‘प्रचण्ड सम्बन्ध सुधार्न होइन, बिगार्न भारत भ्रमण जादैछन्’

 ‘प्रचण्ड सम्बन्ध सुधार्न होइन, बिगार्न भारत भ्रमण जादैछन्’

नेपालगन्जः राप्रपा नेपालका अध्यक्ष कमल थापाले एउटा प्रधानमन्त्रीले भ्रमण गरेको ६ महिना पनि नपुग्दै अर्को प्रधानमन्त्रीले भारत भ्रमण गर्नुको औचित्य र आवश्यकता नभएको बताए।

मिडिया नेपालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले,‘सरकारमा भएको ब्यक्ति फेरिन्छ, तर सरकार रहिरहन्छ।एउटा प्रधानमन्त्रीले गरेको भ्रमणको ६ महिना नपुग्दै त्यहि देशको भ्रमण गर्दा अव्यवहारिक हुने देखिन्छ, कुटनीतिक मर्यादाको खिलाफ हुन्छ।'

सम्बन्ध सुधारको एजेन्डा बनाएर भारत भ्रमणमा जानु हास्यासपद रहेको बताउँदै प्रचण्डले भने, ‘सम्बन्ध सुधारका लागि भारत भ्रमण भनेर प्रधानमन्त्री प्रचण्डले भन्न सुहाउँदैन। भारतसँग सम्बन्ध नै बिग्रेको छैन भने उहाँ के सुधारका लागि जाँदै हुनुहुन्छ त्यो बुझ्न सकिएन, उहाँ सम्बन्ध सुधार्न नभई बिगार्न जाँदै हुनुहुन्छ ।’

राजदुत भइसकेपछि सम्बन्धित राष्ट्रको राष्ट्र प्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने परम्पराजस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमण गरेर आफ्नो बैधता प्रमाणित गराउन खोजेको टिप्पणी गरे। उनले भने, भारतलाई खुसी पारेपछि मात्र सरकार टिक्ने मानसिकता दाहालमा विकसित भएको देखियो।'

भारतसँग नेपालको सम्बन्ध सुमधुर भएको बताउँदै उनले नयाँ संविधान जारी भएपछि दुई देशबीच केही तिक्तता देखिएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुई देशबीच भएका वार्तापछि उक्त तिक्कता मेटिएको बताए।

राप्रपा नेपालका अध्यक्ष थापाले राष्ट्रियतासँग हिन्दू राज्य साट्न नसकिने बताए । उनले मधेस समस्या समाधानका लागि राप्रपा नेपाल सकारात्मक भए पनि राष्ट्रियताबिरुद्ध हुने सहमतिमा भने राप्रपा नेपालले साथ नदिने बताए । अध्यक्ष थापाले राष्ट्रियता र हिन्दू राज्य फरक विषय भएपनि हिन्दू राज्य बनाउने नाममा राष्ट्रियता कमजोर बनाउने काममा कुनै हालतमा सहमति नजनाउने स्पष्ट पारे ।

उनले संविधान संशोधन भए आफ्नो पार्टीले उठाउँदै आएको माग पनि सम्बोधन हुनुपर्ने जिकिर गरे । ‘हामी मधेस विरोधी होइनौँ, तर मधेसको माग सम्बोधन गर्न संविधान संशोधन हुन्छ भने हिन्दू राज्यको हाम्रो माग पनि सम्बोधन हुनुपर्छ,’ थापाले भने, ‘संविधान संशोधनका बेला राप्रपा नेपालले हिन्दू राज्यको मागलाई जोड्तोडका साथ उठाउने छ ।’

राजनीतिक सम्बाद र सहमतिपछि मात्र संविधान संशोधन हुने जिकिर गर्दै उनले पुष्पकमल दाहाल प्रधानमन्त्री हुने क्रममा राजनीतिक दलहरुबीच देखिएको तिक्तता अझैँ नमेटिएको बताए । सरकार गठन भएपछि प्रधानमन्त्रीसँग दोहोरो सम्बाद गर्ने सौभाग्य आफूले नपाएको उल्लेख गर्दै उनले सरकार संविधान संशोधन गर्ने नाममा मधेसबादी दललाई भ्रममा पार्न खोजेको बताए।

'संविधान संशोधनका लागि सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन, संशोधन गर्ने भए राप्रपा नेपालसँग सम्बाद गर्नु पथ्र्यो, सरकारको भनाई र काम गराई देख्दा संविधान संशोधन गर्न सरकार तयार नभएको जस्तो लाग्छ,’ अध्यक्ष थापाले भने । उनले संविधान संशोधन बिना मधेस समस्या समाधान नहुने दावी गरे ।

२०७४ माघसम्म तीनवटै चरणका निर्वाचन नभए संविधान असफल हुने बताउँदै उनले वर्तमान सरकार चैत्रमा समेत निर्वाचन गराउने पक्षमा नदेखिएको बताए । उनले भने, ‘मंसिरमा स्थानीय निकायको निर्वाचन नभए मंसिर, पौषमा तीन वटै तहको निर्वाचन गर्न सकिदैन, निर्वाचन भएन भने संविधान फेल हुन्छ ।’

उनले मधेस समस्याको समाधान, तिनवटै तहको निर्वाचन र संविधान अनुसारको कानून बन्न सकेन भने संविधान निस्कृय हुने धारणा राखे ।
उनले दाहाल गणतन्त्र आएपछि बदलिएको बताउँदै भने ‘प्रचण्ड अव पुष्पकमलमा परिवर्तन हुँदै हुनुहुन्छ।'उनले अंगिकृत नागरिकता लिएकाहरुलाई राज्यको प्रमुख बन्न दिन नहुने पक्षमा राप्रपा नेपाल रहेको समेत जानकारी दिए । उनले भने, ‘राष्ट्र प्रमुख, प्रदेश प्रमुख, सेना प्रमुख, प्रधान न्यायाधीशमा अंगिकृत नागरिक हुनुहुँदैन भन्ने राप्रपा नेपालको स्पष्ट धारणा छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.