'मसला' होइन छक्का पञ्जा
पोखरा: रामविलास र धनियाँ बनेर रेडियोमा हास्यव्यंग्य कार्यक्रम गर्दा जोडिएको दीपकराज गिरी र दीपा श्री निरौलाको जोडीले टेलिभिजनमा पनि हास्य कार्यक्रम नै चलायो । अचेल यो जोडी फिल्मतिर लागेको छ । विधा छोडेको छैन । पछिल्लो फिल्म 'छक्का पञ्जा'को मूल तत्त्व पनि हास्य नै हो, जसबाट दीपाचाहिँ फिल्म निर्देशकका रूपमा उदाएकी छन् ।
फिल्मको मार्केटिङ गर्दा महिलाले निर्देशन गरेको हो भनेर सहानुभूति खोज्ने प्रयास गर्नै पर्दैन । निर्देशक भनेको एंगल लगाउने होइन, कथालाई डोर्याउने हो भन्ने दीपाले आफ्नै भनाइलाई व्यवहारमा उतारेकी छन् । दायित्व निर्वाह गर्न सफल भएकीले दीपालाई दर्शकले स्याबासी दिनेछन् ।
सिच्युएसनल कमेडी सिर्जना गर्नु निर्देशकको सिर्जनशीलता हो, छक्का पञ्जामा । हाँसोको वानवेमात्रै छैन, सुखदुःख र संवेदना पनि छ फिल्ममा । मनोरञ्जनका लागि हाँसो पस्कनु त छँदैछ, सँगै वैदेशिक रोजगारीको मुद्दा केलाएर सामाजिक यथार्थ खोतल्नु फिल्मको उद्देश्य देखिन्छ । परिवेशले भन्दा पनि मुख बिगारेर हँसाउन असफल प्रयास गर्ने परम्परा त्याग्न सक्नु छक्का पञ्जाका सबै कलाकारको उपलब्धि हो । सबैजसो पात्रका भूमिकामा चल्तीका हास्य कलाकारलाई खेलाएर त्यस्तो परम्पराबाट जोगाउन सक्नु सानो खुबी होइन ।
जसको गन्तव्य र लक्ष्य छैन, उसले यात्रा गर्दैन । एकै ठाउँमा रुमल्लिइरहन्छ । गन्तव्य नै नभएपछि त्यसलाई भेट्ने संघर्ष गर्नै परेन । जिन्दगी अर्थात् रामरमाइलो र टाइमपासजस्तो ठान्ने पात्र भगवान (दीपकराज गिरी) को जिन्दगीको पनि कुनै लक्ष्य छैन । उसका साथीहरू पनि त्यस्तै छन् । भविष्यको कुनै चिन्ता नभएका आवारा, लफंगा र उरन्ठेउला । छक्का पञ्जाका मूल पात्र तिनै हुन् । सुदूरपश्चिमबाट काठमाडौं नजिकको गाउँमा बसाइँ आएको हो भगवान्को परिवार ।
आफूलाई राजा बताउने र सबैबाट त्यही सम्बोधन चाहने उसमा राजषी रवाफ छ । ऊ वैदेशिक रोजगारीमा गएका आफ्नै साथीकी पत्नीलाई आँखा लगाउँछ । सम्बन्ध पनि राख्छ । आमाले आत्महत्या नै गर्ने धम्की दिएपछि बिहे गर्न राजी बनेको भगवान्ले पत्नीलाई प्रत्येक दिन पिट्न पाउनुपर्ने अड्को थाप्छ । त्यस्तो अत्तोलाई पनि स्वीकारेर चम्पा (प्रियंका कार्की) ऊसँग बिहे गर्न मञ्जुर हुन्छे । राजाको जीवनमा आउने परिवर्तन र उतारचढावमा फिल्म घुम्छ । रमाइला र रसिला संवाद अनि सस्पेन्सको चुम्बकले फिल्ममा दर्शकलाई तान्छ ।
नेपाली फिल्महरूको मुख्य दोष कथा र पटकथामा देखिन्छ । यो दोषबाट मुक्त पार्न लेखकहरू दीपक, केदार र जितु सफल भइदिनु नै निर्देशक दीपा सफल हुनुको कारण हो । तर वैदेशिक रोजगारीमा गएका पुरुष फर्कंदा न श्रीमती न सम्पति हुने भनेर देखाउन खोज्दा दीपाले नारीका तर्फबाट कथालाई हेर्न र फेर्न भुलेको प्रतीत हुन्छ ।
मसला फिल्महरूमा हुने प्रकारको फाइट नभएको छक्का पञ्जाले वैचारिक र विषयगत द्वन्द्वमा पनि कञ्जुस्याइँ गरेको छ । साधारणतया मूल र खलपात्रबीच हुने भौतिक द्वन्द्वका पछाडि एजेन्डा र इस्युको द्वन्द्व हुन्छ । कथामा त्यस्तो द्वन्द्व हुनैपर्ने भन्ने किसिमको मान्यताविपरीत औचित्य पुष्ट्याइँसहितको उभ्याइ छक्का पञ्जाको सबल पक्ष हो ।
चरित्र स्थापना बलशाली छ । हास्यपात्र भएर टेलिसिरियलमा खेल्थे भन्ने बिर्साउन दीपकराज गिरीको अभिनय सफल छ । जब्बर प्रकारको स्वभाव, राजषी ठाँट र हेर्दै रिसाहा देखिने रूखो मुखमुद्राबाट उनले सुदूरपश्चिमेली बाबुसाहेबको पात्रलाई न्याय गरेका छन् ।
पण्डित बाबुको विरासत थाम्न अघि बढेको सरस्वती प्रसाद (जितु नेपाल), गरिब पात्र माग्ने (केदार घिमिरे), घरबार भइसकेर पनि पारिवारिक दायित्वबोध नगरी बरालिएको बुद्धि (बुद्धि तामाङ), डीभी परेर अमेरिका भासिएको अतीत (शिवहरि पौडेल), उसकी पत्नी वृन्दा (वर्षा राउत) र सरस्वती प्रसादलाई मन पराउने विष्णु (नम्रता सापकोटा)ले आफ्नो भूमिकालाई न्याय गर्न कसर बाँकी राखेका छैनन् । पाहुना पात्र आर्यन सिग्देलसम्मको भूमिकाको औचित्य साबित छ । गीत र मूलपात्र भगवान्को बोलीका लागि लिइएका सुदूरपश्चिमेली शब्दहरूले फिल्मलाई फरक र आञ्चलिक स्वादको बनाएका छन् ।
काभ्रेको खोपासीलाई मज्जैले उतारेर दृश्यलाई अब्बल पारेका छन् छायाँकार पुरुषोत्तम प्रधानले । आकाशबाट लिइएका सर्ट आँखामा बसिरहने खालका छन् । फिल्ममा गीत हुनैपर्ने भ्रमबाट मुक्त नभएको भए पनि राज शिवाकोटी र दीपक शर्माद्वारा संगीतबद्ध दुई गीत छक्का पञ्जामा फिट छन्, जसले बगिरहेको कथामा जर्क गर्दैनन्, लुब्रिकेन्टकै काम गर्छन् । ६ एकान ६ र वडा नम्बर ६ कै टिमको निर्माण छक्का पञ्जाले नेपाली फिल्मप्रति नाक खुम्च्याउने प्रवृत्ति घटाउने जमर्को पक्कै गरेको छ ।