चिनियाँ राष्ट्रपतिले भने-नेपाल उच्च प्राथमिकतामा छ

चिनियाँ राष्ट्रपतिले भने-नेपाल उच्च प्राथमिकतामा छ

काठमाडौं: अर्को महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

चीनको स्वशाषित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेईले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् । उनले चिनियाँ राष्ट्रपतिले छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको 'पेरिफेरल पोलिसी' अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए । भेटका क्रममा मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए ।

'कूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ । हामी आशावादी छौं, भ्रमण हुनेछ', चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भेटमा भने । तर उनले स्पष्ट रूपमा भ्रमण किन स्थगित भएको भन्नेबारे चिनियाँ नेतासँग सोधेनन् ।

चिनियाँ राष्ट्रपति भारतको गोवामा असोज अन्तिम साता हुने भनिएको 'ब्रिक्स' सदस्य देशहरूको शिखर सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रमण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले 'वान रोड वान बेल्ट' परियोजनामा प्रतिबद्धता जनाउन नसकेको तथा गृहकार्य राम्रो गर्न नसकेको भन्दै भ्रमण स्थगित गरेको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएकोबारे सरकारी अधिकारीहरू खुलेर बोल्न चाहँदैनन् ।

एसिया, मध्यएसिया, युरोप र अफ्रिकासम्म रेल, सडक पूर्वाधार र समुद्रबाट 'कनेक्टिभिटी' सुदृढ गर्न चीनले अघि सारेको 'वान रोड वान बेल्ट' परियोजनामा नेपालको सशक्त सहभागिता रहने अपेक्षा चिनियाँ नेताले व्यक्त गरेको भेटमा सहभागी अधिकारीहरूले अन्नपूर्णलाई बताए ।

प्रत्युत्तरमा मन्त्री महराले 'वान रोड वान बेल्ट' परियोजनामा नेपाल सहभागी भई त्यसबाट लाभ लिन चाहेको बताए । गत महिना प्रधानमन्त्रीको विशेष दूतका रूपमा चीन भ्रमण गरेका मन्त्री महराले 'वान रोड वान बेल्ट' परियोजनाबारे प्रतिबद्धता व्यक्त नगरे पनि शनिबारको भेटमा भने 'वान रोड वान बेल्ट' परियोजनामा नेपालको सहभागिताबारे ढुक्कसाथ प्रतिबद्धता व्यक्त गरेका थिए ।

चिनियाँ नेताले चीनले नेपाललाई दक्षिण एसिया छिर्ने 'गेटवे' का रूपमा लिएको बताउँदै चीनको 'वान रोड वान बेल्ट' परियोजनामा सहभागी भई नेपालले लाभ लिन सक्ने बताए । महराले नेपाल चीन र दक्षिण एसियाबीचको 'गेटवे' बन्न इच्छुक रहेको बताए ।

भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वुले भूकम्पपछि नेपाल र तिब्बतबीचको 'कनेक्टिभिटी' मा परेको गम्भीर नकारात्मक असरबारे जानकार रहेको बताउँदै चाँडै अरनिको राजमार्ग खुल्ने बताए ।मन्त्री महराले अरनिको राजमार्ग खुलाउन उनको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री महरा तिब्बतमा शनिबार शुरु 'चीन-तिब्बत टुरिजम तथा कल्चर एक्स्पो' को उद्घाटनमा सहभागी भएका थिए । उनले चिनियाँ नेतासँग करिब २० मिनेट भेटेका हुन् । मन्त्री महरा आइतबार नै स्वदेश फर्किए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.