प्रचण्ड साँच्चै विचरा हुन् ?

प्रचण्ड साँच्चै विचरा हुन् ?

डा. सुन्दरमणि दीक्षितले एउटा अन्तर्वार्तामा पुष्पकमल दाहाललाई विचरा भने । माओवादी शान्ति प्रक्रियामा आउँदा दीक्षित दाहालका समर्थक थिए । वर्षौंसम्म समर्थन गर्दा डा. दीक्षित माओवादी भएछन् भन्ने भान पर्‌यो । माओवादी युद्ध चलिरहेको बेला डा. दीक्षितले सिंहदरबारमा बसेकालाई भनेका थिए, 'तिमीहरूले देश सम्हाल्न सक्दैनौँ, त्यसकारण माओवादी नेता दाहाललाई बोलाऊ र सरकार सुम्पिदेऊ ।'

तर कालान्तरमा उनी माओवादीविरोधी भए । कारण एउटा क्रान्तिकारी शक्तिबाट उनले जुन आशा गरेका थिए, सो उनले पाएनन् । त्यसमा उनले सबभन्दा ठूलो कमजोरी दाहालकै भएको देखे । अहिले दोस्रोपटक देशको प्रधानमन्त्री हुन पुग्दा डा. दीक्षितले दाहाललाई विचरासम्म भन्न पुगे । कारण दाहाल एउटा सिंहजस्तो नेता आज स्यालको अवस्थामा पुगेको उनले वर्णन गरे ।

हुन पनि जुन व्यक्ति पहिलो पालि आफ्नै बलबुतामा प्रधानमन्त्री भएका थिए र दुईतीनजनालाई प्रधानमन्त्री बनाएका थिए, सोही मानिस एउटा विदेशी शक्तिको आशीर्वाद र चलखेलबाट त्यही प्रधानमन्त्रीको पदमा बहाली गर्न पुग्दा आत्मग्लानी हुनु स्वाभाविकै हो । त्यसमा पनि आफ्नै दल सहभागी भएको संयुक्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर अपदस्थ गर्न पुग्नु न तर्कसंगत थियो, न नैतिक नै थियो ।

त्यो पनि अर्काको डर, धम्कीमा परेर गर्नुपरेको थियो । त्यसबाट ग्लानी अरू गहिरिने भयो । यस्तो छवि मेटाउन उनले ओलीले उठाएका सबै विकासका काम अगाडि बढाउने कुरा संसद्मा गरे । तर उनी जुन निरीह हालतमा देखिन्छन्, उनले बोलेको वचन पालना गर्न सक्लान् भनेर विश्वास लाग्दैन । त्यो संकेत उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत यात्राले देखाएको छ ।

अझ भारत दाहालले एउटा लेखमा भनेजस्तो हुने भयो भने पुष्पकमल दाहालले भारतलाई नेपालको हितविपरीत अनेक आयोजना सुम्पेर विगतका सबै प्रधानमन्त्रीलाई पछाडि पार्नेछन् । मैले हेर्दा उनी यतिसारो तल खस्लान् जस्तो लाग्दैन । उनका वर्तमान सरकारी सहयोगी शेरबहादुर देउवा र नेपाली कांग्रेसको पिछलग्गु हुन पुगे भने अर्कै कुरा हो । त्यसो भयो भने उनी पातालै पुग्नेछन् ।

दाहालको मनमा यस्तो कठिन अवस्थामा मैले के गरें भने मेरो नाउँ पनि माथि उक्लने, नेपालको हित पनि हुने र भारतलाई मनाउन पनि सकिने हुन सक्छ भन्ने प्रश्न खडा भएको छ । त्यस्तो एउटा मुद्दा छ, जसबाट यी सबै उद्देश्य पूरा हुन सक्छन् । त्यो हो नेपाल-भारत सिमाना नियमन गर्ने । हुन पनि दुई देशबीचको सिमाना खुला राख्नुपर्ने कुनै बलियो कारण छैन ।

न यो सुगौली सन्धिअनुसार राखिएको हो न नेपाल-भारतबीचमा भएको सन् १९५० को मैत्री सन्धिमा उल्लेख छ । न खुला सिमानाबारे कुनै अरू सन्धि-सम्झौता भएको छ । यो एउटा परम्पराको रूपमा चलेको छ । त्यो पनि एउटा समय थियो, जुन बेला नेपालको उत्तरी सीमा हिउँले सुरक्षित थियो भने दक्षिणको सीमा जंगल र मलेरियाबाट संरक्षित थियो । वर्तमान समयमा यी दुवै कुरा लागू हुँदैनन् । त्यो बेला खुला भनिए पनि प्रकृतिले नै नियन्त्रण गरेको थियो ।

