को खुट्टो काट्नु पर्छ भन्ने कुरा निर्देशिकामा उल्लेख भएकाले खुट्टा काट्नु पर्छ वा पर्दैन भन्ने विवाद धेरै मात्रामा देखिएको हुँदा यहाँ 'द' लाई मात्र केलाउने काम भएको छ ।
'द'सँग संयुक्ताक्षर निर्माण हुँदा बन्ने केही शब्दको उदाहरण हेरौँ । जस्तै अदृष्ट, अनिरुद्ध, अन्तद्र्वन्द्व, अल्पदृष्टि, अशुद्ध, आबद्ध, उद्धरण, उद्धव, उद्धारक, उद्यान, ऋद्धि, खाद्यान्न, पद्धति, पूर्वार्ध, प्रद्युम्न, बुद्धिमान, यादृच्छिक, वाग्द्वार, विद्या, विद्युत्, वृद्धि, शुद्ध, श्राद्ध, सदृश, सिद्धान्त आदि ।
अदृष्ट लेख्दा निर्देशिकामा भएको नयाँ नियम अर्थात 'द' को खुट्टो काट्ने नियमअनुसार अद्ऋष्ट लेख्नु पर्छ तर नेपालीमा ऋ छैन भनिएको छ । अतः अदृष्ट लेख्दा अद्रिष्ट लेख्नु पर्छ । तर नेपालीमा ष पनि छैन भनिएको हुँदा 'अदृष्ट' को मानक नेपाली लेख्य रूप अद्रिस्ट हुने भयो ।
'द' को खुट्टो काट्ने नियम पालन गर्दा अनिरुद्धलाई अनिरुद्ध, अन्तद्र्वन्द्वलाई अन्तर्द्वन्द्व, अल्पदृष्टिलाई अल्पद्रिष्टि वा अल्पद्रिस्टि, अशुद्धलाई अशुद्ध यसै गरी आबद्ध, उद्द्योग, उत्धरण वा उद्धरण, उद्धव, उत्हारक वा उद्धारक, उद्द्यान, ऋद्धि वा रिद्धि, खाद्द्यान्न, पद्हति, पूर्वार्द्ध, प्रद्द्युम्न, बुद्धिमान, याद्ऋच्छिक वा याद्रिच्छिक, वाग्द्वार, विद्या वा विद्द्या, विद्द्युत्, वृद्धि, शुद्ध, श्राद्ध, सद्ऋश वा सद्रिश र सिद्धान्तलाई सिद्धान्त लेख्नु पर्छ नत्र अशुद्ध हुन्छ ।
ब्राह्मी लिपिबाट जन्मिएको देवनागरी लिपि दक्षिण एसिया र दक्षिणपूर्व एसियाका विविध सांस्कृतिक धरोहरसँग जोडिएको छ । यस भौगोलिक क्षेत्रका भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र भुटानका सांस्कृतिक, ऐतिहासिक, प्रागैतिहासिक, धार्मिक, साहित्यिक र वैज्ञानिक सामग्रीहरू देवनागरी लिपिमा सङ्कलित छन् ।
देवनागरी लिपिको एनाटोमी अर्थात् देवनागरी लिपिको स्थलाकृतिक संरचना विज्ञानअनुसार यस्तो लेखाइ भनेको मानव अस्थिपञ्जर एनाटोमीमा गोलीगाँठाको हड्डी कुहिनामा लाउनु जस्तै हो । निर्देशिकामा दिइएको नियमअनुसार 'द' को खुट्टो काट्ने हो भने सबैतिर काट्नु पर्यो नत्र लेखाइमा एकरूपता हुँदैन । यसरी नलेख्ने हो भने निर्देशिकाको 'द' को खुट्टो काट्ने नियम फिर्ता लिनुपर्ने हुन्छ ।
अबको समय पेपरबेस नभएर पेपरलेस लेखनको समय हो । अब विद्युतीय लेखाइले भाषाको प्रतिनिधित्व गर्ने हुनाले लेखाइमा एकरूपता भएन भने नेपाली इतिहास, भाषा, साहित्य, नेपाल र यसका छिमेकी राष्ट्रको सांस्कृतिक सम्पदाको आदान प्रदानमा समेत बाधा उत्पन्न गर्छ ।
वर्णविन्यास भनेको भाषाको व्याकरण नभएर परम्परागत चलन हो । दुई शब्द वा वर्णसँग सन्धि हुँदा देखा पर्ने ध्वनि परिवर्तनलाई चाहिँ भाषाको व्याकरणसँग जोड्न सकिन्छ । जस्तै पद् र हतिको सन्धि हुँदा पद्धति हुन्छ । यस्तै उत् र धारकको सन्धि हुँदा उद्धारक हुन्छ । यस्ता सन्धिजनित परिवर्तन बाहेक बाँकी सबै वर्णविन्यास चलन वा परम्परा मात्र हो । वर्णविन्यासमा भाषावैज्ञानिक उच्चारणमात्र हेरेर हुँदैन । लिपि र परम्परागत चलन पनि हेर्नुपर्छ । सामाजिक मान्यता पनि हेर्नुपर्छ । वर्णविन्यास भनेको रुढि वा चलन हो तर हिजोआज यो रुढी अर्थात् सङ्क्रामक रोग भएको छ ।
यो विवादले राजनीतिक रूप लिने सम्भावना देखिँदै छ । निर्देशिका स्वीकृत गर्ने तत्कालीन मन्त्रीले अनजानमा भएको गल्तीले यस्तो हुनगएको हो भनिसकेका छन् । त्रिवि नेपाली विभागले असहमति जनाइसकेको छ । यसले पक्ष र विपक्ष गरेर राजनीतिक आड पाउँदै गयो भने निर्देशिका जारी गर्ने शासकवर्गलाई अप्ठ्यारोमा पार्ने छ । बेलैमा सबै सरोकारवाला पक्ष बसेर निकास खोज्नु आजको आवश्यकता हो । अन्यथा नेपाली भाषा सरकारी कामकाजको भाषासमेत भएकाले भाषिक झगडाले गर्दा नेपाल राष्ट्र र नेपाली जनता लज्जित हुनुपर्ने देखिँदै छ ।