दाहालमा वैचारिक परिवर्तन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भन्नुभएको भनी अन्नपूर्ण पोस्ट्मा यही ८ भदौमा 'सत्ता कब्जाको योजना छैन' शीर्षकमा समाचार प्रकाशित भयो । उक्त समाचारमा भनियो, 'नढाँटी भन्दा पहिले हामी सरकारमा आउँदा विद्रोहको सोचाइ थियो । क्रान्तिको ताप र विद्रोहको उमंग थियो, मौका पाए छोड्नु हुँदैन भन्ने नै थियो । सत्ता कब्जाको मानसिकता थियो तर यसपटक त्यो सोचाइ र मानसिकता छैन ।'
प्रधानमन्त्री पुष्पकमल दाहालको माथि उल्लिखित भनाइले नेपालको इतिहासमै अझ भनौं विद्रोही प्रचण्डबाट पुष्पकमल दाहाल हुँदाको परिवर्तनको अर्थात् संवत् २०४६ चैत्रमा देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएको समयदेखिकै इतिहासमा पूर्णतया नयाँ पाइलो चाल्न थालेको अनुभव गरिएको छ ।
८ भदौकै अर्को समाचार 'लोकसेवा र सेनाबीचको द्वन्द्व' ले संकेत गर्न खोजेको नेपालको भावी राजनीतिबारे उत्पन्न नकारात्मक द्वन्द्वको सम्भावना विपरीत त्यही दिनको प्रधानमन्त्रीको भनाइ आएकाले यो भनाइले गम्भीर चिन्तन नेपालमा सुरु भएको थियो भन्ने प्रस्ट पारेको छ ।
८ भदौमा दाहाल महोदयले आफ्नो पार्टीको मुख्य राजनीतिक चिन्तनधारामा परितर्वन भएको स्वीकार गर्नु भए पनि विचारधारामा परिवर्तन भएको यो धारणाले माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सैद्धान्तिक एकता प्रारम्भ भएर स्वार्थवशः दाहालले एमाले पार्टीको सरकारबाट पृथक भएर कांग्रेससित एकताबद्ध भई त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको र त्यो प्रस्ताव पारित भएपछि दाहाल तथा शेरबहादुर देउवाबीच नौ/नौ महिनाको सरकार गठन हुने कुरा उठेको रहेछ आज प्रस्ट भएको छ ।
संवत् २०५२ मा माओवादी केन्द्रले आफ्नो सिद्धान्त अनुशरण गर्दै सशस्त्र क्रान्ति सुरु गरेको थियो । त्यसपछि २०६४ मा नयाँदिल्लीमा गिरिजाप्रसाद कोइराला र प्रचण्ड महोदयबीच बाह्रबुँदे सम्झौता हुनुको साथै नेपालबाट राजसंस्थाको समेत विलयन तथा पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएपछि दाहाल महोदयको चिन्तन र व्यवहारमा परस्परविरोधी लक्षण देखापर्ने गरेका थिए । त्यसपछि दाहालको चिन्तन र व्यवहारमा निरन्तर परस्पर विरोध रहने गरेका थिए ।
कहाँसम्म भने आफूलाई माओवादी भन्ने दाहाल महोदयले 'चतराको कालो भैंसीको तान्त्रिक पूजा' लाई समेत समर्थन गरेको देखिएको थियो । यसले स्पष्ट हुन्छ दाहालमा पहिले देखिएका परस्परविरोधी व्यवहार र चिन्तनधारामा आमूल परिवर्तन सुरु भएको छ ।
माक्र्सवाद र विशेष गरी माओको विचारबाट नेपालमा सुरु भएको यो परिवर्तन देशको एक्लो घटना होइन । माओवादी सिद्धान्तलाई नेपालको उत्तरी छिमेकी देश चीनले वर्षौं पहिले परित्याग गरिसकेको थियो । पदार्थको गतिशीलतामा बाहेक द्वन्द्वात्मक भौतिकवादलाई विश्वका भियतनाम, क्युवा, पूर्वी युरोप, सोभियत संघले समेत परित्याग गरिसकेका थिए ।
