तरुण दलको महाधिवेशन असोज पहिलो साता पोखरामा
काठमाडौँ: नेपाल तरुण दलको चौँथो राष्ट्रिय महाधिवेशन आगामी असोज ३ देखि ५ सम्म पोखरामा हुने भएको छ ।
तरुण दलले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष उदयशमशेर राणाले भदौ २१ र २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार महाधिवेशन गर्न लागिएको जानकारी दिए ।
अध्यक्ष राणाले ५५ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भैसकेकाले बाँकी जिल्लाको भदौ मसान्तसम्म सकेर अधिवेशन सम्पन्न गर्न लागेको बताए ।
उनले भने, ‘अघिल्लो अधिवेशनमा ६५ जिल्लाको अधिवेशन सकिएको बेलामा पनि महाधिवेशन भएको थियो । त्यसैले मसान्तसम्म जति सकिन्छ त्यसैलाई आधार मानेर महाधिवेशनमा जान्छौँ ।’
उनले वर्तमान केन्द्रीय समितिलाई चुनाव लड्न नपाउने भनिएता पनि चुनाव लड्न पाउनुपर्ने माग निर्देशन समिति र पार्टीलाई बुझाइसकिएको स्पष्ट पारे ।
दलमा विवाद देखिएको बेलामा निर्वाचन सम्भव छ रु भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष राणाले ४५ केन्द्रीय समितिमध्ये २७ जनाको निर्णयलाई आधार मानेर महाधिवेशन गर्न लागिएको बताए ।
निर्वाचन भएका जिल्लामा निर्वाचन गरिने तथा नभएका जिल्लालाई त्यत्तिकै छाडेर महाधिवेशनमा जाने उल्लेख गरे । सङ्गठनभित्र देखिएको विवाद मिलाउन दलले अध्यक्ष राणाको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ ।
महिला सङ्घको महाधिवेशनको सम्पूर्ण तयारी पूरा
नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि काठमाडौँमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घले जनाएको छ ।
सङ्घले आइतबार गरेको पत्रकार सम्मेलनमा सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले ७४ जिल्लामा अधिवेशन सकिएको र बाँकी एक जिल्लाको पनि चाँडो गरेर २९ गतेदेखि काठमाडौँमा महाधिवेशन गर्न लागेको बताए ।
भदौ २९ गते बिहान १० बजे शान्तिबाटिकाबाट विभिन्न झाँकी र र्यालीसहित भृकुटीमण्डपमा आउने र १२ बजे नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घकी प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिइन् ।
यस्तै महाधिवेशनका लागि सुन्धारा, बागबजार, ठमेललगायतका क्षेत्रमा होटल बुकिङ गरिसकिएको सङ्घले जनाएको छ । सङ्घको महाधिवेशनमा ५० प्रतिशत महिलालाई अधिकार, हिंसामुक्त समाजलगायतका मुद्दाबारे छलफल हुनेछ ।
सङ्घको प्रतिनिधि विवादका कारण रुपन्देहीको महाधिवेशन हुन सकेको छैन । दुई हजार २०० प्रतिनिधि रहेको सङ्घले निर्वाचनका लागि मतदान भोटिङ मेसिनको प्रयोग गर्ने जनाएको छ ।