नेपालमा फिजियोथेरापीको अवस्था
प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई विश्व फिजियोथेरापी दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ । फिजियोथेरापी यस्तो चिकित्सा पद्धति हो, जसमा बिरामीलाई व्यायाम गराई (एक्सरसाइजथेरापी), फिजियोथेरापिस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी), पानीमा गर्ने व्यायाम (हाइड्रोथेरापी), विद्युतीय उपकरण (इलोक्ट्रोथेरापी), तातो तथा चिसोको प्रयोगले ठीक गरिन्छ ।
हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, घोचेकोजस्तो दुख्ने, पोल्ने, प्यारालाइसिस, मानसिक पक्षघात, मुख बांगिएको, जिउ बांगिएको, ढाडको हड्डी भाँचिएको, जन्मँदा नै असाधारण अथवा असामान्य भएको बच्चा तथा हात खुट्टा नचल्नेजस्ता धेरै दुखाइ र जोर्नी चलाई सम्बन्धित रोगहरूको उपचार गरिन्छ ।
मानिसलाई यस्तो अवस्थाबाट सक्षम बनाउनु फिजियोथेरापीको प्रमुख उद्देश्य हो । जसलाई रिहाविलिटेसन अथवा पुनस्र्थापना भनिन्छ । नेपालमा भने यो चिकित्सा पद्धतिको विकास भएको धेरै भएको छैन । आजभन्दा झन्डै चार दशक अगाडि सरकारी अस्पतालमा केही नर्सहरूलाई फिजियोथेरापीको तालिम दिई यो चिकित्सा पद्धति नेपालमा सुरु भएको हो ।
मानिसले यो चिकित्सा पद्धतिको महत्व बुझ्दै गएपछि यसको माग बढदै गएबाट सन् १९८३ मा इन्स्टिच्युट अफ मेडिसिनले नेपालमा पनि सर्टिफिकेट लेभलको फिजियोथेरापी अध्यापन प्रारम्भ गर्यो । यस इन्स्टिच्युटले केही ब्याच फिजियोथेरापिस्ट पढाइ सञ्चालन गरेपछि १९९० तिर यो बन्द भयो । पछि धुलिखेल मेडिकल इन्स्टिच्युटले सन् २००३ मा त्यही कोर्सलाई डिप्लोमा कोर्सको नामबाट सुरु गर्यो । यसबाट नेपालमा करिब एक सय ८० जना फिजियोथेरापिस्ट उत्पादन भए ।
सन् २०१० को जुनमा यही इन्स्टिच्युटले ब्याचलर्स कोर्स सुरु गरी डिप्लोमा कोर्सलाई बन्द गर्यो । हाल नेपालमा रहेको एकमात्र फिजियोथेरापी पढाउने इन्स्टिच्युट यो मात्र हो । नेपालीले सन २००५ देखि भारत गई फिजियोथेरापी पढ्न सुरु गरेकोमा हाल यो संख्या उल्लेखनीय रूपमा बढेको छ ।
मानिसमा फिजियोथेरापीप्रति जनचेतना बढिरहेको पाइन्छ । डाक्टरहरु पनि यो चिकित्सा पद्वतिले राम्रो नतिजा ल्याउनेमा विश्वास गर्छन् । डाक्टरहरुले बिरामीलाई फिजियोथेपीकहाँ पाउन थालेका छन् ।
नेपाल स्वास्थ्य व्यवसाय परिषद्मा अहिले झन्डै नौ सय फिजियोथेरापिस्ट दर्ता भएकोमा अधिकांश नेपाल बाहिर गई काम गरिरहेका छन् । देशले उचित संशोधन तथा प्रोत्साहन गर्न नसकेबाट धेरैजसो फिजियोथेरापिस्टहरू बिदेसिन बाध्य भएका छन् । विशेषगरी क्यानाडामा फिजियोथेरापिस्टले सहजै बसोबास र काम पाउने हुनाले हाल क्यानाडा जाने फिजियोथेरापिस्टको संख्यामा ह्वात्तै बढेको छ ।