यी सबैको परिणामस्वरुप दक्षिणमा रहेको भारतको कम्युनिस्ट पार्टी र पश्चिम बंगालमा रहेका ज्योति बसुको वामपन्थी सरकार आज भारतमा विलिन भइसकेको छ अर्थात् माक्र्सवादको सामाजिक–दार्शनिक आधार विफल भएर भौतिक पदार्थको द्वन्द्वात्मक गतिविधिमा सीमित भएको छ ।
माक्र्सवाद–माओवादको त्यो विफलतालाई नेपालका दाहालले ८ भदौको आफ्नो भनाइमा स्वीकार गरेको देखिएको छ । तथापि भर्खरको त्यो ८ भदौको भनाइलाई सिद्धान्त र व्यवहारका विवरणमा क्रियाशील बनाउनेतर्फ अत्यधिक काम गर्न बाँकी नै छ । 'सत्ता कब्जाको योजना' ले नै चीन र भारत देशका प्रधानमन्त्रीले आफ्नो विशेष दूत पठाउनुभएको थियो ।
ती विशेष दूतले ती दुई देशसँगको कुराकानीमा निकै सफलता पाएकाबारे चर्चा गरेका थिए, तथापि आफ्नो भनाइको विवरणलाई तिनले प्रष्ट पारेका छैनन् । त्यो गोप्यताको पृष्ठभूमिमा ती दुवै प्रधानमन्त्रीका विशेष दूतमा दाहालको ८ भदौको भनाइले काम गरेको हुनुपर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको यो नयाँ वैचारिक राजनीतिक दर्शनले पूर्णता पाउन भने समय लाग्नेछ । अहिले के अनुमान गर्न सकिन्छ भने दाहाल र शेरबहादुर देउवाबीच भएका छलफलमा माथि भनिएका सिद्धान्तमा सहमति भएकाले नै ती दुई पार्टीका नेताबीच वैचारिक एकता भएको हो ।
मेरो यो अनुमान सत्य ठहरिएमा नेपालसितको सम्बन्धमा चीन सरकार र भारत सरकारको धारणामा समेत परिवर्तन भएको छ ।
८ भदौकै दिन त्यो समाचारको अन्त्यतिर प्रकाशित पुष्पकमल दाहालको भनाइ–'सत्ता कब्जाको योजना छाडेपछि हामीले विद्रोहका सबै पुल भत्काएरै अघि बढेका छौं । अब पछाडि फर्किने अवस्था छैन । सबैभन्दा बढी चुनाव चाहिएको माओवादी केन्द्रलाई हो ।' देशका प्रधानमन्त्रीको यो भनाइबाट उहाँमा माओवादी दर्शनबारे सुरु भएको गम्भीर दार्शनिक परिवर्तनलाई प्रष्ट पारेको छ भने माओवादबाट सर्वहारा वर्गको सत्ता स्थापना गर्ने आशा बोकेका तमाम व्यक्तिलाई निराशको बादलले छोपेको छ ।
उहाँले भन्नुभएको छ, 'अब राजनीतिक तहमा छलफल र सहमति गरेर एउटा टुंगोमा पुग्न सकिने छ ।' यसो भनेर उहाँले अब हुने राष्ट्रिय निर्वाचनमा पार्टीहरूबीच सहमतिको आधार प्रस्तुत गर्नुभएको छ । समाचारको अन्त्यमा उहाँले दुवै छिमेकीसँग सन्तुलित र सम्मानजनक सम्बन्धका पक्षमा आफू रहेको बताउँदै भन्नुभएको थियो, 'विशेष दूतहरूको भ्रमणपछि दुवै छिमेकीबाट राम्रो सन्देश आएको छ । यसले दुवै तर्फको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ ।' यसको अर्थ स्पष्ट छ । देशका प्रधानमन्त्रीको त्यो भनाइमा नेपाल निम्ति नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दिशा र त्यसको वैज्ञानिक दर्शनको संक्षिप्त आधार प्रस्तुत भएको छ ।
यद्यपि यो नयाँ वैचारिक राजनीतिक दर्शनले पूर्णता पाउन अझै समय लाग्नेछ । अहिले के प्रस्ट अनुमान गर्न सकिन्छ भने पुष्पकमल दाहाल र शेरबहादुर देउवाबीच भएका छलफलमा माथि भनिएका सिद्धान्तमा सहमति भएकाले नै ती दुई पार्टीका नेताबीच वैचारिक एकता भएर दाहाल देशका प्रधानमन्त्री बन्नुभएको हो ।