आजको परिस्थितिमा खुला सीमाबाट दुवै देश पीडित छन् । नेपालबाट त्यही खुला सिमानाको फाइदा उठाएर पाकिस्तानी र कश्मिरी आतंककारी भारतमा घूसपैठ गरेको गुनासो भारतले गर्दै आएको छ भने नेपालले भारतबाट अत्यधिक आप्रवासी आएर नेपालको भविष्य नै खतरामा परेको आशंका गर्दछ ।

यसको माने भारतले खुला सीमाबाट वर्तमानमै खतरा देखिरहेको छ भने नेपालले आफ्नो भविष्यमा खतरा देखिरहेको छ । त्यसका अतिरिक्त खुला सिमानाबाट सबभन्दा धेरै फाइदा चोर, डाँका, तस्कर आदिले उठाइरहेको दुवैले अनुभव गरिरहेका छन् । यस्तो दुरुपयोगै दुरुपयोग भइरहेको देख्दादेख्दै त्यो सिमानालाई अनियन्त्रित रूपमा किन खुला छोडेको भनेर बुझ्न गाह्रो छ । यही मुद्दालाई प्रधानमन्त्री दाहालले भारतसित उठाउन मिल्छ र यसलाई नियमन गराउन, मनाउन पनि सक्छन् ।

एक किसिमले खुला सिमाना भन्ने मात्र हो । भारतले चाहेको बेलामा र आफूलाई अप्ठेरो परेको बेला यसको नियन्त्रण गरिआएको छ । दाहालकै नेतृत्वमा १० वर्षसम्म नेपालमा युद्ध चल्दा भारतले नेपालका पश्चिमी नाकामा अनेक छेकबार र नियन्त्रण गरेकै हो । सन् १९५० को सन्धिअनुसार एकअर्काको मुलुकमा विना रोकटोक जान-आउन पाउनेछन् भनेर भनिए पनि भारतले नेपालीलाई भारतमा छिर्न दिएनन् ।

कति समयसम्म भारतले नेपालका जिल्ला सीडीओ कार्यालयबाट परिचयपत्र प्राप्त गरेका नेपालीलाई मात्र भारत पस्न दिएका थिए । त्यस्ता मानिसको धेरै सोधपुछ र पूरै जाँच-पड्ताल गरेर मात्र जान दिएका थिए । हामीले खोजेको नियमन पनि त्यति मात्र हो, जुन भारतले बारम्बार व्यवहारमा ल्याइसकेको छ ।

करिब २०÷२५ वर्षअगाडि डा. हर्क गुरुङले सिमानाको नियमन गर्ने भनेको पनि त्यही हो । अहिलेको परिपेक्षमा खुला सिमानाबाट जति धेरै बेफाइदा भारतलाई छ, उति नेपाललाई छैन । तैपनि तपाईंहरूको हितकै लागि यो कुरा मैले उठाएको हुँ भनेर दाहालले भारतका प्रधानमन्त्री मोदीलाई भन्न सक्छन् र मनाउन पनि सक्छन् ।

खुला सिमानालाई नियमन गर्नेबित्तिकै भारतलाई अनेक लाभ हुन जान्छ । सर्वप्रथम, विदेशी आतंककारी र शंकास्पद मानिसको आवतजावतमा नियन्त्रण हुन्छ । दोस्रो फाइदा, नेपालको बाटो भएर भारतमा जाने नक्कली भारतीय नोटको आपूर्ति रोकिन्छ । तेस्रो, भारतबाट नेपालमा हुने गरेको भारतीय मोटरको तस्कर रोकिन्छ ।

कालापानी र सुस्ताजस्तो ठाउँको विवाद तुरुन्त मिल्न नसक्ने भए तिनीहरूलाई पछि टुंग्याउने भनेर अरू मिल्न सक्ने विवाद मिलाउन सकिन्छ । यो मुद्दा सुल्झाउन दाहालले साम, दाम, दण्ड, भेदको नीति अपनाउनुपर्ने हुन्छ । उनले यो काम गर्न सके भने राजा महेन्द्रले सन् १९६१ मा चीनसित गरेको सीमा सन्धिजस्तो श्रेय र ऐतिहासिक उपलब्धि पाउनेछन् । ओलीले गरेको भन्दा ठूलो राष्ट्रहितको काम पनि ठहरिनेछ । जनताको मन जित्ने काममा उनी ओलीभन्दा अगाडि पर्नेछन् ।