राष्ट्रले उचित सम्बोधन गर्न नसक्नु र विदेशमा यस चिकिस्ता पद्धतिको राम्रो व्यवस्था र प्रोत्साहन हुने गरेबाट फिजियोथेरापिस्टहरू बिदेसिनुको मुख्य कारण बनेको छ । हुन त अमेरिका र अस्ट्रेलियामा फिजियोथेरापीको काम पाउन क्यानाडाभन्दा धेरै गाह्रो भए पनि बाध्यतावश यी राष्ट्रहरूमा समेत फिजियोथेरापिस्टहरू जान थालेका छन । नेपालमा रहेका फिजियोथेरापिस्टहरू पनि प्रायजसो नेपालका प्रमुख सहरहरूमा मात्र सीमित छन् । काठमाडौंमा भने प्रायःजसो सबै अस्पतालमा यो सेवा उपल्ब्ध छ ।
काठमाडौंबाहेक विराटनगर, पोखरा, बुटवलजस्ता प्रमुख सहरमा मात्र यो सेवा उपलब्ध छ भने अन्य क्षेत्रमा यो चिकित्सा पद्धति अझै पनि परिचालित हुन सकेको छैन । जिल्ला अस्पताल तथा अञ्चल अस्पतालहरू जसमा प्रशस्त मात्रामा बिरामी आउने गरे पनि यहाँ यो सेवा उपलब्ध छैन । तर केही विदेशी र स्वदेशी संस्थाले भने थोरै मात्रामा भए पनि गाउँसहरमा यो सेवा बेला मौकामा शिविरका रूपमा पुर्याउने गरेको छ ।
यही विषयमा मास्टर गरेर आउने धेरैले दरबन्दीको अभावमा काम पाएका छैनन् । काठमाडौं विश्वविद्यालयमा मात्र मास्टर लेभलको दरबन्दी भएकोले अन्य ठाउँमा जागिर खोज्दै गएकालाई पढाइ धेरै भयो भनी फर्काइएको उदाहरण पाइन्छ । यस्ता दक्ष जनशक्तिलाई उपयोग गर्नु के राज्यको दायित्व होइन ?
ज्ञान पनि राष्ट्रका लागि कहिले बढी हुन सक्छ र ? एकातिर यो चिकित्सा पद्धितको राम्रो सम्बोधन र प्रोत्साहन हुन सकेको छैन भने अर्कोतिर यसको उपयोगिता र आवश्यकता दिनप्रतिदिन बढदै गएको छ । मानिसमा फिजियोथेरापीप्रति जनचेतना बढिरहेको पाइन्छ । डाक्टरहरू पनि यो चिकित्सा पद्धतिले राम्रो नतिजा ल्याउनेमा विश्वास गर्छन् । डाक्टरहरूले यस्ता रोगको निदान गर्न बिरामीलाई फिजियोथेरापीकहाँ पठाउन थालेका छन् ।
आज भन्दा पाँच वर्ष अगाडि र अहिले फिजियोथेरापीबारे नेपाली जनमानसमा धेरै परिवर्तन आएबाट मानिसले यस पद्धतिमा विश्वास गर्न थालेका छन् । हुन पनि यो उपचार पद्धतिले यस्ता रोगहरू निदान गर्ने गरेबाट विश्वास बढ्न गएको देखिन्छ । यस पद्धतिले यस्ता रोगहरू निको मात्र नगरी रोगलाई बल्झिनसमेत नदिने भएकाले यसको विशेष महत्व छ । यस उपचार विधिमा बिनाऔषधि शरीरका अंगलाई मात्र चलाएर उपचार गरिने हुँदा यसको कुनै नकारात्मक असर पनि हुँदैन ।
(-लेखक फिजियोथेरापिस्ट हुन् ।)