'यातायातको दुरवस्था अन्त्य गर्छु'

'यातायातको दुरवस्था अन्त्य गर्छु'

काठमाडौं: सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले एकीकृत सहरी विकासदेखि सहरी यातायातको दुरवस्था अन्त्यलगायतका २५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री केसीले एक महिनाभित्र नतिजामुखी काम गरेर देखाउने भन्दै कार्ययोजनाको समयसीमा समेत तोकेर अघि बढिसकेको बताए ।

'सहरी विकास मन्त्रालयको काम भवन निर्माणको मात्र होइन', मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी मन्त्री केसीले भने, 'राष्ट्रको समग्र सहरी विकासको संरचना, विकास र लगानीका लागि राष्ट्रिय सहरी विकास रणनीति बनाउनेछु ।' केसीले भने, 'मन्त्रालयसँग सम्बन्धित ऐन, कानुन जहाँ जे सुधार गर्नुछ, त्यसका लागि नतिजामुखी काम गरिनेछ ।'

२५ दिनभित्र राष्ट्रिय सहरी विकास रणनीति तय गर्ने र राष्ट्रिय भवनसंहिता प्रभावकारी कार्यान्वयनका लागि तत्कालै कार्ययोजना तर्जुमा गरी राजपत्रमा प्रकाशित गर्ने मन्त्री केसीको कार्ययोजनामा उल्लेख छ । भवन संहिता आइतबारको मन्त्रिपरिषद् बैठकले नै पारित गरिसकेको छ ।

भूकम्प पुनर्निर्माणको हालको प्रगति वा अवस्था, त्यसका समस्या, पुनर्निर्माणलाई द्रुततर गतिमा अघि बढाउने विषयमा सात दिनभित्र कार्ययोजना तयार गर्ने, काठमाडौं उपत्यकाको सहरी विकास र स्याटेलाइट सिटी निर्माणको अवधारणा एक महिनाभित्र, नगर विकास प्राधिकरणसम्बन्धी छाता ऐनको मस्यौदा निर्माण र मन्त्रालयअर्न्तगतका नगर विकास समितिलाई क्रियाशील बनाउने सम्बन्धमा एक महिनाभित्र कार्ययोजना तयार पार्ने मन्त्री केसीले बताए ।

यस्तै एक महिनाभित्र नगरोन्मुख गाउँ विकास समितिको पहिचान गर्ने, नगरभित्रका सार्वजनिक जग्गाको लगत तयार पार्ने, सहरी विकासको अवधारणाअनुसार विद्युतीकरण, फोहोरमैला व्यवस्थापन, खानेपानी, ढल विकास, प्रशोधन, हरियाली विकास, उद्यान, बाल उद्यानको योजना तर्जुमा गर्ने, नदीकिनारका अव्यवस्थित, अस्वस्थ्यकर र अतिक्रमित गरी बसोबास गरेका बासिन्दाको पहिचानसहित कार्यान्वयनको विकल्प प्रस्तुत गर्ने, १५ दिनभित्र एकीकृत बस्ती विकास कार्यक्रमको अवधारणा, हालको कार्यान्वयनको अवस्था र यसको प्रभावकारिताबारे कार्ययोजना बनाउने, पुनर्निर्माणअर्न्तगत गुठी जग्गा, सुकुमवासी, छुट दर्ता, ऐलानीमा परेका भूकम्पपीडितको समस्या समाधानका लागि सबै पक्षसँग समन्वयन गर्ने, सहरी यातायातको दुरवस्था, ट्राफिक समस्या र साझा यातायातसँगको सम्बन्ध र सहकार्य, फ्लाई ओभरको सम्भाव्यता, पहल र प्रयासबारे अवधारणा सार्वजनिक गर्ने मन्त्री केसीको कार्ययोजनामा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.