कांग्रेसको परीक्षा
महाभारतको सम्पूर्ण राजनीतिक खेलको 'बिम्ब' भएर उभिएको छ हाम्रो राजनीति । महाभारतका पात्रहरू झैं हाम्रा दलीय पात्रहरू पनि कहिले नायक त कहिले खलनायक भएर उभिँदा जनतामा असली पात्र चयनमा द्विविधा उत्पन्न हुने गर्छ । हिजो नायक भएर उदाएको पात्र आज खलनायकमा अनुवाद भइदिएको छ ।
जसरी महाभारतमा पाँचपाण्डवको एकताको रूपमा पाञ्चाली अर्थात द्रौपदी खडा थिइन् । विदुरले पाँचभाइको एकतालाई मजबुत बनाउने कडीको रूपमा द्रौपदीको भूमिका सदा नमनयोग्य हुनेछ भन्ने गर्दथे । त्यसैगरी वर्तमान नेपालको राजनीतिको एकताको कडी लोकतान्त्रिक गणतन्त्र नै हो ।
नेपालमा गणतन्त्रको उदय कुनै एउटै दलको बलबुतामा भएको होइन । हिंसात्मक आन्दोलनले हार खाएको बेलामा अहिंसात्मक आन्दोलनको चाबुकले हिर्काएपछि दुई सय ४० वर्षको इतिहास बोकेको 'राजतन्त्र' दरबारबाट बाहिरिएको हो । दुनियाको इतिहासमा ठूलो रक्तपात विना 'राजतन्त्र' को पर्खाल ढलेको सायद नेपालमा मात्र होला ।
हिन्दुदर्शनको महाभारत र गीताले हामीलाई जीवन जीउने कला सिकाएको छ । त्यसलाई अनुसरण गर्ने हिन्दुइतरका थुप्रै विद्धानदेखि सामान्य नागरिक पनि संसारका कुनाकुनामा भेटिने गरेका छन् । महाभारत भन्छ—कालोबजारी मौलाउनु राज्य पतनतर्फ उन्मुख हुनु हो । त्यसले अर्थतन्त्रमा सिधा असर त पर्छ नै जनतालाई समेत दिनप्रतिदिन नैतिक पतनतर्फ डोर्याउँछ ।
वर्तमानमा हाम्रो राज्य पतनतिर नै अघि बढेको छ । त्यसो त भन्नेहरूले संक्रमणकालमा यस्तै हुन्छ भन्छन् तर संविधानसभाद्वारा संविधान जारी भएर एक वर्ष बितिसक्दा र विस्तृत शान्ति सम्झौता भएको १० वर्ष भइसक्दा पनि 'संक्रमणकालीन' अवस्थाका नाममा मुलुकमा बेथिति मौलाइरहनु सुखद संकेत मान्न सकिँदैन ।
आन्तरिक र बाह्य राजनीतिको सुक्ष्म अध्ययनको सामथ्र्य राख्ने नेपाली राजनीतिका शिखर व्यक्तित्व कृष्णप्रसाद भट्टराईले २०५६ साल चैत ३ गते प्रधानमन्त्रीको रूपमा दिएको आफ्नो अन्तिम सम्बोधनमा भनेका थिए—देशभक्त दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिसप्त इतिहासबाट हामी नेपालीले कहिले छुटकारा पाउने हो ।
के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिको खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन हैन ? हामी नेपालीहरूले ५० औँ वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौँ । वास्तविक प्रजातन्त्र कायम नभएसम्म हाम्रा आचरण र प्रजातन्त्रका उद्धात गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न सक्दै सक्दैन ।
यो मेरो अटल विश्वास हो यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु । एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटकपटक अनेक किसिमका घात प्रतिघात व्यहोर्नु परेको छ तर पनि म विचलित छैन । भविष्यका सन्ततिहरूलाई सत्मार्गतर्फ उन्मुख गराउने आफ्नो कर्तव्यको पालन म निरन्तर गरिरहन चाहान्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो ।
यदि आस्था र निष्ठाको राजनीति सिद्धान्त र आदर्शमा आधारित राजनीति साच्चिँकै विसर्जित हुने हो भने भन्नुपर्छ यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिँदैन । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली कांग्रेसलगायतका सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहान्छु कि यसतर्फ ध्यान दिउँ कि हाम्रो मिसन कतै हराउने त हैन । हाम्रो पहिचान नै विलुप्त हुने त हैन ?
कृष्णप्रसाद भट्टराईका यी मर्मस्पर्षी भनाइ वर्तमान राजनीतिक गतिविधिमा त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । आज लोकतन्त्रको मात्रै हैन समग्र मुलुककै अस्तित्व संकटको भुमरीमा परिरहेको आभासा हुन थालेको छ । नेपालीहरू परिवर्तनको संवाहक हुन सक्ने तर जब नेतृत्व र व्यवस्थापनको कुरा आउँछ दलीय स्वार्थ हावी हँदा कुशल व्यवस्थापन र कुशल नेतृत्वको अभावले जहिले पनि बेथिति झेलीरहनुपर्ने यस्तो अवस्थाबाट कहिले मुक्ति पाउने ?
