शिक्षामा राजनीति नगरौँः राष्ट्रपति भण्डारी
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त बनाउनु पर्ने बताएकी छन्। बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रमाथि भइरहेको राजनीतिक हस्तक्षेप हटाउन चुनौतीपूर्ण रहेको बताएकी हुन्।
‘शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त र सबैको पहुँचभित्र रहने व्यवस्था कसरी गर्ने भन्ने विषय आजको चुनौती हो,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालको शिक्षा क्षेत्रमा सामुदायिक क्याम्पसले पुर्याएको योगदानलाई सम्मान गर्दै सामुदायिक शिक्षामा देखिएका समस्या समाधान गर्न सरकारले उचित पहल गर्नुपर्छ।’
भण्डारीले सामुदायिक तहबाट क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोप्रति खुशी व्यक्त गरिन् । ‘समुदायको पहलमा सामुहिक भावनासहित सञ्चालन भएका क्याम्पसले सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नु खुशीको विषय हो’, भण्डारीले भनिन्।
राष्ट्रपति भण्डारीले आजका विद्यार्थी भोलि राष्ट्रका बौद्धिक सम्पत्ति भएकाले देशको विकास र सामाजिक रुपान्तरणको अभियानमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन्।
उनले रजतजयन्ती जस्ता कार्यक्रमले संस्थालाई चुनौतीको सामना गर्दै अघि बढ्ने उत्साह प्रदान गर्ने समेत उल्लेख गरिन्। ‘रजतजयन्ती जस्ता कार्यक्रममले संस्थाले विगत वर्षमा गरेका प्रगति र चुनौतिको मूल्यांकन गर्ने मौका प्रधान गर्छ,’राष्ट्रपति भण्डारीले भनिन् ।
समुदायिक क्याम्पसलाई आंगिक बनाउने तयारी
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले समुदायले सञ्चालन गर्दै आएका सामुदायिक क्याम्पसलाई आंगिक बनाउने तयारी सरकारले अघि बढाएको बताए। ‘जनताका लगानीलाई सुनिश्चित गर्दै राज्यले लगानी गर्नुपर्छ’, मन्त्री पौडेलले भने, ‘समुदायमा रहेका क्याम्पसलाई आंगिक बनाउने तयारी सरकारले थालेको छ।’
निजी र सरकारी तहबाट ९ विश्वविद्यालय र १२ सय क्याम्पस सञ्चालनमा रहेको बताउँदै मन्त्री पौडेलले उच्च शिक्षामा देखिएका जटिलतालाई सम्बोधन गर्न सरकारले उच्च शिक्षा ऐन ल्याउने तयारी गरेको उल्लेख गरे।
रजत जयन्तीको अवसरमा बानेश्वर क्याम्पसले २५ वर्षसम्म प्राध्यापन गरेका प्राध्यापक, स्वतन्त्र विद्यार्थी युनियनका सभापति र विभिन्न संगठनका विद्यार्थीलाई समेत सम्ममान गरेको छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, शिक्षा क्षेत्रका अगुवा क्याम्पसका पूर्वप्राध्यापक, प्राध्यापकलगायतको उपस्थितिमा बानेश्वर क्याम्पसले रजत जयन्ती मनाएको हो। रजतजयन्तीको अवसरमा क्याम्पस परिसरमा स्तम्भको शिलन्यास गरिनुका साथै रजहाँस स्मारिकाको लोकार्पण समेत गरिएको छ ।
बिहान, दिउँसो र रात्रि समूहमा गरेर १८ सय विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले जानकारी दिए। क्याम्पसको २०४७ सालमा तत्कालिन नेपाली कांग्रेसका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।