चौथो फाइदा, मधेसी दलहरूका बहुसंख्यक माग पूरा गर्न सकिन्छ । किनभने खुला सिमानाको नियन्त्रणबाट नेपालमा भारतीयको राम्रो परिचय, सुरक्षा र इज्जत सबै बढ्छ । पाँचौँ लाभ, खुला सिमानाबाट भइरहेका चोरी, डकैती र तस्कर रोक्न सकिन्छ । छैटौँ फाइदा, दुवै देशका मानिस एकअर्काको मुलुकमा यथावत् आवतजावत गर्न पाउँछन् । त्यसको लागि एउटा परिचयपत्रको मात्र आवश्यकता पर्छ । त्यो कुनै ठूलो अवरोध होइन ।

सातौँ फाइदा, भारतको सुरक्षाको सम्बोधन हुन जान्छ । अर्कोतिर नेपालको नागरिकताको वितरण सहज र सुलभ हुन जान्छ । आठौँ फाइदा, नेपालको सार्वभौमिकता र प्रादेशिक अखण्डता राम्ररी कायम हुन जान्छ । नवौँ लाभ, नेपालबाट हुने गरेको मानव तस्कर रोकिन्छ । नेपाली चेलीलाई भारत या अन्य देशमा तस्कर गरिने बाटो यही खुला सिमाना भएको छ ।

यो एउटा यस्तो मुद्दा हो, जसमा दुवै मुलुक सन्तुष्ट छैनन् । दुवैलाई यो घाँडो भएको छ । खालि बिरालोको घाँटीमा कसले घन्टी झुन्ड्याउने भन्ने प्रश्न मात्र हो । यसलाइ सुल्झाउन जो अगाडि सर्दा पनि हुने खालको मुद्दा हो । यस विषयमा नयाँ अध्ययन-अनुसन्धान गर्नुपर्ने आवश्यक पनि छैन । नेपालमा सीमासम्बन्धी विशेषज्ञ मानिएका बुद्धिनारायण श्रेष्ठ हुन् । यसको बारेमा सबै वृत्तान्त उनीबाट बुझ्न सकिन्छ । नेपाल सरकारलाई यसबारेमा सहयोग गर्न उनी तयार नै देखिन्छन् ।

त्यसकारण प्रधानमन्त्री दाहालले आँट गरे भने यो समस्याको समाधान सजिलो किसिमले हुने देखिन्छ । यसबाट उनले नेपाली जनताको मन जित्ने, नेपालको दीर्घकालीन सुरक्षा र हित गर्ने, भारतको गुनासोको सम्बोधन गर्ने र भारतलाई कुनै हानि नभई लाभ मात्र हुने कदम हो । यस्तो काम पनि गर्न नखोज्नु अथवा नसक्नु उनको साँच्चैको लाचारी हुनेछ ।

यसको साथमा दाहालले भारतले खोजेको सीमा सन्धिको कुरा उठाए पनि हुन्छ । हुन त नेपाल-भारत सिमानामा धेरै विवाद छन् । ती विवादित बुँदाबारे हाम्रा सीमाविज्ञ र सीमा अधिकारीलाई जानकारी छ । उनीहरूको सहयोग र सहभागितामा भारतसित कुराकानी गर्न सकिन्छ र सहमतिमा पनि पुग्न सकिन्छ । यो संवेदनशील विषय भएकाले सबै सरकारहरूले पन्छाउने गरेको पाइन्छ ।

कालापानी र सुस्ताजस्तो ठाउँको विवाद तुरुन्त मिल्न नसक्ने भए तिनीहरूलाई पछि टुंग्याउने भनेर अरू मिल्न सक्ने विवाद मिलाउन सकिन्छ । यो मुद्दा सुल्झाउन दाहालले साम, दाम, दण्ड, भेदको नीति अपनाउनुपर्ने हुन्छ । उनले यो काम गर्न सके भने राजा महेन्द्रले सन् १९६१ मा चीनसित गरेको सीमा सन्धिजस्तो श्रेय र ऐतिहासिक उपलब्धि पाउनेछन् । ओलीले गरेको भन्दा ठूलो राष्ट्रहितको काम पनि ठहरिनेछ । जनताको मन जित्ने काममा उनी ओलीभन्दा अगाडि पर्नेछन् । यो काम सम्पन्न गर्न सबभन्दा सहज पक्ष के हो भने यस कुरामा भारतलाई चिढाउन पर्दैन किनभने उनले भारतकै भलाइको कुरा गरेको हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.