राष्ट्रिय गौरवका आयोजनाको अनुगमन आफै गर्छुः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन आफैले गर्ने बताएका छन्। सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर अनुगमनमा जाने बताएका हुन्।
प्रचण्डले भने,‘राष्ट्रिय गौरवका आयोजनाहरु तालिका बनाएर म आफैं अनुगमन गर्छु। सबै मन्त्रीहरुले पनि आफ्नो मातहतका आयोजनाहरुको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्।’
बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर बिनियोजित पूँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिए।
प्रधानमन्त्री प्रचण्डले भने,‘एकातिर विकास आयोजनाहरुमा रकमको अभाव हुने र अर्कोतिर पूँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ। यस वर्ष पूँजीगत खर्चको सामर्थ्य कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्छ। त्यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापरवाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले विकास आयोजना सम्बन्धि समितिका बैठकहरुमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिए। प्रधानमन्त्रीले भने,‘विकासका काममा संवेदनशील हुन जरुरी छ। जनताले नयाँपनको प्रत्याभूति गर्नुपर्दछ। त्यसका लागि मन्त्री र सचिवहरु आवश्यक गृहकार्य गरेर आगामी बैठकमा उपस्थित हुनुहोला।’
प्रधानमन्त्रीले संघीय ढाँचाअनुसार विकासका आयोजनाहरु छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए। बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मूख्य सचिव, सचिवहरुले विकास आयोजनाहरुको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्नो प्रगति बिवरण र सुझावहरु पेश गरेका थिए।