प्रजातन्त्रमा विश्वास राख्ने र नेपाली साहित्यमा रमाउनेहरूले गत साता (भाद्र २४ गते) बीपी कोइरालाको स्मरण गरे । बीपीको जन्मदिनको अवसर पारेर राजनीतिक भन्दा पनि साहित्यिक चर्चा धेरै भए । नेपालको प्रजातान्त्रिक आन्दोलन होस् वा साहित्यिक यात्राको चर्चा गर्नुपर्दा बीपी कोइरालाको नाम किनारामा राखेर केही पनि भेट्टाउन सकिँदैन तर आज आफूलाई बीपीका राजनीतिक अनुचर हौँ भन्नेहरूले नै बीपीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्तलाई धुलिसात बनाउँदै गएका छन् ।
समाजवादको पगरी गुत्थै सिंहदरबारको सिंहासनमा पुग्नेहरू त्यहाँ पुगेपछि 'समाजवाद' पनि बिर्सने र गाउँका जनता पनि बिर्सने वानी यथावत छ । साँच्चै भन्ने हो भने जनताले परिवर्तनको अनुभूति गर्नेै पाएका छैनन् । दलहरूबीच यसबारे गम्भीर बहस किन हुँदैन ? हामी कहाँ चुक्यौँ भनेर आत्ममूल्यांकन र आत्मसमीक्षा गर्न ढिलो भएन र ? के संविधानसभाबाट संविधान लेख्दैमा दलहरूको दायित्व पूरा भयो ?
बीपीका राजनीतिक अनुचर हौँ भन्नेहरूले नै बीपीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्तलाई धुलिसात बनाउँदै गएका छन् । समाजवादको पगरी गुत्थै सिंहदरबारको सिंहासनमा पुग्नेहरू त्यहाँ पुगेपछि 'समाजवाद' पनि बिर्सने र गाउँका जनता पनि बिर्सने वानी यथावत् छ । हामी कहाँ चुक्यौँ भनेर आत्ममूल्यांकन र आत्मसमीक्षा गर्न ढिलो भएन र ?
त्यो संविधानलाई सबै नेपाली जनताले ग्रहण गर्ने वातावरण कसरी बनाउने यसतर्फ दलीय आग्रह भन्दा माथि उठेर नबस्ने हो भने समस्याको समाधान निस्कन सक्दैन । मुलुकमा अहिले एकातिर संविधान कार्यान्वयनको चुनौती छ भने अर्कोतर्फ 'सुशासन' र कानुनी शासनको प्रत्याभूति दिन नसक्दा परिवर्तनबाट प्राप्त उपलब्धि गुम्ने डर पनि त्यत्तिकै छ ।
पञ्चायत गयो, राजतन्त्र पनि गयो । प्रजातन्त्रदेखि लोकतन्त्रहुँदै गणतन्त्रसम्मको लामो यात्रा पार गरिसक्दा पनि जनताले न्यायका लागि मानवअधिकार अर्थात आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार एवं नागरिक अधिकारको कानुनबमोजिम उपभोग गर्न पाउने अवस्था सिर्जना नहुने हो भने परिवर्तनको अर्थ के रह्यो ? जनताका नाममा भनिएका आन्दोलन र क्रान्तिले धेरै सपना देखाएको थियो तर ती सपनाहरू व्यवहारिक धरातलमा कार्यान्वयन नहुँदा जनतामा नैराश्यता छाउँदै गएको छ ।
नेपालको पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले आफ्नो ११ औँ महाधिवेशनमा (२०६२ भाद्र) राजनीतिक प्रस्ताव र कार्यदिशा पारित गर्दै भनेको थियो—कांग्रेसको जन्म नै जनतालाई स्वतन्त्रता, न्याय र समानता दिलाउनका लागि भएको हो । सम्पूर्ण जनताको जीवनस्तर मानवोचित नहुँदासम्म प्रजातन्त्र साकार हुन सक्दैन त्यसैले कांग्रेसले प्रजातन्त्रका साथ समाजवाद अँगालेको छ ।
राजनीतिक स्वतन्त्रताको साथै देशलाई आर्थिक रूपले समृद्ध गराउने र विकासको प्रतिफल सम्पूर्ण जनताको समान पहुँच हुने, कोही पनि नछुट्ने आर्थिक सामाजिक संरचनाको पक्षमा कांग्रेस रहँदै आएको छ तर कांग्रेसले ११ औँ महाधिवेशनको दस्तावेजमा जे उल्लेख गरे पनि व्यवहारमा समाजवादी मार्गबाट आफ्ना पाइला अन्यत्र मोडेजस्तो देखिएको छ । कांग्रेस पार्टी हुने खाने र धनीमानीहरूको क्लबमा परिणत भएको छ । ग्रामीणस्तरका कार्यकर्ता अझै पनि बीपी कोइरालाको 'प्रजातान्त्रिक समाजवादी' चिन्तनबाट अभिभूत छन् भने जिल्ला र केन्द्रमा पैसावालहरूले वर्चस्व बढ्दै गएको छ ।
कांग्रेस पार्टीलाई सुकिलामुकिलाहरूले कब्जा गरेर राखेका छन् । सत्ता बाहिर रहँदा मात्र कांग्रेसहरू निष्ठाको राजनीतिको वकालत गर्दछन् जब सत्तामा पुग्छन् त्यो निष्ठालाई सत्ताले ओभरल्याप गर्छ । एउटा प्रजातान्त्रिक पार्टीले आफ्नो व्यवहार पनि सोही बमोजिम नगर्ने हो भने जनताले पत्याउन छोड्छन् यसतर्फ कांग्रेसजनहरू बेलैमा सचेत हुनु जरुरी छ ।